काठमाडौं, वैशाख २५ । संघीय संसदका २८ जना सांसदलाई कोरोना संक्रमण पुष्टी भएको छ । संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो पीसीआर परीक्षणमा १९ सांसद र संसद सचिवालय र प्रधानमन्त्री सचिवालयका गरी अन्य १४१ जनालाई संक्रमण पुष्टि भएको छ ।
प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र २४ गते नयाँ बानेश्वरस्थित संसद् भवनमा कोरोना परीक्षण गर्ने व्यवस्था मिलाएको थियो ।
पीसीआर परीक्षणमा २०५ सांसद सहभागी भएकामा राष्ट्रियसभाका एकसहित १९ जनालाई कोरोना पोजिटिभ देखिएको सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले जानकारी दिनुभयो । यसअघि नै ९ जना सांसदहरु कोरोनाको संक्रमण पुष्टी भएर उपचारको क्रममा हुनुहुन्छ ।
सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला समाजसँग आबद्ध पत्रकार र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीसमेत १०३० जनाको परीक्षण गरिएकामा १४१ जनालाई कोरोना संक्रमण भएको जनाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठान्नुभएकाले संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको हो ।
सचिवालयले संक्रमणलाई हेक्का गर्दै प्रतिनिधिसभा अधिवेशनमा सांसदका लागि सिट व्यवस्थापन गरेको छ । सभामुख र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतक सम्मिलित कार्यव्यवस्था परामर्श समितिले छलफलपछि तय गर्ने कार्यसूचीका आधारमा अधिवेशन कसरी अघि बढाउने भन्ने निक्र्योल गरिने छ ।
कोरोना संक्रमण पुष्टी भएका सांसदलाई विश्वासको मतका सम्बन्धमा बैठकमा कसरी सहभागी गराउने भन्ने विषय अहिले चुनौतीका रुपमा छ । पीपीई लगाएका स्वास्थ्यकर्मीका सहयोगमा कोरोना देखिएका सांसदलाई बेग्लै कक्षमा राखेर मतदानमा सहभागी गराउन सकिने तर्कसमेत गरिएको छ ।
सांसद कार्कीलाई कोरोना संक्रमण