भुपेन्द्र दाहाल / मेचीनगर ।
मृगौला प्रत्यारोपण गराएर भारतको दिल्लीस्थीत अस्पतालमा रहनु भएका झापा मेचीनगर ३ निवासी भुपेन्द्र दाहालले आफुलाई लागेको मृगौला रोग र त्यसको उपचारका बारेमा लेख्नु भएको सामग्री भाग १ प्रस्तुत गरिएको छ । |
२०७७ साल जेठ ८ वा ९ गते कोभिड काल अनि सारा लकडाउनका बेला अफिसमा काम गरिरहेका थियौं । एक्कासि शरीर भरि पसिना आयो, चक्कर चल्न थाल्यो । त्यसपछि अफिसको चिया पकाउने कोठामा फ्रेस हुनका लागि गइयो । कागती पानीमा केही नुन घोलेर पिइयो, २ ४ पिस बिस्कुट खाइयो र केही बेर आराम गरेपछि फ्रेस नि भइयो । अर्कोदिन पि एच सि गएर ओम साई पाथीभरा हस्पिटलका लागि स्वास्थ्य बिमाबाट रेफर लेटर बनाउन गइयो । आइतबार ११ गते रेफर लेटर लिइयो । १२ गते सोमबार रेफर लेटर सहित घरबाटै मोटरसाइकलमा श्रीमती इन्दिरालाई लिएर भद्रपुरमा रहेको त्यही हस्पिटल गइयो । त्यहीँ खेमराज दाई र खगिन्द्रा भाउजुसँग हस्पिटल गइयो ।
रगत र अन्य जाँच गराइयो क्रिटानिन ६.४ पुगेछ । मेरो मृगौलामा समस्या आएको थाहा भयो । मलाई त्यहीँ भर्ना गरियो र थप परिक्षणका लागि त्यहाँबाट एम्बुलेन्समा सिधै बिराटनगर स्थित नोवेल हस्पिटलतिर लागियो । मृगौला रोग बिशेषज्ञ डाक्टर शैलेन्द्र श्रेष्ठ मार्फत सबै प्रकारका टेष्टहरु गराइयो । सकेसम्म छिटो किड्नी प्रत्यारोपण गर्नुपर्ने सल्लाह पाइयो । केही दिन बसेर घर फर्कियौं थप उपचारको योजना बनाउँन । यी दुबै हस्पिटलमा नेपाल सरकारको स्वास्थ्य बिमा कार्ड प्रयोग गरियो । आर्थिक रुपमा राहत मिल्यो । धन्यवाद नेपाल सरकार स्वास्थ्य बिमाको व्यवस्थाको लागि ।
बिराटनगर हस्पिटलमा डिस्चार्ज हुन अबेर भएकोले बेलुका घर आइपुग्दा राति १० बजिसकेको थियो । भोलिपल्ट बिहानैदेखि साथीहरू, इष्टमित्र, छिमेकीहरु लगायत हाम्रो घरमा कहिल्यै आइनपुगेका मानिसहरु मलाई हेर्न आउन थाले । अर्थात घरमा भिड हुन थाल्यो । कसैले सान्त्वना दिन्थे, कसैले विभिन्न नकारात्मक कुराहरु सुनाउँथे । माहोल बुझ्दा लाग्थ्यो सबैजना मेरो अवस्था नाजुक भएको अनुमान गरिरहेका थिए । अझ भनौ अन्तिम अवस्थाको नजिक । रोग त छदैछ अझ आत्मबल गिर्न सक्ने डर पलाउन थाल्यो । आफूलाई सम्हाल्ने प्रयास गरिरहेँ । सकेसम्म छिटो गाउँ छोडेर थप उपचारका लागि काठमाडौं जाने योजना बनाउन थालेँ । लकडाउनको समय, सबै बजार,गाडी, प्लेन ठप्प । जताततै समस्यै समस्या ।
