धुलाबारी, जेठ १६ । झापा मेचीनगर नगरपालिका वडा नं. १० धुलाबारीमा रहेको आम्दा मेची अस्पतालको स्तरबृद्धि गरी गुणस्तरिय अस्पताल निर्माणका लागि यस क्षेत्रका सबैलाई सहयोग गर्न मेची उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन मार्फत आव्हान गरेको छ ।
अक्सिजन प्लान्ट जडान सहित अन्य भौतिक पुर्वाधार र प्राविधिक पक्षमा क्षमता बिस्तार गरी यस क्षेत्रकै अब्बल अस्पतालको रुपमा आम्दा मेचीलाई बिकास गर्न देश तथा बिदेशमा रहनु भएका सबैलाई सहयोग गर्न आग्रह गरिएको मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले बताउनु भयो ।
रोटरी क्लबहरुको पहल तथा मेचीनगर नगरपालिका र वाणिज्य संघको समेत सहकार्यमा आम्दा मेची अस्पतालमा अक्सिजन प्लान्ट राख्ने कार्यको केही दिनमै शुरुवात हुन लागिरहेको बेला संघका तर्फबाट अस्पतालकै गुणस्तर बृद्धिमा समेत सबैको सहयोग आवश्यक रहेको भन्दै आर्थिक संकलन समेत शुरु गरेको वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मोहन निरौलाले बताउनु भयो ।
देशकै सबैभन्दा बढी जनसंख्या भएर पनि मेचीनगरमा अहिलेसम्म गुणस्तरिय अस्पताल सञ्चालन हुन नसकेकाले धेरै समस्या भएकाले आम्दा अस्पताललाई स्थानीयहरुको पहलमा अत्याधुनिक सेवा दिनसक्ने अस्पतालको रुपमा क्षमता विकास गर्न पनि सबैले सहयोग जुटाउनु पर्ने वाणिज्य संघका सदस्य तथा स्वास्थ्य उपसमितिका संयोजक उमेश सुवेदीले बताउनु भयो ।
अक्सिजन प्लान्ट जडान भइसके पछि आइसियु, एनआसियु र भेन्टिलेटरको समेत ब्यवस्थापन गर्न सकिने भएकाले नै आम्दा मेची अस्पतालको गुणस्तर बिकासमा मेचीनगरबासी सहित आसपासका स्थानीय र बिदेशमा रहनु भएकाहरुलाई समेत आर्थिक सहयोग गरिदिन रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष कपिल क्षेत्रीले आग्रह गर्नु भयो ।
कोरोना महामारीका बेला अस्पतालको महत्व बढेको छ यही अवस्था लामो समय जान सक्ने र भविश्यमा आउने अन्य खाले स्वास्थ्य चुनौतीलाई समेत सामना गर्न आम्दा मेची अस्पतालको गुणस्तर बृद्धिमा सबैको आर्थिक सहभागिता आवश्यक रहेको वाणिज्य संघका महासचिव ध्रुव कनालले बताउनु भयो । सबैको साथ र सहयोग भए आम्दा मेची अस्पताललाई पुर्वकै अत्याधुनिक अस्पतालका रुपमा बिकास गर्न सकिने संघका सचिव रबिचन्द्र नेपालले बताउनु भयो ।
आम्दा मेची अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि रोटरी इन्टरनेशनलका तर्फबाट ३५ लाख, मेचीनगर नगरपालिकाले २५ लाख र मेची उद्योग वाणिज्य संघले १५ लाख रकम दिने सम्झौता समेत सम्पन्न भएको र अक्सिजन प्लान्ट राख्ने ठाउँका ब्यवस्थापन लगायतमा थप ७५ लाख खर्च हुने भएकाले त्यसका लागि सबैले सकेको आर्थिक सहयोग उपलब्ध गराइदिन संघका अध्यक्ष तिम्सिनाले सबैलाई आग्रह गर्नु भयो ।