मेचीनगर, असार १८ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदैं जाँदा देशभरिका काँग्रेस कार्यकर्ताहरु बिच गाउँ नगरदेखि केन्द्रसम्मको नयाँ नेतृत्वका बारेमा चर्चा सुरु भएको छ ।
पुर्वको सिमान्त नगर झापाको मेचीनगर नगरपालिकामा पनि यति बेला काँग्रेस महाधिवेशनको चर्चा चुलिएको छ । देशकै सबैभन्दा धेरै जनसंख्या भएको नगरपालिकाको काँग्रेस नेतृत्व कस्तो आउँछ भन्नेमा छलफल हुन थालेको छ ।
मेचीनगरमा अहिलेसम्म कसैले पनि खुलेर उम्मेद्वारी घोषणा गरेको अवस्था छैन तर नगरसभापतिका केही आँकाक्षीहरुले भने पार्टी भित्र आफ्नो पक्षमा लबिङ शुरु गरेको बुझिएको छ ।
मेचीनगरको काँग्रेस सभापति दाबी गर्नेमा मुख्य रुपमा ६ जनाको नाम चर्चामा छ । त्यस मध्ये ४ जना २०७४ को नगर निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित छन भने एक जना वडा अध्यक्षमा नै पराजित ब्यक्ति हुनुहुन्छ । त्यस्तै एक जना ०६२/०६३ को जनआन्दोलनका ज्युँदा शहिद नामले चिनिने युवा नेता काँग्रेस नगर नेतृत्वको दौडमा हुनुहुन्छ ।
यो पटक मेचीनगरको काँग्रेस नेतृत्व दाबी गर्ने सबै युवा पुस्तालाई प्रतिनिधित्व गर्ने नेताहरु हुनुहुन्छ । मेचीनगर काँग्रेसको सभापति दाबी गर्नेमा मेचीनगर ४ का वडा अध्यक्ष समेत रहेका नविन बराल, मेचीनगर १० का वडा अध्यक्ष सुवेशकुमार पनेरु, मेचीनगर ५ का वडा अध्यक्ष योगेन थापा र मेचीनगर १५ का वडा अध्यक्ष गुणराज भट्टराई (राजन) रहेका छन । त्यस्तै मेचीनगर १३ चारआलीका पुष्प कार्कीले समेत नगर काँग्रेसको नेतृत्व दाबी गर्नु भएको छ । कार्की स्थानीय तह निर्वाचनमा मेचीनगर १३ को वडा अध्यक्षमा पराजित हुनु भएको हो ।
मेचीनगर काँग्रेसकै नेतृत्व दाबी गर्नेमा अर्का युवा नेता धनकाजी खत्रीको नाम पनि चर्चामा छ । ०६२/०६३ को जनआन्दोलनमा तत्कालिन काँग्रेस सभापति गिरिजा प्रसाद कोईरालालाई जोगाउन आफ्नो शरिरमा गभ्भिर चोट समेत बोकेका धनकाजी नेबिसंघका स्थापित नेता तथा पुर्व केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।
बराल, भट्टराई र कार्की नेपाली काँग्रेस मेचीनगरको बर्तमान सहसभापति पनि हुनुहुन्छ । तत्कालिन बाहुनडाँगी गाउँ सभापति बराल, ज्यामिरगढी गाउँ सभापति भट्टराई र दुवागढी गाउँ सभापति कार्की तीनै वटा गाउँ मेचीनगर नगरपालिकामा सामायोजन भए पछि काँग्रेस मेचीनगरको सहसभापति हुनु भएको हो । नगर सभापतिका दाबेदार पनेरु नेपाली काँग्रेस झापाका जिल्ला सदस्य समेत हुनुहुन्छ ।
मेचीनगरको पार्टी नेतृत्वमा युवा पुस्ताको दाबीलाई सकरात्मक रुपमा लिएको नेपाली काँग्रेस मेचीनगरका सभापति इन्द्रबहादुर बुढाथोकी बताउनु हुन्छ ।
काँग्रेसको महाधिवेशनको तालिका अनुसार वडा अधिवेशन साउन १२ गते, गाउँ नगर अधिवेशन साउन १६ गते, प्रदेश क्षेत्रिय अधिवेशन साउन २० गते, संघिय प्रदेश अधिवेशन साउन २३ गते, जिल्ला अधिवेशन साउन २६ गते, प्रदेश अधिवेशन भदौ १ र २ गते र केन्द्रिय अधिवेशन भदौ १६ देखि १९ सम्म गर्ने निर्णय भएको छ ।