झापा, साउन १३ । कोरोना भाइरस बढ्दै गए पछि त्यसको नियन्त्रणका लागि झापाको मेचीनगर नगरपालिकाक्षेत्र आज मध्यरातदेखि साउन १९ गते मध्यरातको १२ बजेसम्म सिल हुने भएको छ । मंगलबार बसेको नगरकार्यपालिकाको बैठकले नगर क्षेत्रमा कोरोना संरक्रमण र मृत्युको संख्या बढेको भन्दै नगर क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।
सोमबार बसेको मेचीनगरको कोभिड १९ रोगथाम तथा नियन्त्रण कार्यदलको बैठकले नगरक्षेत्रलाई सिल गर्न कार्यपालिकालाई सिफारीस गरेको थियो । समितिको सिफारीसका आधारमा कार्यपालिका वैठकले साउन १३ गते मध्यरात १२ बजेदेखि साउन १९ गते मध्यरात १२ बजेसम्म नगर क्षेत्र सिल गर्ने निर्णय गरेको उपप्रमुख मीना उप्रेतीले जानकारी दिनुभयो ।
वैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा निमित्त नगरप्रमुख समेत रहनु भएकी उप्रेतीले बन्दाबन्दीको अवधिमा अस्पताल, स्वास्थय चौकी, केन्द्र, एम्बुलेन्स, बारुणयन्त्र,सेवा बाट प्रदान हुने सेवा, औषधि पसल, खोप सेवा, फोहोरमैला संकलन तथा व्यवस्थापन,विद्युत, टेलिफोन, खानेपानी इन्टरनेट सेवा प्रदायक संस्थाका अत्यावश्यक कार्यहरु २४ सै घण्टा खुला रहने, दुध अण्डा, फलफूल तरकारीका पसलमात्र विहान ६ देखि ८ बजे २ घण्टासम्म खुला रहने जानकारी दिनुभयो ।
बैठकले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन, व्यापार, व्यवसाय, उद्योग कलकारखाना, शिक्षण संस्था, नेपाल सरकारले सञ्चालन गर्नका निम्ति तोकेका बाहेकका सबै सवारी साधन पूर्ण रुपमा बन्द गर्न गराउने, नेपाल सरकारद्वारा तोकिएको सामाजिक दुरी तथा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न, हाट बजार, मेला, जात्रा, महोत्सव पार्टी भोजलगायत भीडभाडमा हुने सवै खाले कार्य गर्न नगराउन समेत सवैमा आग्रह गरेको छ ।