धाइजन, भदौ २० ।
मेचीनगर नगरपालिकाले वडा नं. ११ स्थीत धाइजन स्वास्थ्य चौकीको भवनलाई कोरोना संक्रमित भएका नगरबासीहरुलाई राख्नका लागि आइशोलेशन सेन्टर बनाएको छ । ५० जना राख्न सकिने क्षमताको उक्त आइशोलेशन सेन्टर भवनमा असार २४ गतेदेखि नियमित रुपमा संक्रमितहरु राख्न थालिएको छ ।
कोरोना संक्रमण बढ्दै जाँदा प्रदेश सरकारले बनाएका आइशोलेशन सेन्टरहरु भरिदैं गएका कारण मेचीनगरले आफ्नै आइशोलेशन सेन्टर सञ्चालन गरेर नगरमा कोरोना संक्रमित देखिएकाहरुलाई राख्ने काम गरेको छ ।
नगरपालिकाले सञ्चालन गरेको आइशोलेशन सेन्टरमा बस्ने कोरोना संक्रमितहरुलाई नियमित खाना खुवाउने कामको जिम्मा लिनु भएको छ ३१ बर्षिया लक्ष्मी लिम्बुले ।
कोरोना संक्रमितहरुलाई लक्ष्मीले खाना खुवाउन थालेको करीब दुई महिना भइसकेको छ । बिहान खाजा खाना, दिउँसो खाजा र बेलुका खाना गरी दैनिक चार पटक संक्रमितहरुलाई खाना खुवाउने काममा नै हिजोआज लक्ष्मीको दैनिकी बितिरहेको छ ।
कोरोना भन्दा परैबाट डराउने अवस्थामा लक्ष्मी भने दुई महिनादेखि कोरोनाका संक्रमित भनेर पुष्टी भइसकेकालाई स्वस्थकर खाना खुवाएर कोरोनालाइ जित्ने सक्ने बनाउने अभियानमा लाग्नु भएको छ ।
संक्रमितहरुका लागि बिहान ७ः३० बजे अण्डा, दुध, पाउरोटी र दालचिनि सहितको जडिबुटीको झोल बनाएर पुरयाउनु हुन्छ लक्ष्मीले । त्यस्तै बिहान १० देखि ११ बजेसम्ममा खाना तयार हुन्छ । दाल भात, सब्जी अचार सहित बिहानको नियमित खाना बन्छ भने हप्ताको दुई दिन मासु पनि खुवाउने बताउनु हुन्छ लक्ष्मी लिम्बु । त्यस्तै दिउँसो दुई बजेतिर चिया, बिस्कुट लगायत खाजा खुवाउनु हुन्छ भने बेलुका ७ बजेतिर खाना तयार गरेर संक्रमितकालागि आशोलेशन सेन्टर पुर्याउने लक्ष्मीले बताउनु भयो ।
धाइजनको आशोलेशन सेन्टर भन्दा करीब चार सय मिटर पर रहेको लक्ष्मीको घरमा वहाँकी आमा र एक छोरी पनि बस्नु हुन्छ । आमा बिरामी र बृद्ध हुनुहुन्छ भने छोरी सानै छिन । त्यसैले पनि लक्ष्मीले संक्रमितहरुका लागि आफैं खाना तयार गर्नु पर्छ ।
ताप्लेजुङको लिम्बुदेन गाउँकी बासिन्दा लक्ष्मी केही समयदेखि झापामा बस्दै आउनु भएको छ । मेचीनगर ११ मा एउटा घर भाडामा लिएर बस्दै आउनु भएकी लक्ष्मीले त्यही घरमा दैनिक संक्रमितहरुका लागि खाना बनाएर आइशोलेशन सेन्टरसम्म पुर्याउनु हुन्छ । सेतोपत्रसंग कुराकानी गर्दै लक्ष्मीले भन्नु भयो,‘खाना घरमै बनाएर आइशोलेशन सेन्टरको गेटसम्म पुर्याउँछु । मैले राखेको खाना आइशोलेशन सेन्टरमा नै बस्ने चौकीदारले संक्रमितहरुसम्म पुर्याउनु हुन्छ ।’
संक्रमितहरुलाई बिहान खुवाइने जडिबुटीको झोल दैनिक आफुले पनि खाने गरेको लक्ष्मीले सुनाउनु भयो । आफुलाई कोरोनाको खासै डर नलागेको लक्ष्मीले बताउनु भयो । वहाँले भन्नु भयो,‘मलाई कोरोना लाग्छ जस्तो नै लाग्दैन, बिहान हिडेर पसिना निकालेरै कोरोना भगाइदिन्छु जस्तो लाग्छ ।’
कोरोना संक्रमितका लागि खाना बनाउन थाले पछि केही नमिठो अनुभव पनि छ लक्ष्मीसंग । संक्रमित भएका ठाउँमा दैनिक जाने हुँदा केही मानिसहरुले अलि फरक ब्यवहार गरेको लक्ष्मी सुनाउँनु हुन्छ । लक्ष्मीले भन्नु भयो,‘धेरैले त कुरा बुझ्नु भएको छ तर केहीले भने अलि परपर गर्नु हुन्छ ।’ लक्ष्मीका अनुसार मेचीनगर ११ का वडा अध्यक्ष सन्तोसकुमार मेचेले लक्ष्मीलाई निरन्तर हौसला बढाउनु हुन्छ । वडा अध्यक्षले धेरै सहयोग गर्नु भएको लक्ष्मीले बताउनु भयो ।
आइशोलेशन सेन्टरका ब्यक्तिलाई खाना खुवाउन कसैले नमानेका बेला लक्ष्मीले खाना पकाएर खुवाउनु भएको मेचीनगर ११ का वडा अध्यक्ष मेचेले बताउनु भयो । वडा अध्यक्ष मेचेले भन्नु भयो,‘लक्ष्मी बहिनीले सारै राम्रो काम गर्नु भएको छ । वहाँको सहयोग बिना हामीले आइशोलेशन सेन्टर चलाउनै अप्ठ्यारो पर्छ ।’ मेचेका अनुसार दुई महिनादेखि खाना पकाएर आइशोलेशन सेन्टरमा पुर्याउनु भएकी लक्ष्मीलाई भने अहिलेसम्म नगरपालिकाका तर्फबाट रकम भुक्तानी गरेको छैन ।
लक्ष्मीले संक्रमितहरुलाई खाना खुवाएर पुराण लगाए भन्दा धेरै पुण्यको काम गर्नु भएको क्वारेन्टाईन तथा आइशोलेशनको ब्यवस्थापन गरिरहनु भएका मेचीनगर सामाजिक विकास समितिका संयोजक नबिन बरालले बताउनु भयो । वहाँले भन्नु भयो,‘लक्ष्मी बहिनीले जुन काम गरिरहनु भएको छ त्यो कुनै पुराण लगाउनु र तीर्थब्रत गर्नु भन्दा कम छैन ।’
लाग्ने खर्च नगरपालिकाले ब्यहोर्ने र स्थानीय ब्यवस्थापन वडा कार्यालयले हेर्ने गरी आइशोलेशन सेन्टर सञ्चालन भइरहेको छ ।