काकरभिट्टा, असार ३१ । झापाको मेची अभियानमार्फत सञ्चालन गरिएको विभिन्न सहयोग अभियानको हिसाब आज सार्वजनिक गरिएको छ । कोरोनाको दोस्रो लहरको समयमा मेची अभियानले सञ्चालन गरेको सहयोग कार्यक्रमको असार मसान्तसम्मको सम्पुर्ण खर्च बिवरण सार्वजनिक गरिएको अभियानका संयोजक बिजय डालमियाले बताउनु भयो ।
बिहिबार अपरान्ह काकरभिट्टामा अभियानका सदस्यहरु र मेचीनगरका नगरप्रमुखको बिशेष उपस्थितिमा अभियानका तर्फबाट संयोजक डालमियाले आय ब्यय सार्वजनिक गर्नु भएको थियो । कोरोनाको दोस्रो लहरमा मात्रै अभियानका तर्फबाट करीब एक करोड रकम बराबरको बिभिन्न सहयोगका उपलब्ध गराएको संयोजक डालमियाले प्रस्तुत गर्नु भएको बिवरणमा उल्लेख गरिएको छ ।
संयोजक डालमियाका अनुसार स्वास्थ्य सामग्री बितरणमा ५ लाख २ हजार १२०, खाद्यान्न बितरणमा एक लाख ३२ हजार ३७५, औषधी तथा उपचारका लागि ७ लाख ५ हजार ४०० खर्च भएको छ । त्यस्तै आइशोलेशनमा खाना तथा अन्य सामग्री सहयोगमा ४० हजार खर्च भएको अभियानले जनाएको छ ।
अभियानको समन्वयमा गैरआवासीय अन्तराष्ट्रीय नेपाली संघ मार्फत २० वटा र करुणा फाउण्डेशनमार्फत ५ वटा गरी जम्मा २५ वटा अक्सिजन कन्सट्रेटर उपलब्ध गराई बिभिन्न जिल्लामा अभियानको तर्फबाट बितरण गरिएको उक्त अक्सिजन कन्सट्रेटरको मुल्य ७५ लाख रहेका अभियानले बिवरणमा उल्लेख भएको छ ।
त्यस्तै अभियान सञ्चालनका लागि विभिन्न ब्यक्ति तथा संघ संस्था, उद्योग लगायतबाट नगद रु ३ लाख २७ हजार ६६६ संकलन भएको अभियानले जनाएको छ । त्यस्तै करीब ६ लाख बढीको औषधीजन्य तथा उपचार सहयोग जुटेको संयोजक डालमियाले बताउनु भयो ।
अभियानका सदस्यहरु बिच आगामी दिनमा मेची अभियानलाई कसरी अगाडी बढाउने बिषयमा समेत आजको बैठकमा छलफल भएको अभियानका सदस्य प्रकाश भण्डारीले बताउनु भयो । अभियानलाई एउटा सामाजिक संस्थाको रुपमा बिकास गर्नु पर्ने धारण समेत बैठकमा आएको सदस्य शुशिल आचार्यले जानकारी दिनु भयो ।
मानविय सहयोगमा काम गर्ने संस्थालाई पारदर्शी ढंगले अगाडी बढाउँदै संकटका बेला जनताको बलियो साथीको रुपमा मेची अभियानलाई सञ्चालन गर्नु पर्ने अभियानका सदस्य राजु पोखरेलले बताउनु भयो ।
मेचीनगरका नगरप्रमुख बिमल आचार्यले मेची अभियानलाई बिपदमा काम गर्ने स्थायी संस्थाको रुपमा दर्ता गरेर अगाडी बढ्न सुझाव दिनु भएको अभियानकर्ताहरुले जानकारी दिनु भयो । संस्थागत रुपमा अगाडी बढाउने बिषयलाई थप छलफल गरेर अघी बढ्नु पर्ने अभियानका सदस्य ओमप्रकाश खापुङले बताउनु भयो । छलफल कार्यक्रममा अभियानकर्मीहरु दिलिप सुवेदी, पुष्पराज पौडेल, तेजप्रसाद चम्लागाई, किरण नेपाल लगायतको उपस्थीती रहेको थियो ।