काठमाण्डौ, असार ५ । नुवाकोटका केदार ढकाललाई कोरोना सङ्क्रमण भएर निको भएको झण्डै एक महिना हुन लाग्यो । नतिजा नेगेटिभ आए पनि अहिलेसम्म उहाँलाई टाउको दुख्ने, हातखुट्टा गल्ने, धेरै थकान महसुस हुने गरेको छ । २४ वर्षका राजिब भण्डारीलाई पनि कोरोना निको भएको महिना दिन वढी भयो । अहिले पनि कोरोना सङ्क्रमणका बेला देखिएका केही लक्षण अझै देखा परिरहेको छ । अहिले उहाँले डाक्टरको सल्लाह अनुसार उपचार गराईरहनु भएको छ ।
कोरोना सङ्क्रमण भई पिसिआर नतिजा नेगेटिभ आइसकेपछि पनि पुनः लक्षणहरु देखिनुलाई ‘पोस्ट कोभिड–१९ सिन्ड्रोम’ भनिन्छ । कोरोनामुक्त भएका जुनसुकै व्यक्तिमा पोस्ट कोभिड देखा पर्नसक्ने डाक्टरहरु वताउछन् । पोष्ट कोभिडका बिरामीहरूमा आन्द्रा, मृगौला, फोक्सो र मुटुलाई क्षति पुग्न सक्छ । उनीहरुमा उदासीपना, टाउको दुख्ने, धेरै थकान महसुस हुने, मांसपेशी कमजोर हुने, जोर्नी दुख्ने, शरीर तातो महसुस हुने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिन सक्छ । छाती दुख्ने, मुटुको चाल बढ्ने, पेटसम्बन्धी समस्या, ग्यास्ट्रिक, पखाला लाग्न सक्ने, खोकी लाग्ने जस्ता लक्षण देखा पर्न सक्ने सङ्क्रामक रोग विषेशज्ञ डाक्टर शेर बहादुर पुन बताउनुहुन्छ । उहाँका अनुसार सबैलाइ यस्तो नहुन पनि सक्छ । जसलाइ यस्तो समस्या हुन्छ, उनीहरुले नआत्तिकन डाक्टरहरुको सल्लाहमा औषधि सेवन गर्नुपर्छ भने कोरोना भएको समयमा जस्तै स्वास्थ्य साबधानी अपनाउनुपर्छ ।
पोस्ट कोभिड ६ महिनासम्म पनि देखिन सक्ने भएकाले सन्तुलित खानपान, हल्का शारीरिक अभ्यास र समस्या अनुसार आवश्यक औषधि सेवन गर्न सङ्क्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुबेदीको सल्लाह छ । कोभिड पछिका यस्ता समस्याले लामो समयसम्म शारीरिक र मानसिकरुपमा दुःख दिइरहन सक्ने भएकाले बेलैमा सचेत भइ उपचार गराउन डाक्टरहरु सुझाव दिन्छन् । पछिल्लो समय कोरोना सङ्क्रमितहरुको सङ्ख्यामा कमी देखिए पनि ‘पोस्ट कोभिड’ अर्थात कोभिड पछिको समस्या बढ्न थालेको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । सङ्क्रमित भएका व्यक्तिको कोरोना नभएको नतिजा आएको हप्तौं वा महिनौं सम्म स्वास्थ्यमा विभिन्न खालका समस्या देखिने गरेका छन् ।