नहाँस्दा त जीवन अझ गाह्रो हुन्छ,
उदास भइ बाँच्न झनै साह्रो हुन्छ ।
जति छ त्यतिले खुसी छर्न सके,
मेहनतले अझ धेरै गर्न सके,
सानो भए नि पसिनाको कमाइ,
चल्छ यो जीवन त्यसैमा रमाइ ।
अरु र आफ्नो जीवन दाँज्नु किन,
अस्वस्थ खेलमा जीवन गाँज्नु किन ।
प्रेम कहिँ त कहिँ हुन्छ धोका,
आत्महत्याले हुन्न लेखाजोखा ।
एउटा बन्द भए अर्को बाटो खुल्छ,
ओइलि झरे नि फेरि फूल फुल्छ ।
चोटबाट त पाठ सिक्नुपर्छ,
काँडो बिझेको भए झिक्नु पर्छ ।
निर्दोष होउ तिमी किन बेर्छौ डोरी,
अन्याय हुन्छ तिमी माथी फेरि ।
रुवाउँछ जसले उ पो दोषी हुन्छ,
सम्झ आमाको मन कति रुन्छ ।
तिम्रो खुसीमा खुसी हुने सम्झ,
तिमीलाई दुख्दा रूने आँखा सम्झ ।
तिमी मर्दा आमाको मुटु कति दुख्ला,
अगति पर्यो भनी दुनियाँले थुक्ला,
दह्रो भएर बाँचेर त हेर,
कसैको लागी हुन्नौ तिमी धेर,
लडेको हैन व्यक्ति बढेको पो हुन्छ,
मेहनतले नै त शिखर चढेको हुन्छ,
कहिँ असफल हुनु नौलो हैन,
असफल हुने तिमी पहिलो हैन,
दुस्ख नभएको को छ र जगमारु
प्रयास गरे त पुगिन्छ नभमा ।
दुस्ख र सुख जीवन कै हो पाटो,
कहिँ चिप्ली लड्ने कहि राम्रो बाटो,
सकिन्न भनेर हिम्मत हार्नु हुन्न,
आत्मविश्वासलाई कहिले मार्नु हुन्न,
गर्न खोज्नेको न काम बन्छ,
वाह वाह प्रयास संसारले भन्छ ।
एकै छिन न हो सम्झेर रुनलाई,
दिन बितेपछि सम्झनन् तिमीलाई,
तातो रीसले सोचाइ घुम्ने गर्छ,
हतासिएर विवेक गुम्ने गर्छ ,
अनमोल जीवन बरु सदुपयोग गरेर,
भरसक बाँचेर किर्ती राखेर ।
जान त एकदिन सबै नै हो जाने,
किर्ती न हो मरे पछि लाने,
ईष्र्या, द्वेष, धनले कहिँ हुन्न शान्ति,
मिठो बोली अनि मुहारमा कान्ति,
प्रयास गर हुनेछौ सफल,
सृजना शक्ति हुन्न है विफल ।
डा रामकृष्ण आचार्य
सूर्योदय १३, इलाम
हाल, तुम्लिङटार, संखुवासभा ।
लेखक आचार्य मेडिकल डाक्टर हुन् ।