मेचीनगर, असार १ । झापा मेचीनगर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष सुवेशकुमार पनेरुले कोरोना बिरुद्धको खोप लगाउने दिन खोप केन्द्रमा आफुलाई तल्लोस्तरको गाली गलौच गरे पछि आफु आक्रोसित भएको बताउनु भएको छ ।
जेठ २७ गते धुलाबारी स्वास्थ्य केन्द्रमा खोप लगाउन भेला भएकामध्ये मेचीनगर ९ का कमल पौडेलले आफुलाई नभएको आरोप सहित गाली गलौच गरे पछि आफुले त्यसको जवाफ मात्रै दिएको वडा अध्यक्ष पनेरुले सेतोपत्रलाई बताउनु भयो ।
‘खोप थोरै थियो लगाउने मानिस धेरै भएका कारण ब्यवस्थापन गर्न कठिन भएको बेला म माथी अनावश्यक गाली गलौच भयो’ वडा अध्यक्ष पनेरुले सेतोपत्रसंग कुरागर्दै भन्नुभयो, ‘धेरै भन्दा धेरैलाई खोप लगाउने ब्यवस्थापनमा लागेको बेला मेचीनगर ९ का कमल पौडेलले मनपरी गाली गर्नु भयो ।’
सरकारले तोकेकै मापदण्ड भित्र रहेर खोप लगाइएको वडा अध्यक्ष पनेरुले दाबी गर्नु भयो । अघिल्लो पटक खोप फर्केर गएकाले यो पटक नगरमा आएको खोप फिर्ता नजाओस भनेर जेठ २६ गते दिउँसो साढे २ बजेसम्म ६२,६३ र ६४ बर्ष उमेर समुहका नागरिकलाई नै खोप लगाएको र त्यस पछि उक्त समुहका मानिस नआएकाले खोप केन्द्रमा उपस्थित भएका फ्रन्ट लाइनमा काम गर्नेहरुलाई खोप लगाइदिएको वडा अध्यक्ष पनेरुले स्पष्ट पार्नु भयो । ‘जेठ २५ र २६ गते खोप लगाउने निर्णय गरेको थियो’ वहाँले भन्नुभयो, ‘जेठ २७ गते खोप लगाउनु भन्ने निर्देशन थिएन त्यसैले खोप फिर्ता हुनु भन्दा मेचीनगरकै नागरिकलाई खोप लगाइदिएको हो ।’
यस पटक ‘खोप लगाउँदा केही कमजोरी भयो होला तर सरकारले तोकेकै मापदण्ड भित्र खोप लगाउने ब्यवस्था मिलाएका थियौं’ पनेरुले भन्नुभयो, ‘तर मलाई आफ्ना मान्छेलाई मात्रै खोप लगाइदियो भन्ने आरोप लगाएर नावश्यक गाली गरेकाले म केही आक्रोसित भएको हुँ ।’
खोप लगाउने बिषयमा आफुले कुनै विभेद नगरेको बताउँदै खोप केन्द्रमा भएको घट्ना प्रति आफु दुःखीत रहेको समेत वडा अध्यक्ष पनेरुले बताउनु भयो ।