काठमाण्डौ, जेठ १५ । सरकारले आज अध्यादेश मार्फत बजेट सार्वजनिक गरेको छ । सिंहदरवारबाट अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७८/७९को बजेट सार्वजनिक गर्नुभएको हो । अर्थमन्त्री पौडेलले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन गरेको जानकारी दिनुभयो । अर्थमन्त्री पौडेलले कोरोना रोकथाम, नियन्त्रणका लागि उक्त रकम कोरोना रोकथाम तथा नियन्त्रणका लागि ल्याएको बताउनुभयो ।यस्तै, सरकारले कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो । सरकारले कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । पौडेलले कोभिड नियन्त्रणमा बजेट केन्द्रित, उपचार र खोप सुनिश्चितताका लागि बजेट कमी हुन नदिने प्रतिबद्धता पनि जनाएका छन् ।काठमाडौं उपत्यकामा ३ सय शैयाको र सबै प्रदेशमा ५० शैयाको सरुवारोग अस्पताल निर्माण गर्न १ अर्ब ३० करोड विनियोजन गरिएको छ । यस्तै, अर्थमन्त्री पौडेलले देशभरका महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको यातायात खर्च शतप्रतिशतले वृद्धि गरेको पनि बताउनुभएको छ । मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वंयसेवीकालाई दिँदै आईएको यातायात खर्चमा शतप्रतिशत वृद्धि गरी १२ हजार पु¥याएको उहाँले बताउनुभयो ।
ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ पुगेको छ । अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पु¥याएको र सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको जानकारी दिनुभयो । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरेको उहाँले बताउनुभयो । बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ ।
यस्तै जेठ महिनादेखि नै लागु हुनेगरी खानेपानीका ग्राहस्थ उपभोक्तालाई २० हजार लिटर खानेपानी छुट दिइने भएको छ । अर्थमन्त्री पौडेलले गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउन नेपाल खानेपानी संस्थान, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले ग्राहस्त उपभोक्तालाई वितरण गर्ने मासिक २० हजार लिटरसम्मको खानेपानी महसुल यसै महिनादेखि छुट दिइ निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको बताउनुभयो ।
आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा पनि बजेट मार्फत भएको छ । अर्थमन्त्री पौडेलले न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने सरकारले लक्ष्य लिएको बताउनुभयो । स्वास्थ्य बिमा बोर्डको क्षमता अभिवृद्धि गरिने र बिमा कार्यक्रमको दीगोपनका लागि वैकल्पिक वित्तीय स्रोतको व्यवस्था गरिने पौडेलको भनाइ छ ।
निषेधाज्ञा अवधिभर घरेलु तथा साना विद्युत उपभोक्ताले मासिक २० युनिटसम्म विद्यूत खपत गर्नेलाई शत प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यस्तै, मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था गरेको छ ।
कृषि क्षेत्रको बजेट पनि वृद्धि भएको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको हो । चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ । तरकारी, दूध र माछा–मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने पनि अर्थमन्त्री पौडेलले बताउनुभयो । साना किसानलाई धानको बिउ खरिदमा ५० प्रतिशत नगद अनुदान उपलब्ध गराइने छ ।
अब शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुने छ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताउनुभयो ।सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो ।