इटाभट्टा, बैशाख १५ ।
हिजो साँझ कोरोना संक्रमण पुष्टी हुनु भएका प्रदेश सांसद गोपालचन्द्र बुढाथोकी संक्रमण पुष्टी हुनु एक घण्टा अगाडीसम्म मेचीनगर नगरपालिकाको कार्यालयमा बैठकमा सहभागि हुनु भएको खुल्न आएको छ ।
अपरान्ह ४ बजेतिर आफ्नै कार्यक्रममा सांसद बुढाथोकीसहितको छलफलमा सहभागि भएको मेचीनगरका प्रमुख बिमल आचार्यले बताउनु भयो । ‘सांसद बुढाथोकीसंग ४ बजे तिर हामी छलफलमा बसेका थियौं’ नगरप्रमुख आचार्यले सेतोपत्रसंग भन्नुभयो, ‘हामी छुट्टीएको एक घण्टा पछि वहाँलाई कोरोना संक्रमण भयो भन्ने खबर सेतोपत्रमा नै पढेर थाहा पाएं ।’
‘वहाँसंगै हामी धेरै जना मेरै कार्यकक्षमा छलफलमा बसेका थियौं’, नगरप्रमुखले भन्नुभयो, ‘वहाँको पिसिआर परिक्षणका लागि नमूना संकलन गरेको छ भन्ने हामी कसैलाई थाहा भएन ।’
पिसिआर परिक्षणका लागि बिहान स्वाब दिएर रिपोट अनाउन्जेल बाहिर हिड्नु नै गलत भएको नगरप्रमुख आचार्यको भनाइ छ । आचार्यका अनुसार सांसद बुढाथोकीलाई संक्रमण भएको घट्नाले मेचीनगर नगरपालिका कार्यालय नै उच्च जोखिममा परेको छ ।
सांसद बुढाथोकीसंगै अर्का प्रदेश सांसद श्रीप्रसाद मैनाली, नगरप्रमुख अचार्य, उपप्रमुख मिना उप्रेती, एमाले नेताहरु देवकुमार राई, डिल्ली घिमिरे, राजु पोखरेल, राजु कार्की, पत्रकार मुक्ति पौडेल, नगरका प्रमुख प्रशासकिय अधिकृत खेमराज ओझा, बरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्ती लगायतका ब्यक्तिहरु उक्त छलफलमा रहेको नगरपालिकास्रोतले जानकारी दिएको छ ।
एमाले नेता डिल्ली घिमिरेले सांसद बुढाथोकीलाई नगरपालिकाबाट मोटरसाइकलमा राखेर घर पुर्याउनु भएको थियो । करीब ४ः३० बजेतिर नगरपालिकाबाट निस्कनु भएका सांसद बुढाथोकीलाई अपरान्ह ५ बजे कोरोना संक्रमण पुष्टी भएको थियो ।