प्रत्येक जीव आफ्नो जन्मदाताभन्दा फरक हुन्छ । यो फरकपन परिवृत्ति वा उत्परिवर्तन जे पनि हुनसक्छ । जिनको संरचनामा हुने फेरबदलले यस्तो फरकपन ल्याउने गर्छ । भाइरसको जिनको बनावट पनि बदलिरहन्छ । यो प्राकृतिक प्रक्रिया हो । कुनै परिवर्तनले भाइरसलाई कमजोर बनाउँछ भने कुनैले झन् शक्तिशाली बनाउँछ । कमजोर बदलाव भएकाहरु आफैँ नासिएर जान्छन् भने अझ सक्षम बदलाव भएकाहरुले सङ्क्रमणलाई थप जोखिमतर्फ लैजान्छन् ।
एक पटक कम भएको सङ्क्रमण दर यस्ता नयाँ परिवर्तित भाइरसको सङ्क्रमणले फेरि नयाँ लहरको रुपमा लिएर आउने गर्छन् । सङ्क्रमणका यस्ता धेरै लहरहरु आउन सक्छन् । अहिलेको कोरोना सङ्क्रमणको दोस्रो लहर यस्तै नयाँ परिवर्तित भाइरसले गराएको पुष्टि भइसकेको छ ।
पहिलो सङ्क्रमणमा कमजोर स्वास्थ्य भएका र जेष्ठ नागरिकहरु बढी जोखिममा देखिएका थिए । त्यसैले खोप पनि सोहीअनुरुप जनस्वास्थ्यलाई लक्षित गरी विकास गरियो । कम उमेर समूहमा यसको परीक्षण नै गरिएन । अझ बढी अस्थिर र एक आपसमा घुलमिल हुने युवा वर्गमा कोरोनाले आफूलाई केही नगर्ने मानसिकता विकास हुनपुग्यो । त्यसले गर्दा यो दोस्रो लहरमा ती युवा वर्ग बढी जोखिममा देखिए । बढी क्षति पनि त्यही वर्गले बेहोर्नु प¥यो । सरकारको जेष्ठ नागरिक केन्द्रित खोप अभियानले पनि यो सङक्रामक लहरमा तुलनात्मकरुपमा जेष्ठ नागरिकहरु कम जोखिममा देखिए ।
कोरोनाको पहिलो लहर केही कमजोर भएर हाम्रो जीवनशैली सामान्यतिर उन्मूख हुँदै गरेको अवस्थालाई यस्तै भ्रमको खेती गर्नेले अझै बढाउने मौका पाए । अनुसन्धाता तथा विज्ञहरुले कोरोना भाइरसको दोस्रो लहर आउन सक्ने भएकाले स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरिरहे । सरकारलाई खोप कार्यक्रम अभियानका रुपमा चलाउन भनिरहे ।
जुनसुकै कुरामा पनि भ्रम फैलाउने र भ्रमको प्रचार प्रसार जोडतोडले गर्ने प्रवृत्ति हाम्रो समाजमा नौलो होइन । एलोपेथिक उपचार पद्धतिले रोग निको पार्नुको सट्टा रोग बढाउँछ । यो हाम्रो आयुर्वेद पद्धतिलाई ध्वस्त बनाउन पश्चिमाद्वारा थोपरिएको उपचार पद्धति हो । हामी नेपालीलाई यस्ता रोगले छुँदै छुँदैन । यी खोपहरु हामीमाथि गरिएका परीक्षण सिवाय केही होइनन् । यो खोपले हामीमा निसन्तान या बाँझोपन गराउँछ । यो उनीहरुको नयाँ व्यापार हो भन्ने जस्ता भ्रम फैलिइरह्यो ।
यो विज्ञानको युगमा सरकारले यस्ता तथ्यहीन तर्कलाई रोक्न सक्नुपर्थ्यो । यो क्रम अहिले पनि जोडतोडका साथ चलिरहेको छ । अझ सामाजिक सञ्जालको दुरुपयोगबाट यस्तो कुरा फैलाउन ज्यादै सजिलो भएको छ । कतिपय सञ्चार माध्यमले पनि यस्ता भ्रमको खेती गर्ने मान्छेलाई बोकेरै हिँडेको समेत पाइयो । पहेँलो लुगा लगाउनेबित्तिकै आयुर्वेदको सर्वज्ञ भइने, नामको अगाडि डा. लेखेर रोगबारे अप्रमाणित कुरा नै बोले पनि पत्याइ हाल्ने, सञ्चार माध्यम सत्य र तथ्य नखोजी त्यसैलाई बढाइँचढाइँ गर्ने, राजनीतिक पदमा बसेकाले जे बोले पनि अनुचरहरु त्यसैलाई झन् तीव्र विस्तार गरिरहने काम पनि भए । यस्तो कुकृत्यका कारण हाम्रो समाजमा खोपमाथिको विश्वास निर्माण हुनसकेन । खोप लगाउने अवसर पाएका जोखिम वर्गको ठूलो समूह खोप नलगाउने मनस्थितिमा पुग्यो र खोप लगाएनन् ।
जसले गर्दा समाजले धेरै होनहार व्यक्तित्वहरुलाई गुमाएको छ र दिनहुँ त्यस्तै होनहार व्यक्तित्वहरुलाई श्रद्धाञ्जलि लेखिरहन हामी अभ्यस्त हुँदैछौँ । यो वैश्विक महामारी अझै धेरै लहरको रुपमा देखा पर्ने निश्चित छ । यसलाई व्यापारको अवसर ठान्ने स्वार्थी समूह भ्रामक प्रचारका लागि अवश्य पनि त्यत्तिकै सक्रिय हुनेछन् । सामाजिक सञ्जालमा त्यस्तो भ्रामक सन्देश सम्प्रेषण गर्नेलाई सामाजिक अपराधी घोषित गरी कानुनको दायरामा ल्याउन आवश्यक छ ।
यो महामारीको एक मात्र स्थायी समाधान भनेको सम्पूर्ण खोप कार्यक्रम नै हो । नव उत्परिवर्तित भाइरसलाई निष्क्रिय गर्न खोपमा पनि बर्सेनि परिवर्तन गर्नुपर्ने हुनसक्छ । त्यति बेला फेरि यो खोप विरुद्ध दुष्प्रचार गर्ने वर्ग जुर्मुराएर उठ्नसक्छ । खोपले काम गर्न छोड्यो भन्ने भ्रम व्यापक हुनसक्छ । विज्ञानले बनाएको माइकबाट, विज्ञानले नै बनाएको बिजुली प्रयोग गर्दै, विज्ञानले नै बनाएको सामाजिक सञ्जाललाई माध्यम बनाएर यही विज्ञानको उछित्तो काढ्नेहरु सर्वत्र छन् । त्यसैले भ्रामक प्रचार गर्ने विरुद्ध व्यक्ति, समाज, राष्ट्र र विश्व नै एकजुट भएर उभिन आवश्यक छ ।