झापा, असार २० । इंग्ल्याण्ड र डेनमार्क युरोकपको सेमिफाइनलमा प्रवेश गरेका छन । हिजो राति सम्पन्न क्वाटरफाईनल खेलहरुमा इंग्ल्याण्डले युक्रेनलाई र डेनमार्कले चेक रिपब्लिकलाई हराएर सेमिफाइनल प्रवेश सुरक्षीत पारेका हुन ।
गए राति युक्रेनलाई ४-० गोलअन्तरले पराजित गरी इंग्ल्याण्ड युरो २०२० को सेमिफाइनलमा प्रवेश गरेको हो । रोममा भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्याण्डले शानदार प्रदर्शन गरेको थियो ।
इंग्ल्याण्ड २५ वर्षपछि युरोको सेमिफाइनल पुगेको हो । ग्यारेथ साउथगेट प्रशिक्षित इंग्ल्याण्डले प्रिक्वाटरफाइनलमा जर्मनीलाई पराजित गरेको थियो । प्रतियोगिताको एकपछि अर्को खेलमा इंग्लिस टोली सन्तुलित र प्रभावशाली बन्दै आएको छ ।
समूह चरणमा गोल गर्न नसकेका ह्यारी खेल आफ्नो लयमा फर्किएका छन् । जर्मनीविरुद्ध पहिलो गोल गरेका उनले खेल सुरु भएको चार मिनेटमै रहिम स्टर्लिङसँगको सुन्दर तालमेलमा गोलको खाता खोलेका हुन् ।
त्यसपछि युक्रेनले खेलमा आफ्नो पकड फिर्ता ल्याउनै सकेन । सन् २०१८ को विश्वकपको सेमिफाइनल पुगेको इंग्ल्याण्ड लगातार ठूला प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको छ । इंग्ल्याण्डको जित निश्चित गर्न केनले अर्को गोल थपे भने ह्यारी मगायरले सानदार हेडर गोल गर्दा लुकश ले फ्रिकिकमार्फत गोल गरेका हुन् ।
हिजै भएको पहिलो क्वार्टरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोलको नतिजामा पराजित गर्दै डेनमार्क युरो २०२० को सेमिफाइनलमा पुगेको छ । अजरबैजानको बाकुमा भएको खेलमा सहज जित निकाल्दै डेनमार्क १९९२ पछि पहिलो पटक युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको हो ।
डेनमार्कले खेलको पाँचौँ मिनेटमा थोमस डेलानेले गरेको गोलसँगै अग्रता लिएको थियो । जेन्स स्ट्रिगर लार्सेनले बायाँतर्फबाट प्रहार गरेको कर्नरलाई ६ यार्ड बक्स नजिकबाट प्रहार गर्दै डेलानेले डेनिस साइडलाई अग्रता दिलाएका थिए ।
चेक टोलीमाथि हाबी बनेको डेनमार्कले पहिलो हाफको खेल सकिन तीन मिनेट बाँकी रहँदा कास्पर डोलबर्गको गोलसँगै अग्रता दोब्बर पारेको थियो । जोहाकिम मेहेलेले बायाँतर्फबाट गरेको क्रसलाई ६ यार्ड बक्स भित्रबाट ट्याप इन गर्दै डोलबर्गले डेनमार्कको अग्रता दोब्बर पारेका थिए ।
पहिलो हाफमा २-० ले पछि परेको चेक टोलीले दोस्रो हाफको सुरुआतदेखि नै निरन्तर आक्रामक शैली अपनाएको थियो । जसको फलस्वरुप खेल पुन: सुरुआत भएको ४ मिनेट नबित्दै चेक टोलीले एक गोल फर्कायो ।
जारी सिजन उत्कृष्ट फर्ममा रहेका फरवार्ड प्याट्रिक शिकले ४९औं मिनेटमा गोल गर्दै चेक रिपब्लिकलाई खेलमा फर्काएका थिए । तर, थप गोल गर्न नसक्दा डेनमार्कले २(१ को अग्रता जोगाउँदै २९ वर्षपछि अन्तिम ४ मा स्थान सुरक्षित गर्यो ।
यसअघि अन्तिम पटक डेनमार्क १९९२ मा सेमिफाइनलमा मात्रै पुगेको थिएन, उपाधि पनि जितेको थियो । तर, समग्रमा भने डेनिस टोलीको यो तेस्रो सेमिफाइनल हो ।
डेनमार्क १९८४ मा पनि युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको थियो । फाइनल प्रवेशका लागि इंग्ल्याण्ड र डेनमार्कबीच बुधबार सेमिफाइनल भिडन्त वेम्बलीमा हुनेछ ।