यतिबेला आम मानिसले सोच्ने पहिलो कुरा भनेको नै आफ्नो र परिवारको स्वास्थ्यको कुरा नै हो । मानिसहरु आफ्नो स्वास्थ्यप्रति धेरै नै सचेत हुँदै गइराखेको अवस्था देखिन्छ । साथै गाँस, बास र कपास अनिवार्य आवश्यकता भने झैं खाद्य सुरक्षा, पोषण सुरक्षा, सन्तुलित आहार आजको आवश्यकता बनिसक्दा पनि हामी हाम्रो उत्पादनलाई कसरी स्वास्थ्यकर बनाउने भन्ने बिषयमा भने गहिरिएर बुझ्न खोजेको जस्तो अवस्था भने देखिदैंन ।
आज हरेक मानिस स्वास्थ र निरोगी बन्न खोजिरहेको छ । हाम्रो मात्रै होईन विश्वभरिका मानिसको स्वास्थ्यको पहिलो आधार भनेको उसले दैनिक उपभोग गर्ने खाद्य बस्तु नै हो ।
एकातर्फ मानिस स्वस्थ हुन चाहन्छ तर अर्को तर्फ खाद्य बस्तु कसरी उत्पादन भइरहेको छ भन्ने हेक्का राख्दैन । हामीले दैनिक उपभोग गर्ने खानेकुराको उत्पादन नै अस्वस्थ्य छ भने त्यसबाट हामी स्वस्थ हुने कुरा कसरी सभ्भव छ र । त्यसैले आफु र आफ्नो परिवारलाई स्वस्थ राख्न हाम्रो खाद्य सामग्रीको उत्पादन पनि स्वस्थ हुनु पर्छ ।
यतिबेला हाम्रो देशको पहिलो समाचार बनेको छ ‘युरीया मलको अभाव’ । अनि सरकार अर्को देशसंग पैंचो मागेरै भए पनि युरीया मल भित्र्याउने ध्याउन्नमा लागेको छ । हाम्रो देश युरिया मलमा मात्र अल्झिरहेको आभाष भैरहेको देख्दा, सुन्दा म पनि एक जैविक, बैद्धिक पद्धत्तीबाट पनि मलको अभाव टार्न सम्भव छ भनेर लडिरहेको एक अभियान्ता भएको हिसावले आज मलाई यस्ता समाचारले उठाएका केही बिषयमा नलेखि बस्न सकिन ।
मल भन्नाले रासायनिक र प्राङगारीक दुवैलाई बुझाउछ । तर आज पनि हामी मल भन्ना साथ रसायनिक मात्र बुझ्ने गरेका छौं । तर, प्राङगारीक पनि मल हो भनेर किन बुझिदैन ? यसको अभ्यास नभएर ? नजानेर ? की प्राङगारीक भन्ने मल प्रमाणित नभएर ?
यस्ता धेरै प्रश्नहरु मेरो मानस पटलमा आइरहदा, व्यवहारिकता हेर्दै जादा, गाँउगाँउको पुरानो खेति प्रणाली बुझ्दै जादा किन यति धेरै फरक रसायनिक मल र प्राङगारीक मलमा कुरो सारै गहिरो रहेछ । हामी जस्ता किसानले त बुझन पनि गाह्रो, बुझाउन पनि अफठ्यारो । व्यवहारमा उतार्न त झनै गाह्रो रहेछ भन्दा अतियुक्ति नहोला ।
नेपालमा मलको इतिहास त्यति पुरानो देखिदैन । नेपालमा सन १९५० को दशकमा भारतबाट रसायनिक मल आयात गरी निजि क्षेत्र मार्फत सुरु गरेको इतिहास छ । यसमा पनि मल अनुदान त धेरै पछि १९७३/ ७४ तिर उत्पादन बढाउन होडबाजी चलिरहेको बखत मलको मूल्यबृद्धिको कारण अनुदानको व्यवस्था गरेको तथ्यले देखाउँछ ।
यी सबै हेर्दै जादा नेपालमा सन १९५० को दशक अगाडि अन्नबाली उत्पादन हुँदैन थियो त ? पक्कै पनि हुन्थ्यो । इतिहास हेर्दै जादा कुनै समयमा त हामी हाम्रो उत्पादनहरु निर्यात गर्थिऔं । सकेसम्म आयात गर्दैनौं थियौं । तर आज आइपुग्दा कृषि प्रदान देश भन्न छाडेका छैनौं तर हाम्रै देशमा उत्पादन गर्न सकिने खाद्य बस्तुहरु पनि आयात गर्दैछौं ।
के यो सबै युरिया मल नपुगेरै हो त ? खोइ हामीसँग अध्ययन अनुसन्धान र तिनले निकालेका तथ्याङ्क ? खोइ हामीसँग अरु उत्पादन बढाउने नीति, नियम र कार्यान्वयनका पक्षहरु ? कति धेरै प्रश्न गर्ने ? खोइ हाम्रो बाजो खेतमा अन्न उत्पादन गर्ने इच्छा शक्ति र सामथ्र्य । सरकारको नीतिनियम र योजना के ? अनि पनि भन्ने रसायनिक मलको कमी भएका कारणले उत्पादनमा ह्रास आएको भनेर ?
