मेचीनगर, साउन १२ । कोराना भाइरस बिरुद्धको भेरोसेल खोप आजदेखि झापाको मेचीनगर नगरपालिका क्षेत्रमा लगाइदैंछ । नगरपालिकाले नगरका ६ वटा खोप केन्द्रहरुबाट आजदेखि १५ गतेसम्म खोप लगाउने तयारी गरेको मेचीनगरका कोभिड फोकल पर्सन सबिता सापकोटाले जानकारी दिनु भयो ।
मेचीनगरमा वडा नं. १, २, ३ र ४ का लागि वडा नम्बर ४ स्थित बाहुनडाँगी स्वास्थ्य चौकी, वडा नं. ५, ६, ७ र ८ का लागि वडा नम्बर ६ स्थित काँकरभिट्टा स्वास्थ्य चौकी, वडा नं. ९ र १० का लागि वडा नं. १० स्थित धु्लावारी स्वास्थ्य चौकी भवनबाट खोप लगाउने व्यवस्था मिलाइएको छ ।
त्यस्तै वडा नं. ११ र १२ का लागि वडा नं. ११ स्थित धाइजन स्वास्थ्य चौकी, वडा नं. १३ र १४ का लागि वडा नं. १४ स्थित दुवागढी स्वास्थ्य चौकी र वडा नं. १५ का लागि वडा नं. १५ स्थित ज्यामिरगढी स्वास्थ्य चौकीमा सञ्चालन गरिएको खोप केन्द्रहरुबाट भेरोसेल खोपको पहिलो मात्रा लगाउने ब्यवस्था मिलाइएको कोभिड फोकल पर्सन सापकोटाले सेतोपत्रलाई जानकारी दिनु भयो । यो चरणमा भेरोसेलकै दोस्रो डोज लगाउन नपाइने समेत सापकोटाले जानकारी दिनु भयो ।
आज र भोली ५५ वर्षमाथिका सबै नागरिकहरुलाई खोप लगाइने छ । बिहिबार र शुक्रबार शिक्षक, कर्मचारी, प्राध्यापक, सार्वजनिक यातायातका चालक र सहचालक, अत्यावश्यक सेवाका ब्यक्तिहरु, विदेश जान भिषा लागेका नागरिकहरुलाई खोप लगाइने छ ।
त्यस्तै पेट्रोलियम पदार्थमा फ्रन्टलाईनमा काम गर्ने कर्मचारी, भन्सार एजेन्टहरु, निर्माण व्यवसायी संघका कर्मचारी, वित्तिय संस्थाको नगद कारोबारमा काम गर्ने कर्मचारी, सुरक्षा गार्डहरुलाईसमेत खोप प्रदान गरिने स्वास्थ्य शाखाले जनाएको छ ।
