मेचीनगर, असार ७ । कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय झापाले लगाएको निषेधाज्ञा भोलिदेखि थप खुकुलो हुने भएको छ । कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) झापाको आज बसेको बैठकले जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै असार १४ गतेसम्मका लागि बढाएको छ ।
जिल्लाको कोरोना संक्रमण घट्दो क्रममा रहेको तर जोखिम कायमै रहेकाले केही खुकुलो पार्दै निषेधाज्ञालाई निरन्तरता दिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
झापामा भेलिदेखि सबै खाले पसल, ब्यवशाय बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन गर्न पाइने भएको हो ।
खाद्यान्न, फलफुल, माछामासु, डेरी, हार्डवेयर तथा निर्माणजन्य सामग्री पसल, पुस्तक पसल बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म खुल्ला गर्न पाइने भएको छ ।
त्यस्तै इलेक्ट्रोनिक, टेलरिगं, ड्राइक्लिनर्स, लत्ता कपडा, जुत्ता जप्पल, सुनचाँदी, कस्मेटिक, भाँडा पसल, गाडी/मोटरसाइकल सोरुम, प्लाष्टिक तथा मेसिनरी पसल पनि बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म खुल्ला गर्ने निर्णय भएको छ ।
बैंक तथा बित्तिय संस्थाहरु असार ८ गतेदेखि साता भरि नै खुला गर्ने निर्णय भएको छ भने होटल तथा रेष्टुरेन्टले टेक अवे सेवा मात्रै सञ्चालन गर्न पाउने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।