झापा, असार ३ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भौतिक र भर्चुअल दुबै पद्धतिको फ्युजन गरेर महाधिवेशन गर्ने तयारीमा पार्टी रहेको बताउनु भएको छ । कांग्रेस झापाले बिहीबार आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले वडादेखि जिल्लासम्मको भौतिक र प्रदेश तथा केन्द्रको अधिवेशन प्रविधीको प्रयोग गरेर गर्न सकिने बताउनु भयो । गृहजिल्ला झापामा रहनु भएका प्रवक्ता शर्माले काठमाडौँ फर्किएपछि यो विषयमा केन्द्रीय नेतासँग थप छलफल गरेर निष्कर्षमा पुगिने जानकारी दिनु भयो ।
जिल्लाका नेता कार्यकर्ताले समयमानै महाधिवेशन हुन नसक्ने चिन्ता जायर गरेपछि प्रवक्ता शर्माले आस्वस्त पार्दै भन्नुभयो, कांग्रेस संवैधानिक बाध्यताबाट पछि नहटी राजनीति जिम्मेवारी पूरा गर्नेमा दृढ छ,हरहालतमा पार्टीको महाधिवेशन हुन्छ । वहाँले पार्टीलाई आधुनिक बनाउन, प्रवृत्ति र प्रविधिगत रूपमा रुपान्तरण गर्न प्रविधिको प्रयोग गरेर महाधिवेशन गरिने बताउनु भयो । महाधिवेशन नहोला कि भन्ने चिन्ताबाट मुक्त देखिएका शर्माले प्रविधि मार्फत पार्टीको डेटा राख्ने कुरामा कांग्रेस अरु पार्टीभन्दा अब्बल र अगाडि रहेको दाबी समेत गर्नु भयो ।
केन्द्रमा क्रियाशील सदस्यको फायल थुपारेर कागजको थुप्रो लगाउने परम्पराको अन्त्य भएको जिकिर गरेका वहाँले अहिले अनलाइनबाटै क्रियाशील सदस्यता सम्बन्धि सबै काम भइरहेको समेत बताउनु भयो । क्रियाशील सदस्यता सम्बन्धि काम सुरुमा सम्भव होला कि भन्ने आशंका सबैमा थियोेू वहाँले भन्नुभयो,ू यसमा कुनै समस्या छैन, प्रविधि प्रयोग गरेर महाधिवेशन गर्न सक्ने साधन स्रोत कांग्रेससँग छ। पार्टीलाई परम्परागत रुपबाट परिमार्जित गर्न जरुरी रहेको शर्माले बताउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्ने हो रु भनेर गरेको टिप्पणीलाई ठाडो भाषाको संज्ञा दिए ।
गण्डकी प्रदेश सरकारले संसदीय विकास कोषको कार्यक्रमलाई निरन्तरता दिएकोप्रति असहमति जनाउँदै त्यसलाई सच्याउन पार्टीले पहल गर्ने बताउनु भयो । सरकार राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै माग्नेका रुपमा चित्रित भएको बताउनु भएका शर्माले पार्टीको नेतृत्वमा सरकारले बने किन्ने कुरामा ध्यान दिने बताउनु भयो । नेपाली कांग्रेस झापाका सभापति उद्वब थापाले विचार, व्यवहार, व्यवसाय, विकास र विपदमा कांग्रेस भन्ने अभियानबाट जिल्ला नेतृत्व अघि बढेको बताउनु भयो । वहाँले जिल्ला पार्टीको प्रचार विभागको सदस्यमा प्रवीण निरौलालाई मनोनयन गरिएको जानकारी समेत दिनु भयो । जिल्लामा उपलब्ध केन्द्रीय सदस्य, पूर्व सांसद, जिल्ला पदाधिकारी, भ्रातृसंघ संगठनका दुई दर्जन बढीले अन्तरक्रियामा आआफ्नो मत राखेका थिए ।