मेचीनगर, भदौ १८ ।।
झापामा आज १२ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका कोभिड सम्पर्क ब्यक्ति जीवन चौलागाईंले दिनु भएको जानकारी अनुसार झापाको कमल गाउँपालिकाका २ महिला र ४ पुरुष गरी ६ जना स्थानीय र बिर्तामोडका ५ स्थानीयमा कोरोना पोजेटिभ देखिएको हो ।
त्यस्तै झापाका अन्य संक्रमितमा भारतबाट आएका अर्जुनधारा नगरपालिका वडा नं ८ का १ पुरुषमा समेत कोरोना पुष्टि भएको छ ।
आज थप १२ जनामा कोरोना देखिदा झापामा कोरोना संक्रमितकोे संख्या ६१५ पुगेको छ । जसमा ४८१ जना निको भएर घर फर्कदा जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या १३४ रहेको स्वास्थ्य कार्यालय श्रोतले जानकारी दिएको छ ।
उता नेपालमा आज १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको १३ हजार ४१३ वटा पीसीआर परीक्षणमा १२ सय २८ जनामा कोरोना पुष्टि भएको छ । योसंगै नेपालमा कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।
त्यस्तै प्रदेश नं १ मा आज झापाका १२ सहित मोरङ ४६, सुनसरी २७, उदयपुर २, ओखलढुंगा ७, धनकुटा ३, तेह्रथुम २, संखुवासभा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा आज देशभर पछिल्लो २४ घण्टामा ९१७ निको भएर डिस्चार्ज हुँदा हाल सम्म नेपालमा निको भएर घर फर्कनेको संख्या २४ हजार २०७ पुगेको छ । जुन कुल संक्रमितको ५६ प्रतिशत रहेको छ ।
हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको रुपमा आइसोलेशनमा रहनेको संख्या १८ हजार ४१३ जना रहँदा संस्थागत आइसोलेशनमा १० हजार ६७१ रहेको छ भने होम आइसोलेशनमा रहनेको संख्या ७ हजार ७४२ रहेको छ । त्यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७४९ रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै मन्त्रालयका अनुसार कोरोनाका संक्रमित मध्ये १४१ जना आइसियूमा रहेर उपचार गराई रहेको छन् भने भेन्टिलेटरमा रहेर उपचार गराउने बिरामीहरुको संख्या १७ रहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको ज्यान गएको छ । ४ महिला र २ पुरुष सहित जनाले कोरोनाको संक्रमणका कारण ज्यान गुमाएका छन् ।
योसंगै नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या २५७ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।