झापा, आसर ४ । मेची अभियानले झापाका दुई वटा स्थानीय तहमा सञ्चालनमा रहेका ३ वटा स्वास्थ्य संस्थालाई ५ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । बुद्धशान्ति गाउँपालिकाको आइसोलेसन सेन्टरलाई दुई थान, मेचीनगरको आइसोलेसनलाई एक थान र मेचीनगरकै धुलाबारीस्थीत मेची आम्दा अस्पताललाई दुई थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो ।
मेची अभियानका संरक्षक विश्वप्रकाश शर्मा र अभियानका संयोजक बिजय डालमियाले सम्बन्धीत स्वास्थ्य संस्थामा नै पुगेर अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्नु भएको हो । एकपटकमा दुई जनालाई प्रति मिनेट १० लिटरसम्म अक्सिजन दिने मिल्ने उक्त एउटा कन्सन्ट्रेटरको मुल्य करीब २ लाख रुपैयाँ पर्ने अभियानका संयोजक डालमियाले जानकारी दिनु भयो । करुणा फाउन्डेसनको सहयोगमा अभियानले कन्सन्ट्रेटर उपलब्ध गराएको डालमियाले बताउनु भयो ।
नेपाली कांग्रेसका प्रवक्ता समेत रहनु भएका शर्माको पहलमा थप २५ वटा कन्सन्ट्रेटर केही दिनमा नै आउने र मेची अभियान मार्फत झापाका विभिन्न स्वास्थ्य संस्थाहरुलाई बितरण गरिने समेत अभियानले जनाएको छ । पहिलो चरणमा पाँचवटा आएको संयोजक डालमियाले बताउनु भयो ।
मेची आम्दा र धाइजनस्थीत आइसोलेशनमा मेचीनगर प्रमुख विमल आचार्य र बुद्धशान्तिमा गाउँपालिका अध्यक्ष रमेश भूजेललाई हस्तान्तरण गरिएको डालमियाले बताउनु भयो । मेची अभियानले जिल्लामा अहिले कोभिडसँगै ननकोभिडलाई सघाऔँ अभियान चलाएकोछ ।
सो अभियान अन्तरगत मेचीनगर नगरपालिकाका १५ वटै वडा, भद्रपुर, बुद्धशान्ति, खुदुबाबारी, झापा र गौरीगञ्जमा स्वयंसेवक समूह बनाएर मिर्गौला, उच्चरक्तचाप, मधुमेह र मुटु (केएचडिसी) रोगका बिरामीलाई सेवा दिइरहेको छ । बिरामीलाई जुममार्फत बिषेशज्ञ चिकित्सकसंग प्रत्यक्ष सम्पर्क गराएर टेलिमेडिसिन सेवा उपलब्ध गराइरहेको अभियानका सचिवालय संयोजक पुष्पराज पौडेलले बताउनु भयो ।