इटाभट्टा, जेठ ७ । झापाको मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले सिङ्गो नगरपालिका कार्यालय छानबिनको दायरामा परेको बताउनु भएको छ । नगरभित्रका नदिजन्य सामग्री उत्खननका सन्धर्भमा पत्रकारहरुसंग कुरा गर्दै नगरप्रमुख आचार्यले यस्तो बताउनु भएको हो ।
नदिजन्य सामग्री उत्खनन र त्यसबाट संकलन हुने राजश्व हिनामिना भएको बिषय चर्चामा आए पछि नगरपालिले आज पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेको हो । ‘नदिजन्य सामग्री उत्खनन र त्यसबाट संकलन राजश्वका सन्धर्भमा सिङ्गो नगरपालिका कार्यालय नै छानबिनको दायरामा छ ।’ पत्रकार सम्मेलनमा नगरप्रमुख आचार्यले भन्नुभयो, ‘कार्यपालिका बैठकले छानबिन समिति बनाएर प्रक्रिया अगाडी बढाएको छ समितिको काम अन्तिम चरणमा पुगेको छ ।’
नदिजन्य सामग्री उत्खननको राजश्व संकलनका बिषयमा प्रमुख प्रशासकिय अधिकृत खेमराज ओझाले पेश गरेको विवरणको आधारमा यथार्थ बुझ्न २०७७ चैत २० गते नगरपालिकाले नगरप्रमुखकै संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको र उक्त समितिको काम अन्तिम चरणमा पुगेको नगरप्रमुख आचार्यले बताउनु भयो । छानबिन समिति अन्तर्गतको उपसमितिले एक दुई दिन भित्रमा प्रतिवेदन बुझाउने र त्यसको अध्ययनबाट छानबिन समितिले अन्तिम प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने समेत नगरप्रमुख आचार्यले स्पष्ट पार्नु भयो ।
के बिषयमा छानविन भइरहेको छ ? भन्ने पत्रकारको प्रश्नमा नगरप्रमुखले नदिजन्य सामग्री उत्खनन र त्यसको राजश्व संकलनका सन्धर्भमा सिङ्गो नगरपालिका नै छानविनको दायरामा रहेको जवाफ दिनु भयो । नगरप्रमुखले भन्नुभयो, ‘हामी छानविनकै प्रक्रियाको अन्तिम चरणमा पुगेका छौं, नदिजन्य सामग्री उत्खननसंग जोडिएका सबै बिषय, समिति, उपसमिति र कार्यलयका विभिन्न शाखाको काम कारबाही समेत छानविनको दायरामा छ ।’
नगरस्तरिय छानविन समितिले पुर्ण छानविन गर्दा नटुङ्गिने अवस्था आए माथिल्लो निकायलाई समेत छानविनका लागि आग्रह गर्ने नगरप्रमुख आचार्यले बताउनु भयो । ‘म माथी पनि छानविन हुन सक्छ’ नगरप्रमुखले भन्नुभयो, ‘त्यसका लागि म तयार छु ।’
नदिजन्य सामग्री उत्खनन र त्यसको राजश्व संकलनका लागि नगरकार्यपालिकाले नगरप्रमुख संयोजज, उपप्रमुख मिना उप्रेती सहसंयोजक तथा वडा नं. ११ का अध्यक्ष सन्तोस मेचे, वडा नं. १४ का अध्यक्ष शंकर पोखरेल र वडा नं. १५ का अध्यक्ष गुणराज भट्टराई सदस्य रहेको ५ सदस्यीय छानविन समति गठन गरेको छ । उक्त समितिले तथ्य संकलन गर्नका लागि वडा नं. ११ का अध्यक्ष सन्तोस मेचेको अध्यक्षतामा उपसमिति समेत गठन गरेको उपप्रमुख मिना उप्रेतीले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । उपप्रमुखले भन्नुभयो, ‘छानविन समितिले यथार्थ बाहिर ल्याउँछ ।’
नगरपालिकाले चालु बर्षमा हडिया खोला ६५ लाख ५४ हजारमा र टिमाइ खोला ९७ लाख २० हजार ४ सय रुपैया भ्याट सहितमा ठेक्का लगाएको छ भने निन्दा खोला र मेची खोला ठेक्का नलागेकाले नगरपालिकाको २०७७ असोज २१ गतेको कार्यपालिकाको निर्णयबाट कार्यपालिका सदस्यहरु कृष्ण कनाल, टिकाराम मगराती र वडा नं. १० का अध्यक्ष सुवेशकुमार पनेरुलाई नगदि रसिद बुझि राजश्व संकलन गर्न जिम्मा दिएको थियो ।
कार्यपालिका सदस्य र वडा अध्यक्षले बुझेको रसिद नै हराएको र काटिएको रसिदको रकम समेत राजश्व दाखिला नभएको अवस्थाकाले नगरको राजश्व शाखा प्रमुख खेमराज प्रसाइले २०७७ चैत ३ गते कनाल, मगराती र पनेरुलाई रसिद र राजश्व रकम दाखिला गर्न पत्र काटेको थियो । पत्र पछि पनि हराएको रसिद र काटिएको रसिदको राजश्व दाखिला नभएको नगरपालिकास्रोतले जनाएको छ ।
गत आर्थिक बर्षमा नगरको सम्पुर्ण नदिब करीब ४ करोडमा ठेक्का लागेको र चालु बर्ष करीब ३ करोड ५० लाख रकम संकलन भइसकेको मेचीनगरका प्रमुख प्रशासकिय अधिकृत खेमराज ओझाले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।