मेचीनगर, जेठ १४ । मेचीनगर १० स्थीत आम्दा मेची अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुने निश्चि भएको छ । अक्सिजन प्लान्ट निर्माणका लागि सोकारवाला पक्ष बिच सम्झौता सम्पन्न भएसंगै धुलाबारीमा अक्सिजन प्लान्ट निर्माण हुने निश्चित भएको हो ।
प्लान्ट निर्माणका लागि हिजो मेचीनगर नगरपालिका, रोटरी क्लब अफ मेचीनगर, रोटरी क्लब अफ काकरभिट्टा, मेची उद्योग वाणीज्य संघ र आम्दा मेची अस्पताल बिच आर्थिक तथा प्राविधिक बिषयको सम्झौता भएको छ । सम्झौता अनुसार मेचीनगर नगरपालिकाको तर्फबाट २५ लाख र मेची उद्योग वाणिज्य संघले १५ लाख प्लान्ट निर्माणका लागि रकम उपलब्ध गराउने छन । त्यस्तै मेचीनगर र काकरभिट्टा रोटरी क्लबले रोटरी इन्टरनेशनलको तर्फबाट ग्लोबल ग्राण्ड मार्फत प्राप्त हुने करीब ३५ लाख रकमको ब्यवस्थापन गर्ने छन भने आम्दा अस्पतालले अक्सिजन प्लान्ट निर्माणको स्थान र प्राविधिक सहयोग उपलब्ध गराउने छ ।
सम्झौतामा मेचीनगरका नगरप्रमुख बिमल आचार्य, उपप्रमुख मिना उप्रेती, प्रमुख प्रशासकिय अधिकृत खेमराज ओझाले हस्ताक्षर गर्नु भएको छ भने रोटरी क्लब अफ काकरभिट्टाका अध्यक्ष नवराज खनियाँ, रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष कपिल क्षेत्री, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना र आम्दा मेची अस्पतालका प्रमुख डा पोषण रमण त्रिपाठीले हस्ताक्षर गर्नु भएको छ ।
८० लाख लागतमा सञ्चालनमा आउने अक्सिजन प्लान्टका लागि स्वीडेनमा निर्माण भएको ५ क्युबिक मिटरका दुई वटा कम्प्रेसर सहितको मेशीन जडान गरिने रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष कपिल क्षेत्रीले जानकारी दिनु भयो । क्षेत्रीका अनुसार करीब एक महिना भित्रमा तयार हुने अक्सिजन प्लान्टले प्रति घण्टा १० क्युबिक मिटर अक्सिजन उत्पादन गर्नेछ । यो अनुसार दैनिक ४० देखि ५० वटा ठुलो सिलिण्डर भर्न सक्ने अक्सिजन उत्पादन हुन्छ ।
रोटरी क्लब अफ काकरभिट्टाको समन्वयमा निर्माण हुने यस अक्सिजन प्लान्ट राख्ने ठाउँको निर्माण रोटरी क्लब अफ मेचीनगरले गर्ने अध्यक्ष क्षेत्रीले बताउनु भयो ।
कोरोना संक्रमणको फैलिरहेका बेला अक्सिजन अत्याधिक आवश्यक पर्ने भएकाले पनि यो प्लान्ट आवश्यक रहेको मेचीनगरका प्रमुख प्रशासकिय अधिकृत ओझाले बताउनु भयो । देशकै सबैभन्द धेरै जनसंख्या भएको नगरभित्र कोरोना नियन्त्रण भए पछि पनि अन्य बिरामी का लागि पनि अक्सिजन आवश्यक पर्ने भएकैले पनि नगरपालिकाले यो कार्यका लागि तत्काल २५ लाख रकम उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख आचार्यले बताउनु भयो ।