आज भन्दा १५ दिन अघिको कुरा हो । जब मेरो घाँटी दुख्यो, हल्का ज्वरो पनि आउन थाल्यो । सायद टन्सील बढ्यो होला भन्ने लागेर डा.सिंहकोमा देखाउन गएँ । डाक्टरले घाँटी हेरी सकेपछि घाँटी केही भएको होइन यो कोरोनाको सिमटम हो भन्नु भयो । हामी निशब्द भयौं । हामी सुरक्षित अपनाएर हिडेका थियौं तर पनि कहाँ मिस्टेक भयो, हामी सोच्न बाध्य भयौं ।
भन्छन डाक्टर भगवानको रुप हुन्छ । साच्चै वहाँले हामीलाई हौसला दिनुभो, केही हुन्न म औषधी लेखि दिन्छु घरमा होम आइसोलेशन बस्नु भन्नु भयो । हामी औषधी लिएर घर आयौं । हामीले निर्णय गर्यौं कि यो कुरा कसैलाई नभनी घरमा नै सुरक्षीत बस्नु पर्छ । कारण हामीलाई अझ बढी डाइट खानेकुरा खानु पर्छ भन्ने पढेंका थियौं । गाइको दुध ठेक्का टुट्ला भन्ने पलिहो चिन्ता पर्यो र अझै अर्को छिमेकीबाट अझै दुध थप फोनबाट मिलाइयो ।
हामीमा एउटा सचेतनाको पनि कमी छ । जुन कोरोना पोजेटिभ लागेको घरको बाटो नै मान्छे हिड्न छाड्ने । त्यो घृणाले पनि हामीलाई सतायो । दुई दिन पश्चात मेरो श्रीमानलाई पनि ज्वरो आउन थाल्यो । डाक्टरकोमा जानु भयो त्यही हो सर्यो भन्नु भो । डाक्टरले अर्को चिन्ता थपियो अब रह्यो छोरा उसलाई पनि सर्ला भन्ने ठुलो पिर थियो तर भगवानको कृपा भनौं हाम्रो सावधानीले आजसम्म छोरालाई कुनै लक्षण छैन हामी धन्य छौं ।
चार दिन पछिदेखि शरिर एकदमैं दुख्ने, शरिर तातिने, गन्ध नआउने, खाना रुची नहुने भयो । यति पिडा भयो कल्पना गर्न पनि चाहन्न । सबैभन्दा मानसिक चिन्ता अझ धेरै हुँदो रहेछ । अक्सिजनको मात्रा घट्ला कि भनेर बार बार अक्सिमिटरबाट अक्सिजन नाप्ने, ज्वरो नाप्ने काम गरिरहन्थ्यौं । न खाना रुच्छ न निन्द्रा लाग्छ, शरिर यति शिथिल हुँदो रहेछ । मनोबल यति तल झर्दो रहेछ । सिटामोल खाएको ३ घण्टा पछि फेरि शरिर तातिएर आउन थालीहाल्थ्यो । कयौं पटक हरेस खाँदै फेरि साहस बटुलेर खानेकुरा खान बस्ने गरियो ।
शरिर कसैले मानिस गरिदिए हुने जस्तो लाग्थ्यो । यी पिडाहरु भन्न पाउँदा पनि केही सन्चो हुन्थ्यो जस्तो लाग्थ्यो । जसलाई भन्नु पर्ने वहाँ (मेरो श्रीमान) अझ म भन्दा सिकिस्त हुनुहन्थ्यो बरु म आफैं हौसला दिन्थे । चिन्ता नगर्नु केही अप्ठ्यारो परे जस्तो भयो भने मलाई भन्नु म हस्पिटल लान्छु भनेर हौसला दिन्थे ।
एउटा कुरा सारै खट्कीयो यो मनामा । हाम्रो देशको नेताहरु गद्दार नभएको भए हाम्रो दोस्रो भ्याक्सीन पुरा भएका हुन्थ्यो । हामीले यी पिडाहरु त सायद भोग्नु पर्दैनथ्यो होला । मनमनै नेताहरुलाई धिक्कारी रहें ।
वास्तवमा जब आफुलाई पर्छ नि आफ्नो आफु बाहेक यो मनलाई हौसला दिने कोही हुदों रहेनछ । जुन दिनदेखि हामी पोजेटिभ भयौं त्यस दिनदेखि फेसबुक, समाचार हेरेनौं । बिषेश नम्बर बाहेक सबै फोन कल उठाउन पनि बन्द गरयौं । मोटिभेशनल स्पीच, मेडिटेशन, योगा, कमेडी फिल्म र आफुलाई मन पर्ने गित सुन्ने हेर्ने गर्न थाल्यौं ।
फलफुल, अण्डा, दुध, सागसब्जी र लोकल कुखुराको सुप, जवरजस्ती खाने गर्यौं । यति खेर मेरो मन अर्को एउटा कुरा खट्कीएको छ । हामी त जेनतेन गरेर पोसिलो खानेकुरा खाएर बसेका छौं । जस्को एक छाक खानलाई धौधौ भएको घरमा पोजेटिभ भए भने कुन हालत होला ? सोच्न बाध्य भए । हुन त मल्टी भिटामिन हाम्रो नगरले बितरण गरिरहेको छ । यो अत्यन्त सहरानीय र स्वागत योग्य काम मान्नु पर्छ र धन्यबाद पनि दिनु पर्छ ।
यी सबै कुराको अलावा घरमा धेरै खानपिन पनि चाहिने बिडम्बना त जहाँको त्यही छ । मेरो अर्को अनुभव आफ्नो सन्तान छोरा होस वा छोरी सबै काम सिकाउनु पर्ने रहेछ । हाम्रो छोराले बिगत ३बर्षदेखि सबै काममा सहयोग गर्ने किचनको सबै काम जानी सकेकोले आज हामीलाई बिहान देखि रातिसम्म सेवा गरिरह्यो । आफ्नो सन्तान आफन्त यतिवेला अझ महत्वपूर्ण हुँदो रहेछ ।
सम्पति छ भनेर घर बाहिरका मानिसको भरमा नपरौं यस्तो बेला जति नै पैसा दिए पनि कोही स्यार सुसार गर्न नआउने रहेछ । यो मेरो अनुभवले हजुरहरुलाई थोरै फाइदा मिलोस भन्ने मनसायले लेखिरहेकी छु । अन्त्यमा हजुरहरु सबैलाई सुस्वास्थ्यको कामना गर्दै सुरक्षीत रहनुहोला भन्दै बिद हुन्छु ।
धिरावती लिम्बु (मिरा)
मेचीनगर १० वडा सदस्य
धुलाबारी झापा
२०७८/०२/१२