इटाभट्टा, जेठ २० । झापाको मेचीनगर नगरपालिका क्षेत्र भित्रका खोला दोहन र अनियमिताको बिषयमा नगरका प्रमुख र उपप्रमुखले जिम्मेवारी लिनु पर्ने प्रमुख राजनितिक दलका स्थानीय नेताहरुले बताएका छन ।
‘मेचीनगरका खोलामा चरम दोहन भएको छ’ नेकपा एमालेका मेचीनगर इन्चार्ज देवकुमार राईले सेतोपत्रसंग भन्नुभयो, ‘आइइ गरेर उठाउन मिल्ने भन्दा ४÷५ गुणा बढी नदिजन्य पदार्थ उत्खनन भएको छ ।’ यसमा जो जो दोषी भए पनि तिनिहरु सबैलाई कारबाहीको दायरामा ल्याउनु पर्ने राइले बताउनु भयो । एमाले इन्चार्ज राईका अनुसार खोला चरम दोहन हुँदा पनि रोक्न नसक्नु नगरप्रमुख र उपप्रमुखको कमजोरी भएकाले यसको नैतिक जिम्मेवारी वहाँहरुले लिनै पर्छ ।
ढुंङ्गागिटि प्रकरणको छानविनको दायरामा परेका कार्यपालिका सदस्य तथा एमाले जिल्ला सदस्य टिकाराम मंग्राती र नगरसचिव कृष्ण कनाललाई पार्टीको तर्फबाट स्पष्टिकरण समेत सोधिसकेको नगरइन्चार्ज राईले बताउनु भयो । कनाल र मंग्रातीले स्पष्टिकरणमा आफुहरु दोषी देखिए कारबाहीको भागिदार बन्ने कुरा उल्लेख गरेको राईले जानकारी दिनु भयो ।
नगरभित्रका नदिहरुको अनियन्त्रित उत्खनन हुँदा समेत टुलुटुलु हेरेर बस्ने नगरप्रमुख र उपप्रमुखले नैतिक जिम्मेवारी लिनु पर्ने नेपाली काँग्रेसका क्षेत्रीय सभापति मणिकुमार उप्रेतीले बताउनु भयो । ‘उपप्रमुखको नेतृत्वमा कानूनले नै तोकेको अनुगमन समिति हुँदा हुँदै खोला अनुगमन गर्न अर्कै समिति किन बनाउनु पर्यो’ काँग्रेस क्षेत्रिय सभापति उप्रेतीले सेतोपत्रसंग भन्नुभयो, ‘अनुमति दिएको भन्दा बढी उत्खनन हुँदा पनि रोक्न नसक्नु नगरप्रमुख र उपप्रमुखकै कमजोरी हो ।’ नदिजन्य पदार्थ उत्खननको अनियमितता सम्बन्धी छानविनको दायरामा परेका काँग्रेसका जिल्ला सदस्य तथा वडा नं. १० का वडा अध्यक्ष सुवेशकुमार पनेरुलाई पार्टीले स्पष्टिकरण समेत सोधिसकेको उप्रेतीले जानकारी दिनु भयो । ‘हामीले वडा अध्यक्षलाई स्पष्टिकरण सोधिसकेका छौं’ उप्रेतीले भन्नुभयो, ‘छानविनबाट दोषी देखिए कारबाही हुन्छ पनि भनेका छौं ।’
‘मेचीनगरका नदिहरुमा दोहन मात्रै होइन बलात्कार नै भएको छ’ माओबादी केन्द्रका मेचीनगर संयोजक पुष्प गुरागाइले सेतोपत्रसंग भन्नुभयो, ‘नदिजन्य पदार्थको मनपरी उत्खननमा कुनै न कुनै रुपमा नगरको प्रमुख र उपप्रमुखप्रति शंका गर्ने ठाउँ छ ।’ दोषीलाई उन्मुख्ती दिन मात्रै अख्तिायारको साहारा लिएको हो भने आफुहरु संघर्षमा उत्रिने गुरागाइले बताउनु भयो । गुरागाइले भन्नुभयो,‘बर्षभरि खोलाको अवस्थाका बारेमा दलहरुलाई थाहै नदिने अनि जब सबै उत्खनन सकिन्छ अनि नाम मात्रको अनुगमन गर्नुले नै शंका उत्पन्न गर्छ ।’
‘मुख्य मुद्दा नदि दोहान र राजश्व अपचलनको हो’ राप्रपा नेता शुशिल आचार्यले भन्नुभयो, ‘नदिजन्य पदार्थ उत्खननका लागि संधै एउटै ब्यक्तिहरु राखेर समिति बनाएर जिम्मा दिनु नै नगर प्रमुख र उपप्रमुखको नियतमाथी शंका गर्ने ठाउँ छ ।’ अनुगमन पदाधिकारीहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्ने आचार्यको माग छ । वहाँका अनुसार खोलाको अबैधानिक उत्खननमा अनुगमन समिति र पुर्वाधार बिकास समिति प्रत्यक्ष जिम्मेवार रहेका छन ।
‘कानूनले नै बनाएको उपप्रमुखको संयोजकत्वको अनुगमन समितिले काम नगरे देखियो’ जनता समाजबादी पार्टीका मेचीनगरका अध्यक्ष ओमप्रकाश खापुङले भन्नुभयो, ‘खोला उत्खननमा प्रभावकारी अनुगमन नभएको बिषयमा उपप्रमुखले जवाफ दिनु पर्छ ।’ नगर प्रमुखले संयन्त्र परिचालन गरेर खोला दोहन रोक्न नसकेको खापुङले आरोप लगाउनु भयो । चरम बेथिति र भ्रष्टचार मौलाउँदा पनि नगरपालिकाले कुनै कारबाही गर्न नसक्नु तथा कारबाहीको दायरामा समेत ल्याउनु नसेकाका कारण नगरबासीमा भने निराशा पलाउँदै गएको खपुङले बताउनु भयो ।