कोभिड १९ को महामारीबाट विश्व आक्रान्त भई मानिसहरुको मानसिक अवस्था असहज भएको हालका दिनहरुमा विगत एक महिनादेखि खेलकुदमा रमाउने खेलप्रेमीहरुका लागि केही राहात भएको थियो । विशेष गरी विश्वमा सर्वाधिक लोकप्रिय खेल फुटबलको युरोपियन महादेश भित्रका राष्ट्रहरुको महाकुम्भ युरोकप २०२० र अमेरिकन महादेशका राष्ट्रहरु बिचको कोपा अमेरिका प्रतियोगिताको अन्त्य हुन गइरहेको छ । एक महिनासम्म चलेका यी दुवै प्रतियोगिता एक दिनको फरकमा शुरु भएका थिए । आगामि आइतवार विहान कोपा अमेरिकाको फाइनल र मध्य राति युरो कपको फाइनल खेल सँगै यि संस्करणको अन्त्य हुनेछन्। अमेरिकन महाद्विपीय १० राष्ट्रहरु सम्मिलित कोपाको फाइनलमा विश्व फुटबलका महारथिहरु ब्राजिल र अर्जेन्टिना भिड्नेछन भने युरोपका २४ राष्ट्रहरु सम्मिलित युरोकपको फाइनलमा इटली र इङ्लेण्ड भिड्नेछन ।
यी दुवै खेलहरु सर्वाधिक उत्कृष्ट र रोमाञ्चक हुने कुरा खेल विष्लेषक र खेलप्रेमिहरुले अनुमान लगाइरहेकाछन । नेपाली समयानुसार आईतवार विहान ५ः४५ वजे ब्राजिलको रियो दि जेनेरियोमा शरुहुने कोपाको फाईनलमा दुई पटकको विश्व विजेता अर्जेन्टिना, ५ पटकको विश्व विजेता ब्राजिलसँग अघिल्लो संस्करणमा सेमिफाइनलमा २(० ले हारेको बदला लिदै उपाधि उचाल्ने दाउमा मैदानमा उत्रने छ । यस संस्करणमा सर्वाधिक ४ गोल गरेका लियोनल मेसि र विश्व प्रख्यात ब्राजिलियन खेलाडी नेयमार बिचको भिडन्तको रुपमा पनि यो खेललाई हेरिएको छ । गोल गर्नका लागि ५ वटा सहयोग पुर्याएका मेसी व्याक्तिगत गोल संख्या बढाउदै आफ्नो राष्ट्रलाई उपाधि दिलाउन चाहान्छन भने व्याक्तिगत २ गोल र ३ सहयोग गरेका नेयमार पनि गोल गर्दै ब्राजिलको उपाधि रक्षा गर्ने सोचमा हुनेछन ।
अग्र पंक्तिका उत्कृष्ट खेलाडि ग्याब्रियल जिससले क्वाटरफाइनलमा रेडकार्ड पाएर बाहिरिएका कारण ब्राजिलको लागि केही घाटा भने अवश्य हुने देखिन्छ । समूह चरणका खेलहरुमा समान ३-३ खेलमा जित र १-१ खेलमा बराबरी को नतिजा निकाल्दै यहाँसम्म आइपुगेका यी राष्ट्रहरुमा अर्जेन्टिनाले क्वाटरफाइनलमा ईक्वेडरलाई ३-० तथा सेमिफाईनलमा कोलम्वियासँग निर्धारित समयमा १-१ को बराबरी पश्चात् ट्राइब्रेकरमा ३-२ को नतिजा निकालेको थियो भने ब्राजिलले क्वाटरफाइनलमा चिलिसँग १-० र सेमिफाइनलमा पेरुसँग पनि १-० कै जित निकाल्दै फाईनलको यात्रा तय गरेको हो । प्रतियोगिता भरि जम्मा ११ गोल गरेको अर्जेन्टिनाले