इटाभट्टा, असार २४ । मेचीनगर नगरपालिकाको स्थागित भएको नगरसभा पुन सञ्चालन गर्ने बिषय अनिश्चित बनेको छ । असार १० गते शुरु भएर बजेट प्रस्तुत गरे पछि स्थागित भएको नगरसभा असार २० गते सुरु हुना साथ मेचीनगर १३ का वडा अध्यक्षमाथि भएको अभद्र ब्यवहारका बिषयमा छलफल नगरी अगाडी बढ्न नसक्ने भन्दै एमाले सम्बद्ध जनप्रतिनिधिहरुले बहिस्कार गरे पछि पुन स्थगित भएको थियो ।
मेचीनगर १३ का वडा अध्यक्ष कृष्ण सिग्देल र स्थानीय अर्जुन थेबे बिचको बिवाद समाधान पछि मात्रै नगरसभा सञ्चालन गर्ने सैधान्तिक सहमति भए पनि अहिलेसम्म विवाद समाधान नभएको बुझिएको छ । पटक पटकको छलफल पछि विवादित दुवै पक्ष आ आफ्नो कमजोरी स्वीकार गरी अगाडी बढ्न सहमत भएको भनिएता पनि दुवै पक्षले सहमति भएको स्वीकार गरेका छैनन ।
दुवै पक्षले आ आफ्नो कमजोरी स्वीकार गर्ने र दुवै पक्षको उपचारमा लागेको खर्च नगरपालिको ब्यहोर्ने सहमति भएको मेचीनगर कार्यपालिका सदस्य टिकाराम मगरातीले सेतोपत्रलाई जानकारी दिनु भयो ।
‘सार्वजनिक महत्वको काम गर्दै गर्दा बिवाद श्रृजना भएकाले उक्त घट्नासंग सम्बन्धी उपचार खर्च नगरपालिकाले ब्यहोर्ने निर्णय भएको छ’ मगरातीले भन्नुभयो, ‘विवाद समाधान भएको छ अब नगरसभा सञ्चालन हुन्छ ।’
‘आज दिनभरि नगरसभा सञ्चालनको पहल र तयारी हुन्छ’ उपप्रमुख मिना उप्रेतीले सेतोपत्रसंग भन्नुभयो, ‘भोलि जसरी पनि नगरसभा सञ्चालन हुन्छ ।’
मेचीनगर १३ को बिवादसंगै नगरसभामा प्रस्तुत हुने कानूनका बिषयमा कार्यपालिकामा छलफल नभएका कारण पनि नगरसभा स्थगित भएको उपप्रमुख उप्रेतीले बताउनु भयो ।
मेचीनगरको जारी नगरसभामा खानेपानी प्राधिकरण ऐन, मेचीनगर प्रज्ञा प्रतिष्ठान गठन सम्बन्धी ऐन, कर्मचारी ब्यवस्थापन सम्बन्धी कार्यविधि र खरिद सम्बन्धी कार्यविधि प्रस्तुत हुने कार्यसूची रहेको नगरपालिका स्रोतले जनाएको छ । असार १० गते सूरु भएर असार २५ गते भित्र नगरसभा सम्पन्न गर्नै पर्ने कानूनी बाध्यता छ ।