आज सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा किसान दाजुभाई दिदीबहिनीहरु बोरा बोकेर लाइन लागेर सडकमा उत्रिएको देखिदैंछ । यस्तो महामारीको बीच न रोगले मर्छु भन्ने डर छ न त रोग लिएर घरसम्म पुग्छु भन्ने चिन्ता नै छ । आज किसानहरुको एउटै लक्ष्य छ, युरीया मल ।
रसायनिक मल नपाएका कारण भोली आफु र परिवार भोकभोकै मर्छन भन्नै त्रासमा आजको कोभिड–१९ को डर त्रासलाई एकापट्टि पन्छाएर सडकमा रसायनिक मलको आशा र भरोसामा तड्पिएका छन् नेपाली किसानहरु ।
तर, म प्रश्न गर्न चाहान्छु ? यस्तो अवस्थामा पनि खोइ कतै सुनिदैन की हामी सयौं वर्ष देखि हाम्रा पुर्खाहरुले प्राङगारीक जैबीक खेति प्रणालीकै कारण उत्पादन गरेर आफुहरुले खाएर धान, गहुँ, दाल जस्ता बस्तुहरु निर्यात गर्दथ्यौं । यस्ता उत्पादनबाट कुनै रोगको डर त्रास थिएन ? कुनै अन्नबाली खाएर नयाँ रोग हुन्छ की भन्ने शंकाको ठाउँ थिएन । तर आज खाद्य बस्तु खादै गर्दा के असर गर्ने हो की ? के रोग लाग्छ की भनि डाराई डराई खानु पर्ने अवस्था छ । यो सबै हमी आफैंले निम्त्याएको डर त्रास हो ।
यो बेला सरकारलाई राम्रो मौका थियो कि देश अर्गानिक उत्पादनमय बनाउने तर सरकारले त्यस तर्फ आफ्नो ध्यान केन्द्रीत नै गरेन । आज विश्व अर्गानिक उत्पादनमा रुपान्तरित भइरहेका बेला नेपाल जो आफैं प्राकृतिक रुपमा जैविक देश हो । यस्तो बेलामा पनि हाम्रो सामथ्र्य जैविक पद्धत्ति हो भनेर घोषणा गर्न सकिरहेका छैनौं । आखिर किन ? के ले रोकेको छ हाम्रो जैविक शक्तिलाई उत्पादनमा रुपान्तरण गर्न ।
किन आज पनि रसायनिक मल भएन भने संसार नै सकिन्छ भन्ने ढंगबाट बुझाइदैंछ वा बुझिदैं छ । बार्षिक रुपमा अरबौं रुपैया रसायनिक मल र बिषाधी किन्न कै लागि खर्च भइरहेको छ । त्यसबाट उत्पादन भएका खाद्य बस्तु खाँदा दैनिक सयौंको संख्यामा नेपालीहरु बिभिन्न प्राण घातक रोगको सिकार भइरहेका छन । तर अझै पनि हामी हाम्रो अर्गानिक शक्तिलाई चिन्न सकिरहेका छैनौ, आखिर किन ?
यस्तो अवस्थामा पनि किसान दाजुभाई दिदीबहिनीहरुलाई गाईबस्तु पाल्नुहोस तपाईको खेतबारीको झारपात, बस्तुको मलमा मिसाएर आफैं मल बनाउन सकिन्छ भन्न राज्यलाई के अप्ठ्यारो परेको छ ? अर्गानिक उत्पादनका लागि आवश्यक अर्गानिक मल र बिरुवाका लागि औषधी बनाउन खोइ प्रशिक्षण । आज परम्परागत मल प्रणाली बिर्सिएको अवस्था छ । अर्गानिक उत्पादन बढाएर पुरै देश स्वास्थकर बनाउन खै सरकारको कार्यक्रम ? मल आयात गर्न अनुदान दिने पैसा, दिगो विकासका लागि आत्मनिर्भरताको लागि खर्च गरीयोस ।
अर्गानिक मल बनाउने उद्योगका लागि निस्वार्थ सहयोग गरीयोस । मलको मूल्य सरकारले तोकीदियोस । यस्ता उद्योगीलाई सरकारले कम मूल्यमा उत्पादन गर्न सक्ने सिप तालिम र प्रविधि प्रदान गरोस ।
यसमा सबैलाई फाइदै फाइदा छ । किसानसँग दुध,दहि घ्यू छ । उ स्वस्थ्य छ । खेतिकिसान गर्न उसँग प्रसस्त मल छ । उ निरोगी छ । मल उत्पादन स्वदेशमानै हुन अत्यान्त जरुरी छ । सातवटै प्रदेशमा १/१ वटा अर्गानिक मल कारखाना राखेर नमुना कारखाना भनेर कृषि प्रदान देशले किन काम नगर्ने ? फोहोर मैलाको व्यावस्थापनसँगै मल किन नबनाउँने ? प्लाष्टिक र खाद्य बस्तुलाई घर घरमा छुट्टा छुटै किन राख्न नलगाउँने ? त्यो प्रत्येक घरको मल प्रत्येक प्रदेशको नमुना कारखानामा किन मल बनाउन नलगाउने ? केहि नयाँ केहि फरक किसिमले व्यवस्था मिलाउनु आजको प्रविधिको माग हो । आजका किसानहरुको माग हो ।
अन्त्यमा, सरकारले युरीया मल पैचो माग्ने होइन । जैबिक उत्पादनमा जानको लागि किसानहरुको दिगो विकासकालागि आत्मनिर्भर बनाउन आवश्यक निति र योजना ल्याउन जरुरी छ । त्यसैले अब युरीया मलको बिकल्पमा अर्गानिक मल उत्पादनमा लागौं ।
लेखक : महिला उद्यमी तथा अर्गानिक एशोसिएशन नेपालका महासचिव हुनुहुन्छ ।