काठमाण्डौ, वैशाख २७ ।
फुटको संघारमा पुगेको नेकपा एमालेको एकता जोगाउन एमाले बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र नै लेखेर ६ बुँदे प्रस्ताव गर्नु भएको छ । आफुले उठाएका बिषयमा सुनुवाइ नभए संसद पदबाट राजीनामा गर्ने समेत नेता नेपालले चेतावनी दिनु भएको छ । प्रधानमन्त्रीले आज संसदमा विश्वासको मत लिने कार्यसुची रहेको छ ।
नेता नेपालले पठाएको पत्रमा पार्टी एकता कायम राख्न ६ बुँदे प्रस्तावका बिषयहरु यस्ता छन ।
पहिलो– २ जेठ २०७५ अगाडिकै अवस्थामा पार्टी सञ्चालन गरिनुपर्ने,
दोस्रो– २८ फागुनयता भएका सबै निर्णय रद्द गरिनुपर्ने,
तेस्रो– पार्टी विधि, विधान र पद्धति अनुरुप चल्नुपर्ने,
चौथो– एकअर्कामा लगाइएको आरोपहरुबारे आगामी दिनमा समीक्षा गरी निर्णय लिनुपर्ने,
पाँचौं– सरकार र पार्टी बीचको सम्बन्ध सुमधुर बनाउने
र छैटौं– पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउने अनि यथा समयमा राष्ट्रिय महाधिवेशन गर्नुपर्ने