मेचीनगर, बैशाख १९ ।
नेपालको पुर्वी नाका काकरभिट्टामा होल्डिङ सेन्टर र क्वारेन्टाइन नहुँदा भारतबाट आएका मानिस सिधै घर घर पुग्न थालेका छन । नाकामा नेपाली सेनाले निर्माण गरेको होल्डिङ सेन्टरको क्षमता अत्यन्त सानो छ । त्यसले एन्टीजेन परिक्षण कक्षको मात्रै काम गरेको छ । होल्डिङ सेन्टरमा राखेर सम्बन्धीत स्थानीय तह, वडा वा क्वारेन्टाइनमा पठाउनु पर्ने ब्यक्तिहरुलाई समन्वय र सार्वजनिक क्वारेन्टाइन अभावका कारण सिधैं घर पठाउने गरिएको छ । प्रहरीको तथ्याङ्क अनुसार भारतबाट दैनिक ६०० को हाराहारीमा मानिसहरु नेपाल प्रवेश गरिरहेका छन ।
भारतबाट आएर काकरभिट्टा नाकामा एन्टीजेन पोजेटिभ आएकाहरुलाई समेत सार्वजनिक यातायात मार्फत घर पठाउने गरिएको होल्डिङ सेन्टरस्रोतले जानकारी दिएको छ । त्यस्तै पुर्वी नाका क्षेत्रमा अहिलेसम्म एउटा पनि क्वारेन्टाईन सञ्चालनमा आएको छैन । कोरोनाको पहिलो लहरमा सबै वडामा ब्यवस्थीत क्वारेन्टाइन सञ्चालन गरेको मेचीनगर नगरपालिकाले कोरोनाको दोस्रो लहर तीब्र रुपमा फैलिरहँदा समेत पनि एउटा पनि क्वारेन्टाइन स्थापना गरेको छैन । क्वारेन्टाइन नभएका कारण नाकामा सामान्य स्वास्थ्य परिक्षणकै भरमा भारतबाट आएका मानिसहरु देशका विभिन्न भागमा पुगिरहेका छन ।
‘अहिलेसम्म क्वारेन्टाइन स्थापना भएको छैन’ मेचीनगरका स्वास्थ्य शाखा प्रमुख रामनारायण यादबले सेतोपत्रसंग भन्नुभयो, ‘भारतबाट आउनेलाई होम क्वारेन्टाइनमा पठाउँछौं ।’ यादबका अनुसार एन्टीजेन पोजेटिभ देखिएकालाई समेत सुरक्षीत भएर जानु भन्दै सार्वजनिक यातायातमा सम्बन्धीत जिल्ला पठाउने गरिएको छ ।
केन्द्रीय कोभिड १९ संकट ब्यवस्थापन निर्देशक समिति (सिसिएमसी) ले पुर्वी नाका काकरभिट्टामा कम्तिमा १००० जना क्षमताको होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय भएता पनि अहिलेसम्म होल्डिङ सेन्टर स्थापना भएको छैन ।
त्यस्तै जिल्लास्तरिय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र झापाको बैशाख १३ गतेको निर्णयले जिल्लाका सबै पालिकाले कम्तिमा १०० जना क्षमताको क्वारेन्टाईन बनाउनु पर्ने, कम्तिमा ५० बेडको अक्सिजन सहितको आइसोलेशन वार्ड निर्माण गर्नु पर्ने निर्णय गरेको थियो ।
छिमेकी देश भारतमा दैनिक ४ लाख भन्दा बढीमो कोराना संक्रमित भइरहेका छन भने दैनिक दुई हजार भन्दा बढी मानिसको कोरोनाकै कारण मृत्यु हुने गरेको छ ।