मेचीनगर, असार २२ । झापामा कोरोना संक्रमण बढेको छ । पछिल्ला केही दिनयता फेरि संक्रमण बढ्न थालेको छ । संक्रमण बढ्दो क्रममा भए पनि बजार पसल र यातायातलाई सञ्चालन गर्न दिने गरी निषेधाज्ञा भने खुकुलो बनाउने क्रममा स्थानीय प्रशासनले निर्णय गरिरहेको छ ।
सोमबार मात्रै झापामा २२९ नयाँ कोरोना संक्रमित थपिएका छन । जिल्ला स्वास्थ्य कार्यालय झापाले दिएको जानकारी अनुसार हिजो झापामा पिसिआरबाट १४७ जना र एन्टिजेनबाट ८२ जना कोरोना संक्रमित पुष्टी भएका छन । हिजो झापामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ ।
जिल्लामा पछिल्लो हप्ताको सबैभन्दा धेरै संक्रमित थपिएकै दिन कोभिड १९ संकट ब्यवस्थापन केन्द्र(डिसिसिएमसी) झापाले भने जारी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेको छ । डिसिसिएमसी झापामाले संक्रमितको तथ्याङ्क बिश्लेषण नगरी निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको यो दोस्रो पटक हो । यस अघि असार १४ गते पनि साताकै सबैभन्दा धेरै संक्रमित थपिएकै दिन जिल्लामा निषेधाज्ञा खुकुलो पारिएको थियो ।
आजदेखि झापामा बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म पसल, होटल तथा रेष्टुरेन्ट, बजार खुल्ला गर्न पाइने, सार्वजनिक यातायातहरु जोर बिजोर प्रणालीमा सञ्चालन गर्न पाइने डिसिसिएमसी झापाले निर्णय गरेको छ ।
हिजो मात्रै झापामा सबैभन्दा बढी बिर्तामोड नगरपालिकामा ५५ जना कोरोना संक्रमित थपिएका छन । त्यस्तै मेचीनगर नगरपालिकामा ४६ जना, दमकमा २८ जना, अर्जुनधारामा २० जना, भद्रपुरमा १७ जना, कनकाईमा १५ जना, नयाँ संक्रमित थपिएका छन । त्यस्तै झापा गाउँपालिकामा ९ जना, शिवसताक्षीमा ७ जना, बाह्रदशीमा ६ जना, गौरादहमा ४, कमलमा ३, हल्दिबारी, गौरीगञ्ज र बुद्धशान्तिमा एक एक जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जानकारी दिएको छ ।