काकरभिट्टा, जेठ १३ । मेचीनगरका पत्रकारहरुको आज स्वास्थ्य परीक्षण गरिएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा अग्रपंक्तिमा कार्यररत पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । मेचीनगर‐६ काँकरभिट्टास्थित मनिषा पोलिक्लिनिक एण्ड डाइगोनोष्टिक सेन्टरको प्राविधिक सहयोगमा सम्पन्न परीक्षणमा अधिकांश पत्रकारहरु सहभागी भएको क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीले बताउनु भयो ।
बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अग्रपंक्तिमा रहेर काम गरि रहेका मेचीनगरका पत्रकारहरुका लागि प्रेस क्लबले निःशुल्क स्वास्थ्य परीक्षण गर्ने अवसर प्रदान गरेको थियो । परीक्षणमा शरीरमा अक्सिजनको मात्रा, मुटुको गति मापनदेखि छातीको एक्से‐रे मार्फत फोक्सोको अवस्थाको बारेमा जानकारी लिएको स्वास्थ्यकर्मी दिलिप सुवेदीले बताउनु भयो ।
प्रारम्भीक चरणको परीक्षणमा सहभागी भएका कसैमा पनि छाती तथा फोक्सोको समस्या नदेखिएको पोलिक्लिनिका सञ्चालक समेत रहनु भएका स्वास्थ्यकर्मी सुवेदीले जानकारी दिनु भयो । ‘खास समस्या कसैमा देखिएको छैन तर, फोक्सो तथा छाती कसैको पनि सतप्रतिशत सुरक्षीत अवस्थामा देखिदैन, सुवेदीले भने‐ फोक्सो तथा छातीमा कसैन कसैमा धुलो तथा चिसोको प्रभाव देखिन्छ, आफु बचे मात्र आफ्नोे कर्ममा निरन्तरता दिन सकिने हुँदा हालको अवस्थामा उच्च स्वास्थ्य सावधानी अपनाएर काम गर्न म सबै फ्रन्टलाइनर पत्रकारहरुलाई आग्रह गर्दछु ।’
सुवेदीले कोभिडको अनावश्यक त्रासका कारण मानिसले आफ्नो स्वास्थ्य अवस्थाको परीक्षण गराउनै नआउने हुँदा समस्या थप जटिल बन्दै गइरहेको बताउनु भयो । वहाँले अहिलेको अवस्थामा कुनै शंका लागेमा वा कुनै स्वास्थ्य समस्या भएमा तत्काल आफ्नो स्वास्थ्य अवस्था परीक्षण गराउन आग्रह गर्नु भयो ।
कोरोना जोखिममा खास गरी अक्सिजनको मात्राबारे जानकार बन्न र फोक्सो तथा छातीको एक्स‐रे गर्दै निमोनियाँ भए नभएको पत्ता लगाउन चिकित्सिकहरुले सुझाव दिदै आइरहेका बेला क्लबले मानिषा पोेलिक्लिनसँगको सहकार्यमा स्वास्थ्य परीक्षण अभियानको आयोजना गरेको क्लबका सचिव जीआर धितालले बताउनु भयो ।
प्रेस क्लबले कोरोनाको दोेस्रो लहरको संक्रमण बढ्दै जाँदा जोखिममा रहेका सञ्चारकर्मीहरुका लागि विगतमा मास्क, फेस सिल्डलगायतका स्वास्थ्य सामग्री वितरण गरेको थियो । कोभिड १९ नियन्त्रण र रोकथामका लागि सरकारले जारी गरेको निषेधाज्ञाका बखत नगरबाट प्रकाशन प्रशारण हुने पत्रपत्रिका, रेडियो र अनलाईनलाई लोक कल्याण्कारी विज्ञापन वापतको एकमुष्ठ रकम उपलब्ध गराउन स्थानीय सरकार, मेचीनगर नगरपालिकालाई आग्रह गरे बमोजिम यसको तयारी अन्तिम चरणमा पुगेको छ ।
क्लबले स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य गरेर यस्तो विपतका बखत सञ्चारकर्मीहरुको स्वास्थ्य उपचार तथा विभिन्न कार्यमा समन्वय गदैं आएको अध्यक्ष उप्रेतीले बताए । शिविरमा संस्थापक, पूर्व अध्यक्ष, निवर्तमान अध्यक्षसहित क्लबका पदाधिकारीदेखि नगरका अग्रपंक्तिमा कार्यरत पत्रकारहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।