बिर्तामाड, साउन ३२ । झापाका १० हजार महिलाको पाठेघरको मुखको क्यान्सरको परिक्षण निशुल्क हुने भएको छ । बिर्तामोडस्थीत पुर्वाञ्चल क्यान्सर अस्पतालले झापाका गरीब तथा बिपन्न समुदायका महिलाहरुको पाठेघरको मुखमा क्यान्सर छ वा छैन भन्ने परिक्षण निशुल्क गरिदिने पुर्वाञ्चल क्यान्सर अस्पतालका प्रमुख प्रशासकिय अधिकृत डा निराजन प्रसाईले बताउनु भयो ।
अस्पतालमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा प्रसाईले क्यान्सर बारेमा सचेतना अभियान अन्तर्गत अस्पतालको सामाजिक उत्तरदायित्व भित्र रहेर क्यान्सरको परिक्षण गराउने पहुँचमा नभएका र जिल्ला कारागारमा रहेका १० हजार महिलाको पाठेघरको मुखको क्यान्सरको परिक्षण गराउने बताउनु भयो । त्यस बाहेक एक हजार गरीब तथा बिपन्न परिवारको स्वास्थ्य बिमा समेत अस्पतालको तर्फबाट गरिदिने डा प्रसाईले बताउनु भयो ।
पाठेघरको मुखको क्यान्सर परिक्षणका क्रममा क्यान्सर देखिएका महिलाहरुको सरकारको गरीब तथा बिपन्न उपचार कोष मार्फत एक लाखसम्मको उपचार गरी दिने क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा बिरेन्द्र यादबले पत्रकार सम्मेलनमा बताउनु भयो ।
देशका बिभिन्न जिल्लाबाट क्यान्सरको उपचारका लागि पुर्वाञ्चल क्यान्सर अस्पतालमा बिरामी आउने क्रम तिब्र रहेको भए पनि स्थानीय समुदायका क्यान्सरका बिरामीहरु अन्यत्र जाने गरेको र धेरै पैसा खर्च हुने तथा धेरै दुःख पाउने गरेको जानकारी आएकाले स्थानीयस्तरमा क्यान्सर रोग र त्यसको उपचारका बारेमा सचेतना फैलाउनु पर्ने आवश्यकता रहेको समेत डा यादबले बताउनु भयो ।
यसैबिच पुर्वाञ्चल क्यान्सर अस्पतालले १२ बर्षभन्दा बढी समयदेखि क्यान्सर रोगको उपचारमा संलग्न बरिष्ठ चिकित्सकहरुलाई भित्र्याएको जानकारी दिएको छ । आजको पत्रकार सम्मेलनमार्फत नाक, कान, घाँटीको क्यान्सर रोग बिषेशज्ञ डा बजरंग शाह र क्यान्सर रोगका बरिष्ठ सर्जन डा मुक्ति देवकोटालाई अस्पतालमा भित्र्याएको जानकारी दिइएको थियो ।
डा शाह यस अघि धरानस्थीत बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत हुुनुहुन्थ्यो भने डा देवकोटा चितवनस्थीत भरपुर क्यान्सर अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । पत्रकारकार सम्मेलन अस्पतालका सूचना अधिकारी प्रमिश गिरीको सहजीकरणमा सम्पन्न भएको थियो ।