धुलाबारी, साउन ७ । एक बर्ष अघि यौनहिंसाको शिकार हुनु भएकी झापा मेचीनगर ९ की १८ बर्षिया किशोरी अहिले थप पिडामा पर्नु भएको छ । डेरा गरेर बसेकै घरधनीबाट यौन हिंसाको शिकार हुनु भएकी ती किशोरीलाई अहिले पिडकका परिवारले घरबाट निकालिदिएका छन ।
जिल्ला अदालतको आदेशमा झापा कारागारमा रहेका पिडक बिष्णु खड्काका परिवारका सदस्यहरुले चार दिन अघि घरका सामग्री बाटोमा फालेर पिडित किशोरीको परिवारलाई घरमा बस्न नदिएको पिडित किशोरीले पत्रकारहरुलाई बताउनु भयो ।
‘तीन बर्षदेखि यही घरमा बसिरहेका थियौं’ किशोरीले पत्रकारहरुसंग भन्नुभयो, ‘अब हामी कहाँ जानु ।’ काठको एक तले टाँडे घरको माथिल्लो तलामा बस्दै आएका किशोरीका परिवारलाई गत सोमबार बिहान खड्काका श्रीमती र परिवारका अन्य सदस्य आएर सबै सामान बाहिर फ्याकिदिएको किशोरीकी आमाले बताउनु भयो ।
‘बर्खाको बेलामा सामान भिजाउँछ भनेर केही दिनलाई त्यही घरको भुँइमा बसेका छौं’ पिडित किशोरीकी आमाले भन्नुभयो, ‘तीन जना छोरीलाई लिएर त्यही खुला ठाउँमा रात कटाउनु पर्दा डर लागिरहन्छ ।’
‘पहिला सबैले राम्रै ब्यवहार गर्नु हुन्थ्यो’ पिडित किशोरीले भन्नुभयो, ‘एक बर्ष अघि म माथी यौन जन्य हिसाको घट्ना भए पछि छिमेकीहरुले पनि मलाई नै नकरात्मक दृष्टिले हेर्नु हुन्छ ।’
किशोरीको परिवारको घरायशी सामान असरल्ल छरिएको अवस्थामा छ भने केही सामान बाटैमा छ । अब यो घरमा नबस्ने तर अन्यत्रै बस्नका लागि पनि कतै डेरा समेत नपाएको किशोरीकी आमाले बताउनु भयो । ‘सबैतिर हल्ला भएको छ कसैले डेरा पनि दिन मान्दैनन’ वहाँले भन्नुभयो, ‘हाम्रो त बिजोक भयो ।’