मेचीनगर, जेठ १६ । झापाको मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खननका सम्बन्धमा शंकास्पद निर्णय गरेको खुलासा भएको छ । नगरकार्यपालिकाको २०७८ जेठ ११ गतेको निर्णय नं. १० मा नदिजन्य पदार्थ उत्खनन संकलनको सम्बन्धमा छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान अयोगलाई अनुरोध गर्ने निर्णय गरेको छ तर सोही बैठकको निर्णय न. २० मा छानविनको दायरामा परेका नदिजन्य पदार्थको उत्खनन र राजश्व संकलनको जिम्मा पाएका अनुगमन पदाधिकारीहरुलाई नै पुन ढुंङ्गागिटिको रकम उठाउने जिम्मा दिएको छ ।
ढुंङ्गागिटिको राजश्व अपलचन गरेको बिषयमा नगरका नदिजन्य पदार्थ उत्खनन संकलनको अनुगमन गर्ने जिम्मा पाएकाहरु नै संलग्न भएको भन्दै २०७७ चैत २० गतेको कार्यपालिका बैठकले नगरप्रमुखको संयोजकत्वमा आन्तरिक छानविन समिति समेत गठन गरी उक्त समितिको प्रतिवेदन कार्यपालिका बैठकमा प्रस्तुत गरे पछि सो बिषय अख्तियारलाई छानविन गर्न अनुरोध गर्ने निर्णय समेत गरिसकेको अवस्थामा जेठ ११ गतेको कार्यपालिका बैठकले तिनै अनुगमन पदाधिकारीहरुलाई नै नदिजन्य पदार्थको अनुगमनको कार्य जिम्मा दिइएको हो ।
एउटै बैठकले तिनै ब्यक्तिलाई ढुंङ्गागिटिकै बिषयमा छानविन गर भनेर अख्तियारमा जाने र त्यही बैठककै अर्को निर्णयमा छानविनको दायरामा रहेकाहरुलाई नै ढुंङ्गागिटिको बाँकी रहेको रकम उठाउने जिम्मेवारी दिनुले ढुंङ्गागिटि उत्खनन संकलनका र त्यसबाट प्राप्त हुने करोडौ रकम हिनामिनाको बिषयमा सिङ्गो नगरपालिकाका जिम्मेवार पदाधिकारीहरु नै शंकाको घेरामा परेका छन ।
नगरकार्यपालिकाको जेठ ११ गतेको निर्णय नं. २० मा लेखिएको छ,‘मेचीनगर नगरकार्यपालिकाले विभिन्न मितिमा निर्णय गरी निर्माण कम्पनी, ठेकेदार र उद्योगहरुबाट नदिजन्य पदार्थ उत्खनन संकलनका लागि माग गरे बमोजिम अग्रिम राजश्व लिई नदिजन्य पदार्थको उत्खनन संकलनको अनुमति दिइएकोमा अनुमति बमोजिमको नदिजन्य पदार्थ उत्खनन संकलन भए नभएको नापजाँच गरी ३ दिन भित्र प्रतिवेदन पेश गर्न अनुगमना पदाधिकारीहरलाई तोक्ने, साथै नदिजन्य पदार्थ उत्खनन संकलन गर्न स्वीकृति दिएका ठेकेदार, निर्माण ब्यवशायी र उद्योगहरुबाट बढी उत्खनन संकलन भएका सो परिमाणको रकम तत्काल जम्मा गर्न लगाउने र अनुमति दिइएको भन्दा कम उत्खनन संकलन गर्ने ठेकेदार, निर्माण ब्यवशायी र उद्योगहरुलाई बाँकी रहेको परिमाण उत्खनन संकलन गर्ने अनुमति दिने निर्णय गरियो ।’
नगरभित्रका नदिहरुबाट ढुंङ्गागिटि, बालुवा लगायतका नदिजन्य पदार्थ उत्खनन संकलनको अनुगमन गर्न २०७७ असोज २१ गतेको कार्यपालिकाको बैठकले मेचीनगरका कार्यपालिका सदस्यहरु वन वातावरण तथा विपद ब्यवस्थापन समिति संयोजक टिकाराम साकी (मंग्रती), पूर्वाधार विकास समिति संयोजक कृष्ण कनाल र वडा नं. १० का अध्यक्ष तथा आर्थिक विकास समिति संयोजक सुवेशकुमार पनेरुलाई अनुगमन पदाधिकारी तोकेर जिम्मेवारी दिइएको थियो ।
नगरले आन्तरिक छानविन गर्दा वा अख्तियारमा पठाउँने निर्णय गर्दा पनि नदिजन्य पदार्थ उत्खनन संकलनको अनुगमन गर्ने जिम्मा पाएका तिनै जना अनुगमन पदाधिकारीहरुलाई निलम्बन समेत गरेको छैन ।
यसबिचमा २०७८ जेठ ७ गते नै वडा अध्यक्ष पनेरुले र जेठ ११ गते कार्यपालिका सदस्य मंग्राती र कनालले संयुक्त प्रेस बिज्ञप्ती निकालेर आफुहरु ढुंङ्गागिटिको उत्खनन संकलनको राजश्व अपचलनमा संलग्न नरहेको बताएका थिए ।