बाहुनडाँगी, भदौ ५ । झापा र इलामको सिमानामा पर्ने निन्दा खोलाको माथिल्लो क्षेत्रमा नुहाउने र घुम्न जाने मानिसहरुको संख्या बढेसंगै त्यस क्षेत्रमा भएको खानेपानीका मुहानहरुमा फोहोर र दुर्गन्ध फैलिन थालेको स्थानीयहरुले गुनासो गरेका छन ।
पछिल्लो समय गर्मीको बेला झापाका बिभिन्न स्थानबाट निन्दा खोलामा नुहाउन र त्यहाँ रहेको झरना हेर्नका लागि दैनिकजसो सयौंको संख्यामा मानिसहरु जान थाले पछि खोला क्षेत्र फोहोर मैला हुन थालेकोले खानेपानीका मुहानहरु असुरक्षीत हुँदै गएको बाहुनडाँगी खानेपानी उपभोक्ता समितिका अध्यक्ष सनतकुमार अधिकारीले बताउनु भयो ।
झापाको मेचीनगरको वडा नं. १ र इलामको रोङ गाउँपालिका वडा नं. ६ को सिमानामा पर्ने निन्दा सिरानमा तराईको गर्मि छल्न र रमाइलो गर्न आउने मानिसहरुको घुइचो लाग्न थाले पछि त्यसलाई ब्यवस्थथित गर्नका लागि मेचीनगरका नगरप्रमुख बिमल आचार्य सहित वडा अध्यक्ष, खानेपानी उपभोक्ता समितिका पदाधिकारी, पत्रकार, प्रहरी र स्थानीयहरु सम्मितिल टोलीले शुक्रबार त्यस क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।
निन्दा खोलाका विभिन्न स्थानबाट पानी संकलन तथा प्रशोधन गरी बाहुनडाँगी क्षेत्रमा मात्रै एक दर्जन भन्दा बढी खानेपानी आयोजनाहरु सञ्चालनमा रहेकाले पानीका मुहान क्षेत्र दुषित हुने खतरा बढेकाले त्यसलाई ब्यवस्थीत गर्नु पर्ने निन्दा खानेपानी उपभोक्ता समितिका अध्यक्ष इन्द्र ढकालले बताउनु भयो ।
मेचीनगर १ का वडा अध्यक्ष पासाङ तामाङले पर्यटकहरुको आवागमन सुखद पक्ष भए पनि खानेपानीको मुहान क्षेत्रमा दुर्गन्ध फैलिन थाले पछि चिन्तित बनाएको बताउनु भयो । पानीको मुहानलाई सुरक्षीत राख्दै पर्यटकलाई समेत ब्यवस्थीत गर्न वडा कार्यालयले पहल गर्ने वडा अध्यक्ष तामाङले बताउनु भयो ।
उक्त क्षेत्रको अवलोकन पछि मेचीनगरका प्रमुख आचार्यले रोङ गाउँपालिकासंग समेत छलफल गरी समस्या समाधान गर्ने बताउनु भयो । ‘खानेपानीको मुहान दुषित हुने कुनै गतिबिधि गर्न हुँदैन’ नगरप्रमुखले भन्नुभयो, ‘ठुलो संख्यामा पर्यटक आउने कुरालाई अवरोध होइन ब्यवस्थीत गर्नु पर्छ ।’
पानीको मुहान संरक्षण गर्दै पर्यटकहरुलाई समेत सहज बनाउने काममा प्रहरी प्रशासनले स्थानीयलाई सहयोग गर्ने इलाका प्रहरी कार्यालय काकरभिट्टाका प्रमुख डिएसपी सुनिल दाहालले बताउनु भयो ।
उक्त अवसरमा मेचीनगर १ र २ वडा सदस्यहरु, खानेपानी उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरु र स्थानीयहरुले यस क्षेत्रको खानेपानीको मुहान संरक्षण गर्न तत्काल ठोस कदम चाल्नु पर्ने बताएका थिए ।
एक बर्षयता झापाका विभिन्न स्थानबाट निन्दा सिरानमा मनोरञ्जनका लागि जाने पर्यटकहरुको संख्या दैनिक रुपमा बढिरहेको स्थानीयहरु बताउँछन ।