घरमा बसेको २ दिनसम्ममा धेरै थरीका मानिस र तिनका आ ( आफ्नै तर्क कुतर्क, सकरात्मक नकारात्मक कुराहरु तनाव बढाइ रह्यो । एकातिर रोग अर्कोतिर तिनका कुराहरु । कसैले इन्दिरालाई तिम्रो हेलचेक्र्याइ भने कतिपयले मलाई हेलचेक्र्याइ गरिस भने । कतिसम्म सहनुपर्यो भने अब तँ जान्छस इन्दिरालाई सम्हाल्छौं भन्ने भावसम्मका कुराहरु ल्याइरहे । आफूलाई रोगी हुन कोही कसैले हेलचेक्र्याइ गर्छ र ? तर आफू कमजोर भएको बेलामै त अरुले नि प्रहार गर्ने । इन्दिरा धेरै पिडा बोध गर्थिन, सुनाउँथिन र पनि धैर्य गरेर काठमाडौं लाग्यौं । खेमराज दाइ, इन्दिरा र म ।
लकडाउनले गर्दा बाटोमा खानेकुरा नपाइने भएकोले घरबाटै लगेको रोटी, जाउली, पानी र सप्तरीमा किनेको आँप खाँदै रातको १ बजेतिर काभ्रे पुगियो । मुना सोल्टीनी दम्पतीले बनाउनु भएको खाना खाएर त्यहीँ सुत्यौं । बिहान ९ बजेतिर महाराजगन्जस्थित टिचिङ हस्पिटल पुगेर इमर्जेन्सीमा दर्ता भइयो । त्यहाँ स्वास्थ्य बिमाले काम नगर्दो रहेछ । रगत, पिसाब लगायतको परीक्षण गरेर रिपोर्ट हेरेर सामान्य दबाइ दिएर डिस्चार्ज गर्नै पो आँटे । लकडाउन र कोरोना कहरका कारणले अपरेसन लगायतका सेवा बन्द थिए। फिस्टुला बनाउँदै गर्ने र आवश्यक परेपछि डाइलासिस गराउने सल्लाह पनि दिए । तत्काल डाक्टर अनुप उप्रेतीलाई फोन गरेपछि एकजना मृगौलाका डाक्टर आउनु भयो । हामीलाई हस्पिटल भर्ना गरेर थप परीक्षण र उपचार गर्न अनुरोध गरेपछि वहाँले अरु चेकअप गरेर हेरौंउन कतै अन्य कारण पनि हुन सक्छ र दवाइले ठिक हुन सक्छ कि ? भनेर झिनो आशा सहित बेडमा पठाउनु भयो । केही दिन बेडमा बसेर परीक्षण गराइयो । स्लाइन, दवाइ सिरिन्ज लगायत कारण हात सुन्निएर थप सिरिन्ज दिने ठाउँ नै बाँकी रहेन । खुट्टाको सबै नसा छेडिसकियो । अझ कतिपय स्वास्थ्यकर्मीले रगतको नमुना निकाल्न सही तरिकाले नजानेर ३/४ पटकसम्म घोचिरहन्थे, भएन भन्दा गाली गरिहाल्थे । अन्त्यमा जुनसुकै रिपोर्टले पनि अन्य कारण देखाउन सकेन अर्थात मलाई CKD [क्रोनि किड्नी डिजिज] नै भएको पुष्टि हुँदै थियो । अबको विकल्प भनेकै केही समयपछि डाइलासिस वा मृगौला प्रत्यारोपण गर्नुपर्ने , पिसाब भने आइरहेको थियो । त्यसपछि मृगौलाका बायोस्पीका लागि सिफारिस गरियो ।
