झापा, जेठ २४ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले अमेरिकाबाट कोरोना बिरुद्धका खोप ल्याउन पहल गर्ने भएको छ । फाउण्डेशनको अमेरिका शाखाले हिजो आयोजना गरेको भर्चुअल छलफलमा बोल्दै फाउण्डेशनका केन्द्रीय अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्रि सुजाता कोइरालाले केपी ओली नेतृत्वको सरकार जनताको जीवन रक्षा भन्दा आफ्नो सत्ता लम्बाउने खेलमा लागेकाले अब फाउण्डेशनले जनतालाई खोप उपलब्ध गराउन पहल गर्ने बताउनु भयो । कोइरालाले मानविय महासंकटका बेला फाउण्डेशनका तर्फबाट समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्न सबैलाई अपिल समेत गर्नु भएको छ ।
नेपाल सरकारले अनुमति दिए अमेरिकी सरकारसंग समन्वय गरी कोरोना बिरुद्धको खोप नेपाल पठाउने फाउण्डेशनका अमेरिका शाखा अध्यक्ष सोमनाथ घिमिरेले बताउनु भयो । फाउण्डेशनको अमेरिका शाखाले तत्काल अमेरिकी सरकारका प्रतिनिधिसंग भेट गरी खोपका बारेमा छलफल चलाउने अध्यक्ष घिमिरेले बताउनु भयो ।
कार्यक्रममा बोल्दै फाउण्डेशनका व्यवशाय समितिका निर्देशक शान्ता बाँस्कोटा कोइरालाले कोरोनाका कारण देशमा स्वास्थ्य संकट गभ्भिर बन्दै गएकाले आम नागरिकको जीवन रक्षा र उनीहरुको दैनिकीलाई सहज बनाउन पहल गर्नु पर्ने धारणा राख्नु भयो । वहाँले अहिले चुनाव गर्ने कुरा सोच्न पनि नसकिने बताउनु भयो ।
फाउण्डेसनका कानुनी सल्लाहकार मोहन पोखरेलले गिरिजा प्रसाद कोइरालाको वैचारिक विरासत फाउण्डेसनले थाम्नुपर्ने धारणा राख्दै देशमा संवैधानिक संकट चुलिएको र सत्ता कब्जाको रणनीतिक योजना बुनेर केपी ओली अघि बढेको बताउनु भयो ।
जिपी कोइराला फाउण्डेसनका सदस्य समेत रहनु भएका ट्रेड युनियनकर्मी अजय कुमार राईले हाल देश तरल अवस्थामा रहेको उल्लेख गर्दै सरकारले ल्याएको बजेटले उद्योगपतीहरुको पक्षपोषण गरेको तर श्रमिक वर्गलाई पूर्णतया वेवास्ता गरेको बताउनु भयो ।
फाउण्डेसनकी महिला विभाग निर्देशक उमा शिवाकोटीले सरकारको वैधानिकता माथि प्रश्न उठेको बताउदै हालको सरकार निरंकुशता तर्फ अघि बढेको आरोप लगाउनु भयो ।
छलफल कार्यक्रममा फाउण्डेसनका आमन्त्रित केन्द्रिय सदस्य नरेन्द्र भट्ट, पर्यटन विभाग निर्देशक कुल बहादुर गुरुङ, लुम्बिनी प्रदेश संयोजक अभिशेक पाण्डे, गण्डकी प्रदेशकी संयोजक शारदा पौडेल, बागमती प्रदेशका संयोजक गणेश भट्टराई, प्रदेश दुईका संयोजक सुवास चन्द्र, प्रदेश एक संयोजक शैलेन्द्र शिवाकोटी, फाउण्डेसनका कंचनपुरकी कोषाध्यक्ष सन्तोषी ऐरी, सिन्धुपाल्चोक जिल्ला अध्यक्ष ठहिन्द्र रिजाल, पर्सा जिल्ला अध्यक्ष मोहम्मद सहाउद्धिन, अधिवक्ता संझना पोखरेल लगायतले कोरोना संकट र मानविय सेवाका बिषयमा धारणा राख्नु भएको थियो ।
कार्यक्रम जिपी कोईराला फाउण्डेसन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरेको सभापतित्व र सदस्य सन्जु पौडेलको सहजीकरणमा सम्पन्न भएको थियो ।