झापा, असार १६ । झापा बिर्तामोडस्थीत बिएण्डसी टिचिङ अस्पताललाई एमबीबीएस अध्ययनको अनुमति दिने कि नदिने भनेर अनुगमन गर्न गठिक विज्ञ चिकित्सकहरुको टोलीले अझै प्रतिवेदन बुझएको छैन । गत २८ जेठमा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले झापास्थित बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई एमबीबीएस पढाउन सम्वन्धन दिन मिल्ने वा नमिल्ने निर्णय सात दिन भित्र गरिसक्ने निर्णय गरेको थियो । सोही बैठकले त्यसअघि स्थलगत अनुगमनका लागि स्वतन्त्र विज्ञ टोली झापा पठाउने र उसले दिएको प्रतिवेदनका आधारमा अन्तिम निर्णय लिने भनेको थियो । तर आयोगले निर्णय गरेको १८ दिन पुगिसक्दा प्रतिवेदन सार्वजनिक भएको छैन ।
आयोगको सातौं बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा २८ बसेको बैठकको निर्णय अनुसार आयोगले बीएण्डसीको अनुगमन गर्न विज्ञहरुको तर्फबाट प्राडा प्रकाशराज पाण्डेको संयोजकत्वमा विज्ञ डा भोजराज अधिकारी र आयोगका तर्फबाट प्राडा रमेश आचार्य र सेमन्तराज कोइराला सदस्य रहेको चार सदस्यीय टोली पठाउने निर्णय गरेको थियो । उक्त टोली निर्धारित समय भन्दा केही ढिला भएपनि झापा पुगेर फर्किएको थियो ।
एक साताको म्यादमा दुई साता पुग्दा समेत प्रतिवेदनको अत्तोपत्तो नहुँदा आयोगले मंगलबारको बैठकमा प्रतिवेदन आउने अपेक्षा गरेका थिए । तर त्यो अपेक्षा सफल हुन सकेन । मंगलबारको बैठकले सीसीएमसीको सहमति पछि ९ साउन देखि प्रवेश परीक्षा लिने निर्णय मात्रै गरयो ।
आयोग स्रोतका अनुसार वीएण्डसीको अनुगमनमा आएका टोली संयोजक प्राडा पाण्डेले अहिलेको अनुगमन टोलीमा ‘इन्ट्रेष्ट’ बाझिने व्यक्ति भएको पछि थाहा पाएको भन्दै प्रतिवेदनमा हस्ताक्षर गर्न मान्न् भएको छैन । संयोजक रहेका प्राडा पाण्डेले वीएण्डसी संञ्चालक दुर्गा प्रसाई र आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीबीच गतवर्ष भएको विवाद र त्यसपछिको अदालती प्रक्रियामा डा गिरीकै तर्फबाट साक्षी बस्ने व्यक्ति डा भोजराज अधिकारी नै हुन भन्ने थाहा पाएपछि प्रतिवेदनमा ‘कन्फिल्क्ट अफ इन्ट्रेष्ट’ देखिने भन्दै हस्ताक्षर गर्न नमानेको बताइएको छ ।
टोली संयोजक डा. पाण्डेले आफूलाई आयोग उपाध्यक्ष डा. गिरीले विवादमा फसाउन खोजेको भन्दै प्रतिवेदनमा हस्ताक्षर गर्न नमानेको डा. पाण्डे निकटस्रोतले बताएको छ ।
आयोगका प्रवक्ता डिल्लीराम लुईटेलले आफूलाई वीएण्डसीको अनुगमन प्रतिवेदन सम्वन्धमा कुनै जानकारी नभएको बताउनु भयो । ‘यो कुरा गोप्य पनि भयो । यो विषयमा हामीले चासो लिने कुरा पनि भएन । प्रवक्ता भएको नाताले मैले यति भन्न सक्छु प्रतिवेदन आएको छैन ।,’