सबै टेष्ट सकेर मृगौलाको बायोस्पी अपरेसन त गरियो तर अपरेसन गरेको मृगौलाबाट रगत रोकिएन र पिसाब थैलीमा जम्यो पिसाब थैली फूट्ला जस्तो गरि बढीरह्यो । २०० सम्म पुग्ने ब्लड प्रेसर घटेर ६० भन्दा तल आइसक्यो । म अब सहन नसक्ने अवस्थामा पुगिसकेको थिँए । हस्पिटलमा डाक्टरलाई गुहार माग्दै चिच्याइरहे । तत्काल अपरेसन रुममा लगियो । तत्काल अल्ट्रासाउन्ड , एन्जिओग्राफी गरियो र मलाई बेहोस हुने सुइ लगाइयो । सबैलाई डर पलायो, दाजु र श्रीमतीको अब होस हवास उडिसकेको थियो । तत्काल ४/५ पिन्ट रगत खोज्न लगाइएको रहेछ । लकडाउनले गर्दा सबै रक्तसञ्चार केन्द्रमा रगत अभाव थियोे । धन्न सनराइज बैंकमा काम गर्ने सालो राजु पोखरेलले डोनर साथीहरू भेला गराए, बचिएछ । हस्पिटलमा ठुलै हल्ला भएछ, मृगौला तथा अपरेसनका धेरै डाक्टरहरु भेला भएर जमेको रगत निकालेछन्। बेलुकी ७ बजेतिर होस खुल्यो , अगाडि कमल भट्टराई सानोबुबालाई पाँए ।
राति एम आइ सियुमा भर्ना गरियो । कोही चिच्याइरहेका, कोही खोकीरहेका, कसैलाई ज्वरो आइरहेको कोही त्यहीँ बेडमा फोहोर गरिरहेका बिरामी थिए । एउटा पातलो गाउन, सबै झ्यालढोका बन्द, चिसो एसि,कहिल्यै ननिबाउने ४/५ वटा उज्यालो बत्ती , निदाउन सकिएन । भोली पर्सिदेखि ज्वरो आउन थाल्यो , निमोनिया हुन लागेछ । हात खुट्टा सबैतिर छेडेकाले छुन समेत नहुने गरि सुन्निएका थिए। ज्यादा दुख भयो । टेष्ट कम गर भन्दा डाक्टरले गाली गर्थे, तँ डाक्टर होस भन्दै थर्काउथे । अब शरीरमा समस्या बढीरहेको थियो , कम भएन । दाजु र श्रीमती भेट्न आउँदा तत्काल अरुनै रुम वा क्याबिनमा सिफ्ट गर्न बारम्बार अनुरोध गरिरहे । लाग्थ्यो केहिदिन त्यहा बसे बाच्न सक्दिन । प्राय धेरै बिरामी अन्तिम भएर निकाल्दै थिए । सिफ्ट गर्न नमाने पछि आफुले चिनेको डाक्टर अनुपलाई अनुरोध गर्न लगाएर क्याबिन सिफ्ट हुने भइयो । पिसाब थैली केही जमेको रगतका कारण पिसाब निस्कन छाड्यो। मैले समस्या बताएर फुलिस निकाल्न अनुरोध गरें । तर गरिदिएनन, अलि अघिसम्म अहिले डाइलासिस तत्काल गर्नु पर्दैन भन्ने डाक्टरले डाइलासिस सिफारिस गरे । डाइलासिस सकेर क्याविन गइयो, त्यहाँ पुगेपछि मात्रै अब नमरिने भैयो भन्ने अनुभुती भयो । मलाई CKD नै हो भन्ने भएपछि फिस्टुला बनाउँन गइयो । त्यहाँ नि धेरै दिन कुर्नुपर्ने कुरा आएपछि अनुपलाई भनेर खाली समयमा फिस्टुला भोलिपल्टै बनाइयो । डाइलासिस पूरा गरेर डाक्टरलाई अनुरोध गरेपछि बल्ल डिस्चार्ज भएर घर फर्कियौं ।
बाँकी दोस्रो भागमा......................................