झापा, साउन २५ । झापाका पत्रकार तीर्थ सिग्देलको कथा सग्रह ‘मनको कैदी’ बजारमा आएको छ । पत्रकार सिग्देलको पाचौं कृतिका रुपमा रहेको ‘मनको कैदी’ कथासंग्रह यसै साताबाट बजारमा आएको हो ।
कथा, निबन्ध र नियात्रा लगायतका साहित्यिक बिधामा कलम चलाउँदै आउनु भएका सिग्देल युवा पुस्ताको लेखन साहित्यमा उदाउँदो नाम हो । वहाँका कथामा मनो संवाद र कल्पनाशीलताको सिर्जनशील प्रयोग पाइन्छ ।
नयाँ कृतिका बारेमा लेखक सिग्देल भन्नुहुन्छ, ‘खासमा मान्छे मनद्धारा संचालित र नियन्त्रित हुन्छ । मनले नै सबै ज्ञानेन्द्रियहरु परिचालित भएका हुन्छन । जसले मानिसहरुका इच्छा, कामना, अभिलाषा, रुचि, स्वभाव र प्रकृतिलाई नियन्त्रण गरेको हुन्छ । अझ भनौं, उनीहरुको अनुभव, इच्छा, क्रोध, विचार, संकल्प विकल्पलाई नियन्त्रित तथा परिभाषित गर्ने अन्तःकरणको अंश वा वृत्ति, नाक, कान, आँखा, स्पर्श, स्वाद आदिले प्रभावित पार्ने इन्द्रीय अन्तःकरण, चित्त, दिल वा हृदयको आवाज हो । जहाँ मानिसहरु मनका कैदीसरह हुन्छन ।’
मूलतः मनको कैदी त्यही मनको परिधिभित्र लेखिएको कथासंग्रह हो भन्दा हुन्छ, जहाँ संग्रहित १३ बटा कथाहरु सबै नै मनोबैज्ञानिक शैलीका छन । मान्छेका मनमा उर्लिएका भावना र विचारहरुको मेल नै यो कथा संग्रहको सार हो । त्यहाँ समेटिएको ‘उर्लंदो समुद्र र भावना’ शीर्षकको कथाको तीन भाग छ, यसलाई नयाँ प्रयोगको रुपमा लिन सकिन्छ ।
मान्छेका मनभित्र गुम्सेर रहेका अव्यक्त भावहरु बुझ्ने र बुजाउने प्रयोगात्मक शैली यसमा अपनाइएको छ । समग्रमा मान्छेले मनलाई कसरी लिएको हुन्छ र त्यही मनले चाह्यो भने के सम्म गर्न सक्छ भन्ने यसमा प्रष्ट पारिएको छ । सारा संसारलाई नियन्त्रण गर्ने एक मात्र माध्यम मन हो । मनले चाह्यो भने जेपनि हुन्छ । एकै क्षणमा यहाँ आगो बल्छ र केही क्षणमै युद्ध हुन्छ । सिंगो मानवलाई चलाउने मान्छेको मन हो, जसलाई ठिक ढंगले बुझ्न र बुझाउन सकेमा क्षति कम हुन्छ ।
लेखक सिग्देलको यसअघि प्रकाशित मनोनेट कथासंग्रह त्यही मनको सिद्धान्तमा आधारित थियो । त्यो किताबले धेरैले मान्छेको मन जित्यो । त्यसपछिको यो किताबमा पनि मनोनेट शैली नै झल्किन्छ ।
मान्छेको मनभित्र गुम्सिएर रहेका कतिपय भावनाहरुको प्रकटीकरण सिग्देलको लेखाइको मुल पक्ष हो । पुस्तक मिडिया रिसर्च सेन्टरले प्रकाशन गरेको छ । पुस्तकको मूल्य २ सय ५० छ ।