इटाभट्टा, भदौ १८ ।।
३० बर्षिया छोरीको मृगौलामा समस्या आए पछि मेचीनगर ८ की ६५ बर्षिया लक्ष्मीमाया ढुंगाना आफ्नै मृगौला छोरीलाई दिएर बचाउने अभियानमा लाग्नु भएको छ । ३ बर्षदेखि मृगौला सम्बन्धी रोग लागेर थलिनु भएकी निर्मला ढुंगाना अहिले नियमित डायलेसिस गराइरहनु भएको छ ।
निर्मलाकी आमा लक्ष्मीमायाले भन्नु भयो, ‘छोरीलाई बचाउन आफैं मृगौला दिन्छु तर त्यो मृगौला छोरीको शरिरमा हाल्न २० लाख भन्दा बढी पैसा लाग्ने रैछ त्यसैले खर्च अभाव भएको छ ।’
बिवाह गरेको ४ महिना पछि नै बिरामी पर्नु भएकी निर्मलालाई शुरुका दिनमा श्रीमान र परिवारले केही औषधी गरे पनि अहिले श्रीमान निर्मलाको सम्पर्कमा छैनन । शुरुमा बिरामी पर्दा धेरै तिर उपचारका लागि दौडधुप गर्दा नै धेरै खर्च भएको निर्मलाका बुवा सुभनाथ ढुंगाना सुनाउनु हुन्छ । वहाँले भन्नु भयो,‘छोरी बिरामी भए पछि टुलुटुलु हेरेर बस्न सकिएन र नेपाल तथा भारतका ठुलठुला अस्पताल पुर्याऔं । तीन बर्षमा ३५ लाख बढी खर्च पनि भयो र अन्तिममा मृगौला नफेरी नहुने भयो ।’
शुरुमा नै मृगौला नफेरी नहुने भनिदिएको भए त्यही खर्चले आज छोरी ठिक भइसक्थी तर त्यतिबेला मृगौला नफेरी पनि उपचार गर्दा ठिक हुने सल्लाह डाक्टरहरुले दिएको निर्मलाका बुवा सुभनाथ बताउनु हुन्छ ।
‘छोरीको उपचारका लागि भएको जग्गा पनि बेचियो तर अहिले छोरी बचाउन खर्च अभाव भयो’, निर्मलाकी आमा लक्ष्मीमायाले भन्नु भयो, ‘मृगौला त अहिले नै म निकालेर छोरीलाई दिन तयार छु तर त्यसको लागि पनि धेरै पैसा लाग्ने भएर नै अहिले सबैसंग सहयोगको हारगुहार गरिरहेका छौं ।’
त्यसो त निर्मला ढुंगाना बचाउ समिति नै गठन गरेर स्थानीयहरुले उपचारका लागि सहयोग रकम जुटाउन शुरु गरेका छन । केही समय अघि शुरु गरेको अभियानले अहिलेसम्म ३ लाख रकम जम्मा गरेको बचाउ समितिका संयोजक गिरीराज धमलाले बताउनु भयो ।
निजि बिद्यालयकी शिक्षक समेत रहनु भएकी निर्मला बिरामी परे पछि भने हप्तामा दुई दिन डायलेसिस गराएर घरमै आराम गरिरहनु भएको छ । ‘डायलेसिस गरे पछि दुइ तीन दिन राम्रो हुन्छ त्यस पछि सास फेर्न गारो हुने र खाना खान नहुने हुन्छ अनि फेरी डायलेसिसमा जानु पर्छ’, निर्मलाले सेतोपत्रसंग कुराकानी गर्दै भन्नु भयो,‘म बाँच्न चाहन्छु, मलाई बचाउन सहयोग गर्नुहोस म ठिक भए पछि सामाजिक सेवामा नै आफ्नो बाँकी जिवन बिताउँछु ।’ वहाँ भन्नु हुन्छ,‘मलाई अझै यो समाजका लागि केही गर्न मन छ त्यसैले मलाई जीवन चाहिएको छ ।’
निर्मलालाई मृगौला प्रत्यारोपणका लागि भक्तपुर लैजाने प्रक्रिया शुरु भएको र खर्च अभाव भएका कारण केही समस्या आएकाले सबै सहयोगी मनहरुलाई निर्मलाको उपचारमा सहयोग गरिदिन निर्मला बचाउ समितिका संयोजक धमलाले आग्रह समेत गर्नु भएको छ ।