मात्र ३ गोल खाएकोछ । उता ब्राजिलले १२ गोल गर्दा मात्र २ गोल खाएको छ । यस्तै हालसम्म यी दुई राष्ट्रहरु एकअर्कामा १०५ पटक भिड्दा ब्राजिलले ४१ पटक र अर्जेन्टिनाले ३८ पटक जित हाँसिल गरेकाछन र २६ खेलहरु बराबरी भएकाछा । यसरी अंकगणितिय विश्लेषण गर्दा यसपटकको कोपाअमेरिका को उपाधि कस्ले उचाल्ने हो भन्ने अनुमान लगाउन गार्हो छ ।
यसैगरी उता नेपाली समयानुसार आईतवार मध्य राति १२ः४५ मा लण्डनमा शुरु हुने युरोकपको फाइनलमा ४ पटकको विश्व विजेता इटलिले एक पटकको विश्व विजेता इङ्लेण्डको सामना गर्दै छ। १९६६ को विश्व कप जिते पश्चात कुनै पनि ठुला प्रतियोगिताहरुको फाइनलमा हालसम्म पुग्न नसेकेको तथा पहिलोपटक युरोकपको फाइनल पुगेको इङ्लेण्डको लागि यो फाइनल खेल प्रतिष्ठा को लडाइँ रहेको छ भने एक पटक युरोकप उचालेको इटलि भने आफ्नो ३३ खेलसम्मको अपराजित विश्व रेकर्डलाई थप अगाडि बढाउदै दोश्रो पटक उपाधि उचाल्ने दाउमा हुनेछ ।
समूह चरणमा आफ्ना तिनवटै खेलमा स्पष्ट जित निकाल्दै प्रि क्वाटर मा अष्ट्रियालाइ २-१ ले, क्वाटरमा बेल्जियमलाई पनि २-१ ले नै पराजित गरेको इटलिले सेमिफाइनलमा स्पेनसँग निर्धारित र अतिरिक्त समयसम्म १-१ को बराबरी पश्चात् ट्राइब्रेकरमा ३-२ को जित निकाल्दै फाईनलमा स्थान सुरक्षित गरेको हो । यस्तै फाइनल पुगेको इङ्लेण्डले समूह चरणमा २ खेल मा जित र १ खेल बराबरी खेल्दा प्रि क्वाटरमा जर्मनीलाई २-० ले, क्वाटरमा युक्रेनलाई ४-० ले र अतिरिक्त समयसम्म पुगेको सेमिफाइनलमा डेनमार्कलाई २-१ ले हराएको थियो ।
प्रतियोगिता भरिमा जम्मा १२ गोल गरेको इटलिले मात्र ३ गोल खाएको छ भने युक्रेनसँग को खेललाई छोड्ने हो भने खासै गोल गर्न नसकेको इङ्लेण्डले जम्मा १० गोल गर्दा मात्र १ गोल खाएको छ । प्रतियोगिताको सर्वाधिक गोल कर्ताको होडमा रहदै ४ गोल गरेका अंग्रेज कप्तान ह्यारी केन थप गोल गर्दै ५ गोल गरेका पोर्चुगलका रोनाल्डोलाई उछिन्न चाहान्छन् भने खेलमा सबै को उत्तिकै योगदान राखेका खेलाडिहरुले भरिएको टिम इटलिका कप्तान चिलिनि भने विपक्षि कप्तानलाई रोक्दै आफ्नो राष्ट्रलाई दोस्रो पटक उपाधि दिलाउने दाउमा मैदानमा उत्रने निश्चित छ । आफ्ना रक्षापंङ्तिका उत्कृष्ट खेलाडि लियोनार्दो स्पाइनजोला घाइते हुनाले इटलिलाई भने केही असहज हुनेछ । यसरी हेर्ने हो भने यो खेलमा पनि कस्ले बाजि मार्ने हो अनुमान लगाउन भने कसैलाई पनि सहज छैन ।