काठमाण्डौ, बैशाख १० । अध्यक्ष केपी शर्मा ओली पक्षको नेकपा एमालेले एकलौटी रुपमा स्थायी कमिटी पुर्नगठन गरेको छ । केन्द्रीय कमिटी भङ्ग गरेर महाधिवेशन आयोजक समिति गठन गर्नु भएका अध्यक्ष ओलीले आज बालुवाटारमा आयोजित बैठकबाट स्थायी कमिटी पुनगर्ठन गर्नु भएको हो । बैठकले १९ सदस्यीय स्थायी कमिटी गठन गरेको हो ।
स्थायी कमिटीमा झलनाथ–माधव पक्षका नेताहरु समेटिएका छैनन्, तर, वामदेव गौतमलाई भने समेटिएको छ । पुनर्गठित स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, बिष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल रहेका छन् । यस्तै बिष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वी सुब्बागुरुङ्ग, रघुवीर महासेठ, केशव बडाल, मणि थापा, किरण गुरुङ र पुष्पराज कँडेल पनि स्थायी कमिटीमा छन् । एमालेको कमिटीमा खनाल–नेपालपक्षीय नेताहरु झलनाथ खनाल, माधव नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीमआचार्य, युवराज ज्ञवाली र मुकुन्द न्यौपाने स्थायी कमिटी सदस्य थिए । उनीहरू कसैलाई पनि कमिटीमा समेटिएको छैन ।
बैठकमा अध्यक्ष केपीओलीले पार्टी खोस्ने ढङ्गले कोही आएको भए, त्यो सम्भव नहुने बताउनु भयो । प्रधानमन्त्री ओलीले माधव नेपालहरूले पार्टी एकताबद्ध बनाउन कुनै पहल नगरेको आरोप लगाउनु भयो । बैठकमा ओलीले आफ्नो माधव नेपाल, योगेश भट्टराईलगायत नेताहरुसँग भेटघाट भएको तर, पार्टी एकताबद्ध बनाउनकुनै पहल, महसूस र अनुभूति नदेखिएको बताउनु भएको थियो ।
त्यस्तै नेकपा एमालेले कर्णाली प्रदेशमा ह्विप उल्लङ्घन गर्ने चार जना प्रदेशसभा सदस्यलाई सांसद र पार्टी सदस्यताबाटै हटाएको छ । आज बालुवाटारमा बसेको नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीको ह्विप उल्लङ्घन गर्दै कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका सदस्यहरुलाई कारवाही स्वरुप पार्टी सदस्य र सांसद पदबाट निष्कासन गरेको हो ।