झापा, भदौ २० ।
देशभर पछिल्लो २४ घण्टामा १५६६ जना संक्रमण मुक्त भएर घर फर्केका छन । आज सहित हालसम्म संक्रमण मुक्त भएर घर फर्कनेको संख्या २७१२७ पुगेको छ । यो कुल संक्रमितको ६० प्रतिशत हो ।
आज देशभर १०४१ कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको १२४७३ वटा पिसीआर परीक्षणमा १०४१ जनामा कोरोना पुष्टि भएको छ । योसंगै नेपालमा कुल संक्रमितको संख्या ४५२७७ पुगेको छ ।
झापामा आज ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका कोभिड सम्र्पक ब्यक्ति जीवन चौलागाईंले दिनु भएको जानकारीमा झापामा समुदायस्तरका ५ जनामा संक्रमण पुष्टि भएको हो ।
झापामा आजका संक्रमितहरुमा दमक वडा नं २ र ८ का १ महिला र २ पुरुष, बिर्तामोड नगरपालिका वडा नं ८ का १ पुरुष र शिवसताक्षी नगरपालिका वडा नं २ का १ पुरुष रहनु भएको छ ।
झापाका कुल संक्रमित ६४२ रहँदा डिस्चार्ज हुनेको संख्या ४८१ छ भने जिल्लामा सक्रिय संक्रमितको संख्या १६१ रहेको स्वास्थ्य कार्यालय श्रोतले जनाएको छ ।
त्यस्तै प्रदेश नं १ मा आज झापाका ५ सहित मोरङ ३५, सुनसरी २०, इलाम १, उदयपुर ३, ओखलढुंगा २ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको रुपमा आइसोलेशनमा रहनेको संख्या १७८७० रहँदा संस्थागत आइसोलेशनमा ९८६६ रहेको छ भने होम आइसोलेशनमा रहनेको संख्या ८००४ रहेको छ । त्यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ६५६१ रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाका संक्रमित मध्ये १६७ जना आइसियूमा रहेर उपचार गराई रहेको छन् भने भेन्टिलेटरमा रहेर उपचार गराउने बिरामीहरुको संख्या २४ रहेको छ ।
आज ९ जनाको मृत्यु
कोरोना संक्रमणका कारण आज थप ९ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २८० पुगेको छ ।
आज मृत्यु हुनेमा मोरङकी ४३ बर्षीय एक महिला सहित ३ महिला र ६ पुरुषको कोरोनाको संक्रमणका कारण ज्यान गएको मन्त्रालयले पुष्टि गरेको छ ।