इटाभट्टा, भदौ १७ ।।
विश्वभरि कोरोनाको महामारी फैलिदैं गर्दा नेपालमा फागुनको अन्तिम सातादेखि नै सर्तकता अपनाउन थालिएको थियो । चैतको पहिलो हप्तादेखि भारतको बाटो हुँदै नेपाल आउनेहरुलाई बिषेश स्वास्थ्य परिक्षण गरेर मात्रै नेपाल प्रवेश गर्न दिइन थालिएको थियो । चैत ११ गतेदेखि नेपाल सरकारले पुरै देश लकडाउन नै गर्यो ।
कोरोना भन्ने बित्तिकै एउटा त्रासको वातावरण भइरहेका बेला मेचीनगर १० स्थीत धुलाबारी स्वास्थ्य केन्द्रका एम्बुलेन्स चालक जंगबहादुर खड्का भने कोरोना संक्रमित भेटिए उनीहरुलाइ उपचारका लागि अस्पतालसम्म पुर्याउन संक्रमितका सारथी बनेर पुर्वीनाका काकरभिट्टामा तैनाथ थिए ।
धुलाबारी स्वास्थ्य केन्द्रमा नियमित एम्बुलेन्स तैनाथ गरेर बस्ने खड्का कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा शुरुमा काकरभिट्टा र केही समय पछि मेचीनगर नगरपालिकाको कार्यालय इटाभट्टामा एम्बुलेन्स लिएर तैनाथ बस्न थाल्नु भयो ।
कोरोना पत्ता लगाउन नियमिति पिसिआर परिक्षण हुँदै गर्दा नगर भित्र कोही कसैलाई कोरोना संक्रमण पुष्टी भए एम्बुलेन्समा हालेर अस्पताल पुर्याउनु पर्छ भन्ने खड्कालाई जानकारी थियो तर पनि संक्रमित बोक्नु नपरुञ्जेलसम्म वहाँलाई खासै अप्ठ्यारो महशुस भएको थिएन । तर जब जेठ २६ गते मेचीनगर ४ को क्वारेन्टाईनमा बसेका एक पूरुषलाई पहिलो पटक मेचीनगर भित्र कोरोना पुष्टी भयो तब खड्कालाई ती संक्रमितलाई एम्बुलेन्समा हालेर अस्पताल पुर्याउन निक्कै डर लागेको खड्का सुनाउनु हुन्छ । खड्काका अनुसार पहिलो संक्रमित बोक्न जाँदै गर्दा नगरका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङले वहाँको हौसला बढाउनु भएको थियो ।
पिपिइ सेट लगाएर एम्बुलेन्सको पछाडी संक्रमितलाई राखेर खडकाले जेठ २६ गते मेचीनगरका पहिलो संक्रमितलाई मोरङको गोठगाउँस्थीत प्रदेश सरकारले बनाएको आइशोलेशन सेन्टरमा पुर्याउनु भएको थियो ।
जतिबेला आम मानिसहरु कोरोनाको त्रासले घरमा नै थुनिएर बसेका थिए, त्यस्तो बेलामा कोरोना संक्रमित खोज्दै संक्रमितका सारथी खड्का एम्बुलेन्स लिएर मेचीनगरका क्वारेन्टाईन पुग्ने गर्नुहुन्थ्यो । पहिलो संक्रमित बोकेको भोलिपल्टै दोस्रो संक्रमितलाई पनि खड्काले आइशोलेशन पुर्याउनु पर्यो ।
पहिलो र दोस्रो संक्रमित बोक्दा मनमा केही डर थियो भन्नु हुन्छ खड्का । तर बिस्तारै संक्रमितहरु बोक्नेक्रम बढ्दै गयो, खड्काको डर पनि हराउँदै गयो । कहिलेकाही एकै दिन धेरै जना संक्रमित देखिने गर्थो र त्यस्ता दिन त एकै पटक धेरै जना संक्रमितलाई समेत एम्बुलेन्समा हालेर अस्पताल पुर्याएको सम्झना गर्नु हुन्छ खड्का । सेतोपत्रसंग कुराकानी गर्दै खड्काले भन्नु भयो, ‘एकै पटक ७ जनासम्म संक्रमितलाई एम्बुलेन्समा राखेर अस्पताल पुर्याएको छु । अहिले त सामान्य लाग्न थाल्यो ।’
मेचीनगरमा आजसम्म ११२ जना कोरोना संक्रमित देखिएको छ । ती सबैलाई खड्काले नै एम्बुलेन्समा हालेर अस्पतालसम्म पुर्याउनु भएको छ । खड्काले अनुभव यसरी सुनाउनु भयो,‘ संक्रमितहरु डराइरहेका हुन्थे मैले नै उनीहरुलाई सम्झाउँदै अस्पताल पुर्याएर छोडेर आउनु पर्छ ।’
९ बर्षदेखि धुलाबारी स्वास्थ्य केन्द्रको एम्बुलेन्स चलाउँदै आउनु भएका मेचीनगर ९ खुट्टिडाँगी घरका स्थायी बासिन्दा खड्का कोरोनाको संक्रमण शुरु भएदेखि नै परिवारसंग बस्न पाउनु भएको छैन । दिनभरि नगरपालिकाको परिषरमा एम्बुलेन्स लिएर बस्ने, कोही संक्रमित पुष्टी भए उनीहरुलाई तोकिएको आइसोलेशन सेन्टरमा पु्याउने र बेलुका धुलाबारी स्थास्थ्य केन्द्रमा नगरपालिकाले ब्यवस्थापन गरिदिएको आवासमा नै बस्ने अहिले खड्काको दैनिकी बनेको छ । कहिले काहीं दिउँसो काम बिशेषले घर जान्छु तर ६ फुट भन्दा पर बसेर नै परिवारसंग कुरा गरेर फर्कछु भन्नु हुन्छ साहसी चालक खड्का ।
अहिलेसम्म ३ पटक पिसिआर परिक्षण भइसकेको र रिपोट नेगेटिभ नै आएको बताउने खड्का खड्का आफ्नो काममा सन्तुष्ट भएको सुनाउनु हुन्छ ।
एम्बुलेन्स सहितको खड्काको फोटो आफुले फेसबुकमा पोष्ट गरे पछि अमेरिका बस्ने साथीले खड्काका लागि दश हजार सहयोग पठाइदिएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङले बताउनु भयो । खड्काको कामबाट आफु निक्कै प्रभावित भएको खाम्याहाङले सेतोपत्रलाई बताउनु भयो ।
कोरोनाको त्रासका बीच संक्रमितसंगै दैनिकी बिताइरहेका यस्ता संक्रमितका सारथी महान एम्बुलेन्स चालकका कारण नै आज मेचीनगरका संक्रमितहरु सजिलै अस्पतालसम्म पुग्न पाएका छन ।