काकरभिट्टा, बैशाख १४ ।
भारतमा कोरोना संक्रमणको अवस्था दिनानुदिन भयावह बन्दै जाँदा पुर्वी नाकामा थप कडाइ गरिएको छ। भारतबाट आउने मानिसहरुलाई बिषेश निगरानी राखेर स्वास्थ्य जाँच पछि मात्रै नेपाल प्रवेश गर्न दिईएको छ । नाकामा सुरक्षाकर्मीसंगै स्वास्थ्यकर्मी समेत परिचालित भएका छन । तर देश भित्र कोरोना संक्रमण भित्रिन नदिन नेपाल भारत सिमानाकामा स्वास्थ्य परिक्षण र आवश्यक सुरक्षा जाँचमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु भने सामान्य मास्कको भरमा मात्रै काम गरिरहेका छन ।
कोरोनाको उच्च जोखिममा परेको नेपाल भारत सिमानाको पुर्वी नाकामा खटिएका स्वास्थ्यकर्मीहरुले नेपाल प्रवेश गर्ने प्रत्येक नागरिकको स्वास्थ्य जाँच गरिरहेका छन । तर आफ्नै स्वास्थ्य कतिबेला कोरोनाको संक्रमणमा पर्ने हो भन्ने त्रासले पनि उनीहरुलाई उत्तिकै सताइरहेको छ । ‘भारतमा कोरोनाले लाखौ मानिस मरिसके हामी दैनिक तेही भारतबाट आएका सयौं मानिसको सम्पर्कमा छौं ।’ पुर्वी नाकामा खटिनु भएकी ल्याब असिस्टेन्ट रुक्साना खातुनले भन्नुभयो, ‘हामी दुई सिफ्टमा काम गर्छौं, सामान्य मास्क र सेनिटाइजर बाहेक आफ्नो स्वास्थ्य सुरक्षाका लागि हामीसंग छैन ।’
सिमानामा काम गरेर घर पुग्दा परिवारका सदस्यलाई कोरोना सर्छ कि भन्ने त्रास सधैं हुने गरेको रुक्सानाले बताउनु भयो । वहाँले भन्नुभयो, ‘घरमा बुढाबुढीहरु हुनुहुन्छ वहाँलाई पो आफैंले लगेर कोरोना सारिन्छ कि भन्ने डर लाग्छ ।’ एक महिनादेखी मेची पुलकै मुखमा बसेर भारतबाट आउने मानिसको स्वास्थ्य परिक्षण गरिरहनु भएकी अनमी जमुना मेचेले आफुहरु संधैं जोखिममा नै रहेको बताउनु भयो । मेचेले भन्नुभयो, ‘देशभित्र कोरोना नपसोस भनेर नाकामा परिक्षण गर्छौं तर आफ्नै शरिरलाई कोरोनाबाट बचाउनका लागि हामीसंगै सामान्य मास्क र सेनिटाइजर मात्रै छ ।’
कोरोनासंगै चोरी निकासीदेखि सिमानाको अन्य गतिबिधिमा समेत ध्यान दिनु पर्ने भए पनि आफ्नै स्वास्थ्य सुरक्षीत राख्न भने आफुहरुलाई निक्कै असहज भएको पुर्वी नाकामा खटिएका एक प्रहरी जवानले बताउनुभयो । वहाँका अनुसार कोरोना भयावह रुपमा फैलिएको भारतबाट आएका मानिसलाई नै चेकजाँच गर्नु पर्ने काम छ तर सुरक्षाकर्मीको स्वास्थ्यका लागि भने सामान्य मास्क र सेनिटाइजर बाहेक अरु केही ब्यवस्थापन छैन ।
कोरोनाको जोखिम बढेसंगै सिमानामा थप सुरक्षाकर्मी र स्वास्थ्य सुरक्षाका सामान आवश्यक भएको इलाका प्रहरी कार्यालय काकरभिट्टाका प्रमुख प्रहरी नयाब उपरिक्षक सुनिल दाहालले बताउनु भयो । उपरिक्षक दाहालले भन्नुभयो, ‘सिमानाकामा खटिने सुरक्षाकर्मीका लागि उच्च गुणस्तरको मास्क, सेनिटाइजर सहित भाइजर, पिपिइ सेट लगायतका स्वास्थ्य सामग्री आवश्यक छ ।’