चन्द्रगढी, असार ९ । मेचीनगरको मेची अभियानले कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) झापालाई करीब २८ लाख रुपैया मुल्यको १२ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । विपत्तीमा परेकालाई सहयोग गर्ने उद्देश्यले २०७२ सालमा जन्मिएको मेची अभियानले गैरआवासिय नेपाली संघले उपलब्ध गराएको अक्सिजन कन्सन्ट्रेटर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेको अभियानका संयोजक बिजय डालमियाले बताउनु भयो ।
आज बिहान जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनालाई अभियानका संयोजक डालमियाले १२ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्नु भएको थियो ।
प्रति गोटा करीब २ लाख ३० हजार मुल्य पर्ने कन्सन्ट्रेटर गैर आवासिय नेपाली संघ मार्फत मेची अभियानलाई २० वटा उपलब्ध गराएको र झापा सहित इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा समेत बितरण गरिने संयोजक डालमियाले बताउनु भयो ।
डिसिसिएमसी मार्फत झापाका १२ वटा पालिकालाई एक एक वटाका दरले अक्सिजन कन्सन्ट्रेटर बितरण गरिने प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताउनु भयो । कोरोना महामारी सहित दीर्घ कालिन रुपमा काम लाग्ने महत्वपूण स्वास्थ्य सामग्री उपलब्ध गराएको भन्दै प्रजिअ तिमिल्सिनाले मेची अभियानलाई आभार समेत प्रकट गर्नु भएको थियो ।
यस अघि पनि करुणा फाउण्डेशनको सहकार्यमा उपलब्ध भएको ५ वटा अक्सिजन कन्सन्ट्रेटर मेची अभियानले बुद्धशान्ति र मेचीनगरका ३ वटा स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराएको थियो ।
अभियानले उपलब्ध गराएको अक्सिजन कन्सन्ट्रेटर सहित अन्य स्वास्थ्य सामग्रीका बारेमा अभियानका सचिवालय संयोजक पुष्पराज पौडेलले जानकारी गराउनु भएको थियो । कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी झापाका अध्यक्ष लोकराज ढकाल, झापाका प्रहरी प्रमुख सानुराम भट्टराई, शसस्त्र प्रहरीका एसपी रमेश पाण्डे, अभियानका सदस्यहरु प्रकाश भण्डारी, ओमप्रकाश खापुङ र सविना बजगाइको समेत उपस्थिति रहेको थियो ।