झापा, असार १२ । मेची अभियान मेचीनगरले पुर्वी नेपालका ४ वटा जिल्लामा २५ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । अभियानले झापामा १९ वटा, इलाममा २ , पाँचथरमा २ र ताप्लेजुङ २ वटा कन्सन्ट्रेटर हस्तान्तरण गरेको अभियानका संयोजक बिजय डालमियाले बताउनु भयो ।
करुणा फाउण्डेशनको सहयोगमा मेची अभियानलाई उपलब्ध भएको ५ वटा अन्सन्ट्रेटर झापाको मेचीनगरलाई ३ वटा, बुद्धशान्तिको आइशोलेशनलाई २ वटा हस्तान्तरण गरेको संयोजक डालमियाले बताउनु भयो । मेचीनगरको ३ मध्ये दुई वटा मेची आम्दा अस्पताल धुलाबारी र एक थान धाइनजन आइशोलेशन केन्द्रलाई उपलब्ध गराइएको छ । धुलाबारी र काकरभिट्टा स्वास्थ्य चौकीलाई थप एक / एक वटा कन्सन्ट्रेटर उपलब्ध गराउने समेत अभियानले जनाएको छ ।
त्यस्तै गैर आवासिय नेपाली संघका तर्फबाट अभियानलाई उपलब्ध भएको २० वटा अक्सिजन कन्सन्ट्रेटर मध्ये कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) झापालाई १२ वटा हस्तान्तरण गरिएको अभियानका सदस्य प्रकाश भण्डारीले जानकारी दिनु भयो ।
जिल्ला प्रशासन कार्यालय झापामा बुधबार आयोजित स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमका बीच अभियानका संयोजक डालमियाले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई १२ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्नु भएको थियो । डिसिसिएमसी झापाका तर्फबाट प्रजिअ तिमिल्सिनाले कन्सन्ट्रेटर ग्रहण गर्दै झापाका विभिन्न १२ वटा पालिकाका स्वास्थ्य संस्थाहरुलाई एक / एक वटा बितरण गरिने बताउनु भयो ।
त्यस्तै अभियानले बिहिबार र शुक्रबार इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दुई / दुई वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तर गरेको अभियानका सदस्य ओमप्रकश खापुङले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा हिजो एक कार्यक्रमका बीच अभियानका संयोजक डालमियाले प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेलाई दुई वटा अक्सिजन कन्सन्ट्रेटर र एक सय थान फेसशिल्ड हस्तान्तरण गर्नु भएको अभियानका सदस्य उमेश सुवेदीले जानकारी दिनु भयो । यस अघि इलामका प्रमुख जिल्ला अधिकारी ध्रुव वहादुर खड्का र पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकाललाई दुई दुई वटा अक्सिजन कन्सन्ट्रेटर अभियानका तर्फबाट हस्तान्तरण गरिएको सदस्य सुवेदीले बताउनु भयो ।
कोरोना संक्रमित सहित अन्य अक्सिजन आवश्यक पर्ने बिरामीहरुका लागि प्रभावकारी मानिएको अक्सिजन कन्सन्ट्रेटर एक थानको नेपाली मुल्य दुई लाख ३० हजारका दरले २५ वटाको ५७ लाख ५० हजार पर्ने संयोजक डालमियाले बताउनु भयो ।