धुलाबारी, जेठ २७ । झापा मेचीनगर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष सुवेशकुमार (सुदय) पनेरुले खोप लगाउन आएका सर्वसाधारणमाथी अभद्र ब्यवहार प्रस्तुत गर्नु भएको छ ।
आज बिहान १० बजे धुलाबारी स्वास्थ्य केन्द्रमा कोरोना बिरुद्धको चिनिया खोप भेरोसेल लगाउन आएका ६२ देखि ६४ बर्ष उमेर समुहका सयौं ब्यत्तिःmहरुको उपस्थिति थियो तर वडा अध्यक्ष खोप सकियो भन्दै कुर्लदैं हुनुहुन्थ्यो । खोप कसरी सकियो ? भनेर प्रश्न गर्ने सेवाग्राहीलाई वडा अध्यक्ष पनेरुले भन्नुभयो, ‘मैले भनेपछि सिद्धियो, धेरै कुरा नगर्नुहोस ।’
तोकिएका उमेर समुहकाले नलगाइ कसरी खोप सिद्धियो भनेर मेचीनगर ९ का कमल पौडेलले प्रश्न गर्दा वडा अध्यक्षले अपशब्द समेत प्रयोग गरी वडा अध्यक्ष झम्टिए पछि खोप केन्द्रमा निक्कै तनाव उत्पन्न भएको थियो । अन्य सेवाग्राही समेत वडा अध्यक्षको त्यस्तो ताण्डव देखेर असहज महशुस गरिरहेका थिए ।
‘खोप किन पुगेन भनेर खड्ग ओलीलाई सोध्नु’ वडाध्यक्ष पनेरु प्रश्नकर्ता पौडेलमाथि आक्रामक रुपमा प्रस्तुत हुँदै खनिनु भयो । खोप वितरणमा अनियमितता भएको भनेर आफुसँग निहुँ नखोज्न वडाध्यक्षले पौडेललाई ठाडो चुनौति दिनु भयो ।
६४ वर्ष उमेरका वुवाआमालाई खोप लगाउन आउनु भएका मेचीनगर–९ का प्राध्यापक सागर शिवाकोटीले सरकारले तोकेको उमेर समुहकालाई पनि किन खोप छैन भनेर प्रश्न गर्दा वडा अध्यक्षबाट खोप हिजै सकिएको जवाफ पाएको बताउनु भयो ।
खोप केन्द्रमा उपस्थित प्राध्यापक, पत्रकार र सेवाग्राही लगायतले वडाअध्यक्षलाई नरोकेको भए खोप केन्द्रमा कुटाकुट हुने अवस्था थियो ।
सरकारले तोकेको मापदण्डभन्दा बाहिरका मानिसलाई पनि खोप लगाएको वडा अध्यक्ष पनेरुले स्वीकार गर्नु भयो । ‘हिजो २ः३० बजेसम्म तोकिएकै उमेरकालाई खोप लगायौं’ वडा अध्यक्ष पनेरुले सञ्चारकर्मीहरुलाई भन्नुभयो, ‘खोप फर्किएर नजाओस भनेर हिजो अपरान्ह अन्य उमेर समुहकालाई पनि लगाइदियौं ।’
पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य तथा लोकतन्त्र पोष्ट दैनिकका सम्पादक मोहन काजी, कञ्चनजंघा एफएमका कार्यक्रम निर्देशक पत्रकार दिपेन्द्र पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य एवम सेतोपत्र अनलाइनका सम्पादक ज्ञानेन्द्र निरौला, धुलाबारी क्याम्पसका प्राध्यापक धर्मानन्द खनाल, प्राध्यापक सागर शिवाकोटी लगायत सयौं सेवाग्राही वडा अध्यक्ष पनेरुको ताण्डवको प्रत्यक्षदर्शीका रुपमा उपस्थित थिए ।
सरकारले ६२, ६३ र ६४ बर्षका जेष्ठ नागरिक, यस अघि भेरोसेल खोप लगाएकाहरुलाई दोस्रो डोज र स्वास्थ्यकर्मीहरुलाई जेठ २५ गतेदेखि खोप लगाउने सूचना गरे पनि मेचीनगरमा भने हिजो अर्थात २६ गतेदेखि मात्रै खोप लगाउन शुरु भएको थियो ।