झापा, असार १३ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति तय भएसंगै झापाको सभापतिमा दुई नेताले दाबी गरेका छन । काँग्रेस झापाका बर्तमान उपसभापति राम कट्टेल र अर्का नेता राजेन्द्र घिमिरेले झापा काँग्रेसको नेतृत्वमा दाबी गरेका हुन ।
काँग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्माका छिमेकी समेत रहनु भएका मेचीनगर ९ निवासी राम कट्टेलले आफु उपसभापति भए पछि सभापतिका लागि स्वभाविक दाबी रहने बताउनु भएको छ । ‘उपसभापति भइसके पछि सभापतिमा दाबी स्वभाविक हुन्छ’ कट्टेलले सेतोपत्रसंग भन्नुभयो, ‘मैले उम्मेद्वारी घोषणा नगर्दा अन्योल जस्तो भयो त्यसैले आफ्नो दाबी प्रस्तुत गरेको हुँ ।’
आफ्नो उम्मेद्वारीमा सबैको समर्थन हुने र सर्बसम्मत नेतृत्व चयन हुने कट्टेलले दाबी गर्नु भयो । उम्मेद्वारी घोषणा गरे पछि पुर्व महामन्त्रि सिटौलाले समेत सम्पर्क गरेर सकरात्मक रुपमा लिएको प्रतिक्रिया दिएको कट्टेलले बताउनु भयो । ‘मलाई सिटौलाको मात्रै होईन झापाबाट केन्द्रमा प्रतिनिधित्व गर्नु हुने सबै नेताको समर्थन रहन्छ’ कट्टेलले भन्नुभयो, ‘सर्बसम्मत सभापति चयनको प्रयासमा नेताहरुले पहल गर्नु हुन्छ ।’
सिटौला समुहका भनेर चिनिएका नेता कट्टेलले उम्मेद्वारीका बिषयमा प्रबक्ता शर्मासंग भने कुराकानी नभएको बताउनु भयो । कट्टेल २०४९ मा तत्कालिन धुलाबारी गाउँ विकास समितिका अध्यक्ष निर्वाचित हुनु भएको थियो । यता काँग्रेसका नेता राजेन्द्र घिमिरेले पनि झापा काँग्रेसको नेतृत्वमा दाबी गर्नु भएको छ । नेता घिमिरेले सेतोपत्रसंग भन्नुभयो, ‘पार्टीको जिल्ला नेतृत्व हाँक्न तयार छु ।’
काँग्रेस नेता सिटौलाका गृह नगर भद्रपुर निवासी घिमिरेले आम कार्यकर्ताहरुको भावना समेटेर काम गर्ने बताउनु भयो । ‘पार्टी भित्र ब्यक्ति केन्द्रीत प्रबृत्ति हाबी भएको छ’ घिमिरेले भन्नुभयो, ‘पार्टीलाई बलियो बनाउने अभियानमा लागेको छु ।’
‘उम्मेद्वारीका बिषयमा काँग्रेस प्रबक्ता शर्मासंग कुराकानी भएको छ’ वहाँले भन्नुभयो, ‘पार्टी काममा सक्रिय रहने कार्यकर्तालाई जबरजस्ती निष्कृय बनाउने काम गर्नु हुन्न ।’ एउटै नगरमा बसेर पनि उम्मेद्वारीका बारेमा नेता सिटौलासंग भने कुनै कुराकानी नभएको घिमिरेले बताउनु भयो ।
२०४९ सालमा कांग्रेसबाट भद्रपुर नगरपालिकाको वडाध्यक्ष निर्वाचित हुनुभएका घिमिरे २०५४ सालमा पार्टीका तर्फबाट भद्रपुर नगरपालिकाको उपप्रमुखको उम्मेद्वार समेत बन्नु भएको थियो । घिमिरे एक कार्यकाल भद्रपुर काँग्रेसको सभापति, एक कार्यकाल क्षेत्रीय सभापति र हाल स्थानीय तह समन्वय विभागका केन्द्रीय सदस्य हुनुहुन्छ । काँग्रेसको आगामी साउन २६ गते जिल्ला अधिवेशन हुने कार्यतालिका रहेको छ ।