मेचीनगर, बैशाख १६ ।
करीब एक बर्ष अघि निर्माणको चरणमा पुगेको झापा मेचीनगर १४ मा स्थापना हुने पुर्वकै ठुलो अक्सिजन प्लान्ट स्थानीयहरुकै अवरोधका कारण संरचना नै निर्माण हुन पाएन । २०७७ को शुरुवातमा निर्माण शुरु गरेर २०७७ कार्तिक देखि अक्सिजन उत्पादन शुरु गर्ने योजना सहित स्थापना गर्न लागिएको अक्सिजन प्लान्ट गाउँलेहरुले अवरोध गरे पछि उक्त आयोजना नै बन्द गरेको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्नु भएका मेचीनगरका उद्योगी मार्स प्रसाइले बताउनु भयो ।
‘यतिबेला हामीसंग अक्सिनज प्रसस्तै हुन्थ्यो’ सेतोपत्रसंग कुरागर्दै प्रसाईले भन्नुभयो, ‘दैनिक एक हजार ठुलो सिलिण्डर उत्पादन क्षमताको प्लान्ट राख्न खोजेका थियौं तर गाउँलेले दिएनन अनि बन्द गरेऔं ।’ प्रसाइका अनुसार ६ करोडको लगानीमा पुर्वी नेपालकै ठुलो अक्सिजन प्लान्ट मेचीनगर १४ मा स्थापना गर्न सबै कानूनी प्रक्रिया पुरा भएर संरचना निर्माणको चरणमा पुगे पछि गाउँलेको अवरोध आएको थियो ।
‘उद्योग स्थापना गर्न दिएको भए गत तिहार पछि देखि नै अक्सिजन उत्पादन गर्न शुरु हुन्थ्यो’ प्रसाईले भन्नुभयो, ‘पुर्वका ४ जिल्लालाई प्रसस्तै अक्सिजन पुर्याउन सकिन्थ्यो ।’ कम्प्रेसरको सहयोगमा हावाबाट सिधैं अक्सिजन संकलन गर्ने नयाँ प्रविधिको प्रयोग गरेर उक्त प्लान्ट निर्माण गर्ने योजना रहेको प्रसाईले सुनाउनु भयो ।
‘अक्सिजन उत्पादनको नयाँ प्रविधि भित्र्याएर प्लान्ट राख्न एक बिगाहा जमिन पनि तयारी अवस्थामा छ’ वहाँले भन्नुभयो, ‘तर गाउँलेको अवरोध आए पछि जनप्रतिनिधिहरुको पनि केही लागेन ।’ उद्योगका लागि अनुमति लिनेकाम सबै सकिएको र स्थानीयबासीले सहयोग गरे अहिले पनि उक्त अक्सिजन प्लान्ट राख्न आफु तयार रहेको उद्योगी प्रसाईले बताउनु भयो ।
अक्सिजन प्लान्टका बारेमा आफुहरु पनि जानकार नभएकाले गाउँलेहरुलाई बुझाउन नसकिएको मेचीनगर १४ का वडा अध्यक्ष शंकर पोखरेलले बताउनु भयो । ‘अक्सिजन प्लान्ट राख्दा दुर्गन्ध फैलिन्छ भनेर गाउँलेहरुले निवेदन नै लिएर आए’ वडा अध्यक्ष पोखरेलले सेतोपत्रसंग भन्नुभयो, ‘हामीलाई पनि कस्तो हुन्छ भन्ने थाहा भएन त्यही भएर गाउँलेलाई सम्झाउन सकिएन ।’ अहिले परिस्थिति फेरिएको र अक्सिजन अत्यावश्यक भएकाले उद्योगीले इच्छा गरे आफु सहयोग गर्न तयार रहेको वडा अध्यक्ष पोखरेलले बताउनु भयो ।
कोरोना माहामारी तिब्र रुपमा फैलिरहेको बेला संक्रमित भएका अधिकाशं बिरामीलाई अक्सिजनको आवश्यकता पर्ने भएकाले अक्सिजन अभाव हुन सक्ने स्वास्थ्य क्षेत्रका जानकारहरुले बताउँदै आएका छन ।