काठमाण्डौ, बैशाख १७ । स्वास्थ्य मन्त्रालयले झापा सहित २२ जिल्लामा डरलाग्दो गरी कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको जनाएको छ । झापा, मोरङ, सुनसरी, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोकलाई अति प्रभावित जिल्लाको सूचीमा राखिएको छ ।
त्यस्तै कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा सङ्क्रमणदर डरलाग्दो गरी फैलिरहेको सहप्रवक्ता डा समीर कुमार अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयले आज जारी गरेको अपिलमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेकाले अस्पताल शैया उपलब्ध गराउन नसकिने भइसकेको उल्लेख गरेको छ ।
अपिलमार्फत मन्त्रालयले सबैलाई संवेदनशील हुन र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । सङ्क्रमण रोकथाममा जनस्वास्थ्यका मापदण्डहरु (मास्क लगाऔँ, भौतिक दुरी कायम गरौं, बेलाबेलामा साबुनपानीले हात धोऔँ) नै उत्तम उपाय भएको अपिलमा भनिएको छ ।
कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहीँ कतै जाने कामहरु पूर्णरुपमा नगर्न नगराउन र सार्वजनिक स्थलमा जाने भिडभाड गर्ने गराउने कामहरु बन्द गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।