नगरपालिका बन्न लाग्दा विकास र सुशासनको सपना देख्नेहरु आज पक्कै निरास भएका होलान । कहिले मकै काण्ड त कहिले ढुङ्गा काण्ड हुदै अव मेरो नगर नदिजन्य पदार्थको ठुलो मात्राको घोटालामा मुछिएको छ । वारम्वारका गलत हर्कतले समेत नअघाएकाहरुले आफुलाई रुपान्तरण गर्न सकेनन नै, नगरवासीहरुले अनेकन आशा बोकेर दिएका मतहरु समेत दुरुपयोग गरे । यतिसम्म कि अव आम मानिसका यि प्रश्नहरुले हामीलाई समेत दिक्क लाग्न थालेको छ । हिजो यिनैलाई त्यस पदमा विराजमान गराउन अनुरोध गरिएका कुनै मतदाताले यससंग सम्वन्धित प्रश्न सोध्ने हो भने निर्लज्ज हुदै मोडिनुको विकल्प छैन । आफ्नै आँखा अगाडीका अनेकन तमाशा हेर्दै चुप लागेर बस्ता समेत आम मानिसले शंका गर्न थालेका छन ।
मेचीनगर नगरपालिका भित्रका असावधानी पूर्वक गरिएको नदीजन्य पदार्थको दोहनको कुरा यति धेरै चर्चामा आयो र यससँगै यो चर्चा लामो समयसम्म चलिरहँदा समेत यसको वारेमा सत्यतथ्य नै आउन सकेन । सामाजिक संजाल देखि अनलाइनहरुमा आएको यो विषय अन्तमा नगरले नै पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राखे पनि त्यो आफैलाई समेत अलमल हुने खालको थियो ।
यो चर्चा विशेष रुपमा नदीजन्य पदार्थको असावधानीपूर्वक गरिएको दोहन र यसले नदी प्रणाली, पानीको चक्र, मानव जीवन र कृषिमा पार्ने प्रभावका वारेमा भन्दा पनि केही जनप्रतिनिधिले नक्कली विल छपाइ गरी राजश्व हिनामिना गरेको विषयमा वढी केन्द्रित देखिन्थ्यो । हिनामिना, अनियमितता जस्ता विषयहरु त हाम्रा जस्ता देशका लागि सामान्य नै रुपमा लिन थालिएको छ । खुलेआम स्वास्थ्य सामाग्रीमा गरिएको घोटाला, नगरकै पनि क्वारेन्टाइन ब्यवस्थापनमा अनियमितामा उठेका सवालहरु त हराएर नै गए । नागरिक वन्न नसकेका हामीहरुले यस्तो नियती कतिञ्जेल भोग्दै जानु पर्ने हो यकिन गर्ने अवस्था छैन ।
राजश्व हिनामिना गर्ने कार्य एक आर्थिक अपराध भएपनि यो आर्थिक अपराध कानुनत ठिक गर्न सकिएला । तर गलत कार्य गरी हुन पुगेको पर्यावरणीय क्षति भने पुस्तौ सम्मले भोग्नु पर्ने हुन्छ । केही वर्ष पहिला मेचीनगर क्षेत्रमा वर्षे धानको खेती प्रशस्त हुने गरेका खेतहरुमा यो समयमा सिंचाइ हुन छाडेको छ । खोलामा पानी सुकेको र धानको विउ समेत राख्न नसकेको दुख र पिडा ग्रामिण कृषि क्षेत्रमा देखिएको छ । रेमिट्यान्सले मोटाएको नेपाली समाजका कारण खाद्धान्न आयातले कृषि कर्म समेत भुलाएको छ । आफ्नै खेत वारीवाट मात्र जीविका चलाउनुपर्ने अवस्था भएको भए पर्यावरणीय अपराध गर्नेहरु आज यि आम मानिसका निसानामा पर्ने थिए होलान ।
