धुलाबारी, असार ५ । झापा क्षेत्र नं. १ अन्तर्गतको धुलाबारी–स्याङल्याङटार सडक निर्माणको बिषयलाई लिएर यति बेला संघीय सांसद र प्रदेश सांसद बिच जस लिने कुरामा तछाडा मछाड भएको देखिन्छ । पछिल्ला केही दिनदेखि एमाले र माओबादी कार्यकर्ताहरु बिच आ आफ्ना नेताले उक्त सडक बनाउन पहल गरेको भनेर सामाजिक सञ्जालमा भनाभन गर्न थालेको देखिन्छ ।
माओबादी केन्द्रका नेता तथा झापा क्षेत्र नं. १ का संघिय सांसद राम कार्की र प्रदेश सांसदहरु गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले उक्त सडकको अलग अलग अवलोकन गरेको र डिपिआर हुँदै गरेको फोटो सामाजिक सञ्जालमा चर्चामा छ । सडक अवलोकनको फोटो सहित सामाजिक सञ्चालमा पोष्ट गरेर माओबादी र एमालेका कार्यकर्ताहरुले उक्त सडक निर्माणको जस लिन खोजेको देखिन्छ ।
झापा क्षेत्र नं. १ का स्थानीयका लागि धुलाबारी–स्याङल्याङटार सडक दीर्घकालिन महत्वको सडक भएका कारणले पनि यो सडकका बारेमा राजनितिक दलहरु जस लिन खोजिरहेका देखिन्छन ।
पुर्वपश्चिम राजमार्गको धुलाबारी चोक पुर्व राधास्वामी भवन अगाडीबाट शुरु हुने यो सडक बुद्धशान्ति वडा नं. ५ को केही भाग हुँदै इलामको रोङ गाउँपालिकाको सिमाना जोडिएको मेचीनगर ३ स्थीत स्याङल्याङटारसम्म पुग्छ । करीब १५ किलोमिटर सडकमध्ये यस अघि नै धुलाबारीदेखि टिमाई पुलसम्मको सडक कालोपत्रे भइसकेको छ । टिमाइ पुलबाट स्याङल्याङटारसम्मको करीब १० किलोमिटर सडक निर्माणको चरणमा छ ।
अब बन्ने १० किलोमिटर सडक केन्द्र सरकारले सिधै योजना माग गरेर डिपिआरको चरणमा प्रवेश गरेको प्रदेश सांसद गोपाल बुढाथोकीको दाबी छ । ‘यो सडक २०७० को दोस्रो संविधान सभाको निर्वाचन पछि देखि नै एमालेले प्राथमिकतामा रोखर निर्माण शुरु गरिएको हो’ बुढाथोकीले भन्नुभयो,‘तर बिचमा योजना नै रोकियो र अहिले फेरी नयाँ ढंगबाट निर्माणको प्रक्रियाका लागि १२ करोड रकम बिनियोजन भएको छ ।’ धुलाबारी–स्याङल्याङटार सडक बिगतदेखि नै एमालेको प्राथमिकतामा परेकोले त्यसैको निरन्तरता भएको अर्का प्रदेश सांसद श्रीप्रसाद मैनालीको भनाई छ ।
धुलाबारी–स्याङल्याङटार सडक संघीय सरकारले बजेट मार्फत निर्माण शुरु भएको रणनितिक सडक हो । त्यसका लागि सघिय सांसद राम कार्कीले २०७६ कार्तिक २३ गते नै सडक डिभिजन कार्यालयलाई पत्राचार गरेको देखिन्छ । निर्वाचन क्षेत्र अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदको छनौटमा एउटा रणनितिक सडक निर्माण गर्ने नितिगत निर्णय अनुसार नै आफुले छनौट गरेको सडकका रुपमा धुलाबारी–स्याङल्याङटार सडक निर्माणको चरणमा रहेको संघिय सांसद राम कार्कीले बताउनु भयो । ‘भन्नलाई जे जे भने पछि हुन्छ’ सांसद कार्कीले सेतोपत्रसंग कुरागर्दै भन्नुभयो, ‘प्रत्यक्ष निर्वाचित सांसदले एउटा रणनितिक सडक छनौट गर्नु पर्नेमा मैले यही सडक छनौट गरेर सिफारिस गरेको हुँ ।’
‘सडक बन्ने भए पछि अरुले जस लिन खोज्नु भएको होला तर वास्तविकतामा यो सडक मैले छनौट गरेर पठाएको योजना हो’ सांसद कार्कीले भन्नुभयो, ‘भन्नलाई त भारतको पानीटेंकी देखि काकरभिट्टा जोडिएको एडिबिले बनाएको एसियन हाइवे पनि हाम्रा नेताले नै बनाएको हो भन्न पनि सकिन्छ तर त्यो सत्य हुँदैन ।’ सांसद कार्कीका अनुसार डिपिआरको काम शुरु भएको र लागत स्टमेट तयारी भए पछि सम्पूर्ण रकम केन्द्रीय योजना अनुसार बजेट निकासा हुन्छ । काम शुरु गर्नका लागि अहिले १२ करोड रकम बिनियोजन भएको र दुई बर्षमा सडकको निर्माण सम्पन्न गर्ने तयारी रहेको कार्कीले जानकारी दिनु भयो ।