इनारहरु वर्षेनी सुक्ने क्रम जारी छ । मेचीनगर ४ रामजानकी टोलमा मात्र २० भन्दा वढी इनार सुकेको टोलवासी मधुसुधन आचार्य वताउँछन । बीस वर्ष सम्म नसुकेको इनार अहिले सुकेर उनले फेरी अर्को इनार खनेका छन । त्यो पनि सुक्ने होकी भन्ने उनलाई चिन्ता लागेको छ । आसपासका सवै उनका छिमेकीहरुको पानी पिउने श्रोत उनको इनार मात्र रहेको छ ।
शिक्षित र देश विदेश घुमेका यि युवालाई भने नदीजन्य पदार्थको अत्याधिक दोहन वढेर इनारको पानी सुकेको हो भन्ने लागेको छ । तर आम ग्रामिण मानिसका लागि भने नदीजन्य पदार्थको दोहन या जलश्रोतको दोहन चाखको विषय होइन । आफ्नै जमिनको आडमा गिटी वालुवाको पहाड वनोस वा नदीका वगरमा हात्ती डुब्ने खाल्डा नै वनुन आम मानिसका लागि कुनै महत्व राख्दैनन ।
नदी किनार आसपास गिटी वालुवाका पहाडहरुले कसरी जलचक्रमा प्रभाव पार्ने हो भन्ने वारेमा पनि आम मानिस बेखवर नै छन भने नदीजन्य पदार्थको ठेक्का पट्टा र किर्ते रसिद प्रकरण पनि उनीहरुको चासोको विषय बन्दैन । बरु उत्खननका लागि नदी पसेका ट्रिपर र स्काभेटर देख्दा आफ्ना घर अगाडीको हिलाम्मे वाटो ग्राभल हुनेछ भन्ने सुन्दर सपना देख्ने गरेका छन आम मानिसले ।
यिनै आम मानिसको अज्ञानतावाट आज सवै ढुक्क छन । पत्रकार, सामाजिक अभियन्ता ,सामाजित अगुवा, वातावरणविदहरुको संख्या कति नै ठुलो हुन्छ र ? यि कराउदै गरुन आखिर आम मानिसले त हामीलाई राम्रै भन्ने गरेका छन भन्ने यिनको सोच प्रष्टै देखिन्छ । नत्र यावत वातावरणीय समस्या यि हाम्रा प्रतिनिधि साहेवहरुलाई थाहा नभएको विषय हो त ? पक्कै हैन । हिजो ग्रामिण जीवन भोगेर आएकाहरु नै धेरै सहरीया भएका छन ।
अझ यिनको मनमा पानीको समस्या वढोस भन्ने नै होला । किनकी सहरी क्षेत्रमा पिउने पानीको राम्रै ब्यवस्था छ । जति ग्रामिण क्षेत्रमा पानीको संकट वढदै जान्छ त्यस पछी यिनकै लगानीमा टेकंर ब्यवसाय चल्ने छ । आज भोली नै ग्रामिण क्षेत्रमा वोतल र जारमा पानी आउने गरेको छ । पानीका मुलहरु सुक्नु नै यि ब्यवसायीहरुको लागि नयाँ आम्दानीको श्रोत हुनेछ । सहर बजारमा पानीको ब्यापार गर्नेहरुले नै अवका दिनमा टेकंर इकोनोमी चलाउने छन ।
सवारी साधनको पछाडी लेखिएको देखिने वाक्य “वन मिस्टेक ग्याम ओभर” यो अत्यन्त मन पर्ने वाक्य हो मेरा लागि । सवारीमा एक गल्ती नै जीवन सिध्याउने हुन्छ तर सामाजिक जीवनमा भने गल्ती मानिसले नै गर्छ तर गल्तीबाट सिक्ने र गल्ती दोहोर्याउने कार्य बर्जित छ भनिन्छ । यहाँ त गल्ती मात्र दोहोरिएको छैन बारम्वार बल्ण्डर भएको छ । तपाईहरुलाई यो तितो लाग्ला तर सत्य तितो नै हुन्छ । आम मानिसले तपाईका कर्तुतहरु बुझ्न सकेभने तपाईको राजनीतिक जीवन समाप्त नै हुनेमा ढुक्क भए हुन्छ यदी नवुझेर आगामी निर्वाचनमा समेत तपाईहरुलाई सुरक्षित राखे भने पनि तपाईलाई इतिहासले माफ गर्ने छैन ।